काठमाडौं : मंगलवार पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा पुत्र सुनिलबहादुर थापासहितको राप्रपाको एक टोली नेपाली कांग्रेस प्रवेश गर्यो।
कांग्रेसमा स्वागत गर्दै थापालाई सहमहामन्त्री दिने घोषणा सभापति शेरबहादुर देउवाले गरे।
देउवाले थापालाई सहमहामन्त्रीको जिम्मेवारी दिइएको जानकारी दिँदै पार्टीमा कुनै प्रकारको भेदभाव नहुने बताए। थापासँगै कांग्रेसमा अब दुई जना सहमहामन्त्री भएको छ। कांग्रेसमा यसअघि डा प्रकाशशरण महत एक जनामात्र सहमहामन्त्री थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व महामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य समेत रहेका थापासहित ३० जनाले पार्टीबाट शनिवार संयुक्त राजीनामा दिएका थिए।
राजीनामा दिनेमा केन्द्रीय सदस्यमा विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार गुरुङ, श्रीमती राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा र राम पदारथ शाह छन्। उदार प्रजातान्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा लोकतान्त्रिकपद्धतिका पक्षमा निरन्तर रहने भन्दै राजीनामा दिनेमा १२ केन्द्रीय सदस्य समेत रहेका थिए।
पार्टी प्रवेश कार्यक्रममा राजीनामा दिनेहरुको संयुक्त उपस्थिति रहे पनि अरु नेतालाई कसरी समायोजन गर्नेबारे केही टुंगो नलागेको कांग्रेसले जनाएको छ।
भर्खरै पार्टी प्रवेश गरेका नेता किरण गिरीले सहमहामन्त्रीबाहेक अन्य पदमा अहिले नै टुंगो नलागिसकेको बताए।
‘सबै कुरा मिलिसकेको छ, तर अहिले नै सार्वजनिक गर्न मिल्ने गरी तय भइसकेको छैन,’ गिरीले पहिलोपोस्टसँग भने।
