वीरगंज : चार दिन अघि परवानीपुरकी १७ वर्षीया कोरोना भाइरस संक्रमित किशोरीको शव नेपाली सेनाको टोलीले मिलनचोक नजिकको भेडहा खोलाको किनारमा अन्त्यष्टिका लागि पुर्यायो।
जतिखेर उनीहरु त्यहाँ पुग्यो, स्थिति सामान्य बनेन। वरपरका मानिस हुलका हुल आए र कोरोना संक्रमितको शव अन्त्यष्टि गर्न रोक लगाए। विरोध प्रदर्शन नै सुरु भयो। आखिरमा संक्रमितको शव अन्त्यष्टि भयो, एउटा शर्तमा - अबदेखि संक्रमितको शव त्यहाँ ल्याइने छैन।
आइतवार बिहान फेरि घटना दोहरियो। आइतवार बिहान ६ बजेर १० मिनेटमा कोरोना संक्रमणबाट गण्डक कोभिड अस्थायी अस्पतालमा एक अर्का व्यक्तिको मृत्यु भयो। वीरगंजका ६५ वर्षीय वृद्धको शव उठेन। मृत्यु भएको ३० घण्टापछि शव व्यवस्थापन गर्न सेना जुट्यो। सोमवार साँझ नेपाली सेनाले भेडहा खोलामा नै शव लिएर गयो।
चण्डीप्रसाद गण वीरगंजका प्रमुख सेनानी मदनजंग राणा डोजरसहित शव शदगत गर्न खोलामा आफैँ पुगे। गण्डक अस्पतलाको अकास्मिक कक्षमा ३० घण्टाभन्दा बढी समयदेखि अलपत्र परेको शवलाई सेना र प्रहरीको सहकार्यमा व्यवस्थापन गरिएको शव बाहनमा लगिएको थियो। तर, फेरि स्थानीयले अवरोध गरे। प्रशासन तथा सेनाको योजना विफल बन्यो। शव बाहन बनाइएको एम्बुलेन्स र सुरक्षाकर्मीलाई स्थानीयले घेरा हाले। उग्र बनेका स्थानीयको दवाव थेग्न नसकेपछि सेनाले एम्बुलेन्स फर्कायो र पुर्यायो गण्डक अस्पताल।
तीस घण्टापछि आकास्मिक कक्षबाट उठेको शव पुनः आकास्मिक कक्षमै राख्न नेपाली सेनाको टोली आयो। त्यतिखेर गण्डक कोभिड अस्पतालमा ड्युटीमा खटिएका थिए वरिष्ठ फिजिसियन डाक्टर नीरज सिंह।
‘बल्ल शव उठेको छ, कुनै हालतमा इमरजेन्सीमा फेरि राख्दिन। अन्य संक्रमित गम्भीर भएर आए भने कहाँ उपचार गर्ने?,' उनले सम्झाए।
सुरक्षा निकाय पनि अलमलमा पर्नु स्वभाविक बन्यो। संक्रमितको शव फेरि अस्पतालमै फिर्ता गर्नु ठीक पनि थिएन।
‘सुरक्षाकर्मीले होइन, कर्णेल साबले शव गाड्न सहज वातावरण भएन। शव अस्पतालमा राखौ भन्नुभयो,’ डाक्टर सिंहले भने, ‘मैले कुनै हालतमा शव फेरि अस्पतालमा राख्दिन, बरु राजिनामा दिन्छु भनेँ।’
त्यसपछि राति १० बजे तिलावे खोलाको किनारमा लगेर शवको शदगत गरियो।
+++
कोरोना संक्रमितको शव व्यवस्थापनमा मुलुकका अन्य भागमा जस्तै पर्सा पनि सकसमा पर्दै आएको छ। कोरोना भाइरसबाट मृत्यु भएकाको अन्त्यष्टि गर्ने जिम्मेवारी सेनालाई दिइएको छ। स्थानीयले भने संक्रमणको भयले आफ्नो नजिक शव व्यवस्थापन नगर्न दवाव दिँदै आएका छन्।
आखिर किन यस्तो भइरहेको छ त?
