PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

१५ लाख नाघे भारतमा संक्रमित, युपी र बिहारमा लगातार थपिँदै, जोखिममा नेपाल



पहिलोपोस्ट

१५ लाख नाघे भारतमा संक्रमित, युपी र बिहारमा लगातार थपिँदै, जोखिममा नेपाल

नयाँ दिल्ली : भारतमा कोरोना भाइरस संक्रमित संख्याले १५ लाखको सीमा पार गरेको छ। पछिल्लो १२ दिनमा मात्र ५ लाख नयाँ संक्रमित थपिएपछि भारतमा यो सीमा पार भएको हो।

मंगलवार एकै दिन भारतमा ७ सय ८१ जनाको मृत्यु भयो यो जुन आफैँमा एउटा रेकर्ड हो। मंगलवार मात्रै ४९ हजार २ सय ९२ जना नयाँ संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै उच्चमध्ये दोस्रो दैनिक संक्रमित संख्या हो। गएको शनिवारमात्रै २४ घन्टामा ५० हजारभन्दा बढी संक्रमित थपिएका थिए। एकै दिन मृत्यु हुनेको संख्या पनि यस अघि ५ सय ५७ थियो।

अमेरिका र ब्राजिलपछि भारत विश्वमै सबैभन्दा धेरै संक्रमित हुने मुलुक भएको छ। अमेरिकामा ४४ लाख भन्दा धेरै संक्रमित छन् भने ब्राजिलमा २४ लाख भन्दा धेरै। रसिया यो सूचीमा चौथो स्थानमा छ जहाँ संक्रमित संख्या ८ लाख पार भएको छ।

मंगलवार ४९ हजार २ सय ९२ जनामा संक्रमण देखिँदा आन्द्र प्रदेशमा सबैभन्दा बढी असर देखियो। महाराष्ट्र दोस्रो स्थानमा देखियो। आन्द्र प्रदेशमा ७ हजार ९ सय ४८ जनामा संक्रमण देखिँदा महाराष्ट्रमा यो संख्या ७ हजार ७ सय १७ रह्यो। कर्नाटकमा ५ हजार ५ सय ३६, केरलमा ११ सय ६७ र पञ्जावमा ६ सय १२ जनामा संक्रमण देखियो। यी सबै राज्यमा अहिलेसम्मकै उच्च संक्रमण दर हो।

नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश, बिहार र वंगालमा पनि संक्रमितको संख्या बढिरहेको छ। उत्तर प्रदेशमा मंगलवारमात्रै ३ हजार ४ सय ९० जनामा संक्रमण देखियो भने बिहारमा २ हजार ४ सय ८० जनामा। वंगालमा २ हजार १ सय ३४ जनामा संक्रमण देखियो। बिहार र उत्तर प्रदेश नेपालसँग जोडिएका प्रमुख ठूला भारतीय राज्यहरु हुन्। यी दुवै राज्यबाट नै औपचारिक र अनौपचारिक रुपमा आवतजावत हुने गर्छ। प्रदेश नम्बर २ र ५ मा संक्रमण फैलिनुमा भारतका यी दुई राज्यको मुख्य योगदान रहँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell