काठमाडौँः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार साँझ उपाध्यक्ष बामदेव गौतम निवास पुगेका छन्। पछिल्लो समय अन्य नेताका निवासमा नपुगेका ओली पत्नी राधिका शाक्यसहित गौतम निवास भैँसेपाटी पुगेका हुन्।
प्रधानमन्त्रीको निजी सचिवालयले ओली भैँसेपाटी गएको पुष्टि गरेको छ।
‘पत्नीसमेत उहाँ भैँसेपाटी जानुभएको हो। यो विशुद्ध पारिवारिक भेट हो’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने।
स्रोतका अनुसार गौतम निवासमा महासचिव विष्णु पौडेल पनि पुगेका छन्। पौडेल पनि भैँसेपाटीमै बस्छन्।
मंगलबारमात्र नेकपाभित्रको जारी विवाद समाधानका लागि भन्दै उपाध्यक्ष गौतमले ६ बुँदे मध्यमार्गी प्रस्ताव अघि सारेका थिए। जसलाई प्रधानमन्त्री ओलीले पनि बटमलाइन बनाउँदै आएका छन्।
मंगलबार विवादबीच नेकपाको स्थायी समिति बैठक समेत स्थगित भएको थियो। तर, ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गरेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधव नेपाल समूहका बहुसंख्यक सदस्यको भने भेला भएको छ। ओलीले एकपक्षीय रुपमा बैठक स्थगन गरेकोमा आलोचना समेत भएको छ।
तर, बैठक स्थगितअघि नै गौतमले ६ बुँदे प्रस्ताव ल्याएको थिए। जसमा एकता महाधिवेशनसम्म ओलीलाई प्रधानमन्त्री र अध्यक्षका रुपमा निरन्तरता दिने प्रस्ताव छ। दाहाललाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्ष दिने प्रस्ताव गौतमको छ । एकता महाधिवेशन सहमतिमा गर्ने पनि उनको प्रस्ताव छ।
प्रधानमन्त्रीले दैनिक प्रशासनिक बाहेक अन्य महत्वपूर्ण निर्णय पार्टीको परामर्शमा गर्ने प्रस्ताव पनि गौतमको छ। मन्त्रिपरिषद पुनर्गठनको प्रस्ताव पनि बामदेवको छ। संवैधानिक निकायको नियुक्ति लगायतमा पनि परामर्श गर्ने प्रस्ताव गौतमको छ।