कोरोना संक्रमितकै उपचारमा संलग्न डाक्टर सिंह कोरोना नियन्त्रणको सवाललाई स्थानीय प्रशासन र जनप्रतिनिधिले 'खेलौना' बनाएर छाडेको आरोप लगाउँछन्।
‘पर्सामा स्थानीय प्रशासन चलाउने अधिकारी तथा जिल्लाका मेयर, उपमेयर, मुखियाजी र नेताले खेलौना बनाएर छोडेका छन,’ उनी आक्रोशित सुनिए, ‘संक्रमित मर्नु नै लाजको कुरा हो। त्यसमा पनि उसको अन्त्यष्टिमा पनि विभिन्न टन्टा शुरु भइरहेको छ। कुनै बेला एम्बुलेन्स भएन। कहिले ड्राइभर तयार छैन। अब अन्त्यष्टि गर्ने ठाउँ नै भएन।'
कोरोनाको संक्रमण र मृत्यु नयाँ विषय होइन, अहिलेसम्म आइपुग्दा। समयमा नै प्रशासन, जनप्रतिनिधि तथा स्थानीय तहका नेताले यसबारे तयारी गरेको भए यस्तो समस्या आउँदैन थियो।
'यहाँ जलाउन पाइँदैन, त्यहाँ लैजान पाइँदैन, आखिर जनता र गाउँलेलाई कसले कन्भिन्स गर्ने?,' डाक्टर सिंहको प्रश्न छ।
शव व्यवस्थापनको विषयमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी राजनीतिक दल र जनप्रतिनिधिको उदासिनताले यस्तो अवस्था निम्तेको बताउँछन्।
‘हामीले शव व्यवस्थापन गर्ने ठाउँ पनि तोकेका थियौं, तर शव जलाउने र गाड्ने बेलामा हजारौं जनताको भिड ओर्लिरहेको छ। बल प्रयोग पनि गर्न भएन। चाँडै यसबारे सरोकारवालासँग छलफल गरी ठाउँ तोकिन्छ,’ उनले भने।
यता वीरगंजका मेयर विजयकुमार सरावगी शव व्यवस्थापनको विषयमा भएको विरोधलाई आफूविरुद्धको षड्यन्त्र मान्छन्। उनको बुझाइमा उनलाई असफल पार्नका लागि जनतालाई उक्साउने काम भइरहेको छ। ‘पक्ष विपक्ष सबै दलका नेताहरु मेरो खेदो खनिरहेका छन्। मेयरको हाइट बढेको छ, कसरी घटाउने? भन्ने सोचमा छन्,' उनले भने, ‘तिलावेमा शदगत गर्न दिँदैनौ, भेडहा खोलामा दिँदैनौ भन्दैछन्। उनीहरुलाई उचाल्ने अरु नै हुन्।’
शव जलाउँदा वा गाड्दा भाइरस फैलिँदैन : डा. रोशन कुर्मी
शव अन्त्यष्टि गर्ने प्रकृयालाई बिथोल्न मानिसहरु जुट्नुको एउटै कारण हो - संक्रमण फैलिने त्रास। तर, अन्त्यष्टि गरेपछि संक्रमण फैलने सम्भावना एकदमै कम रहेको चिकित्सकहरु नै बताउँछन्।
वीरगंजका फिजिसियन डाक्टर रोशन कुर्मीले जनचेतनाको कमीको कारण गाउँलेले अवरोध सृजना गरेको बताए।
‘मानवियता हराएको छ। बिना आधारको बखेडा झिकेर बबाल भइरहेको छ,’डाक्टर कुर्मीले भने, ‘त्यसले गम्भीर समस्य निम्तिरहेको छ। कोभिड अस्पतालमा संक्रमितको उपचारमा थप जटिलता थपिँदै गएको छ।’
तराई हस्पिटल एण्ड रिसर्च सेन्टरका सञ्चालक समेत रहेका डाक्टरले शव पूर्ण रुपमा सुरक्षित प्लास्टिक झोलामा बन्द हुने भएको र शव जलाउँदा निस्किने धुवाँ वा शव गाडेको ठाउँको माटोबाट संक्रमण नफैलिने बताए।
‘यो कुरा गाउँका अगुवाहरुले बुझाउन जरुरी छ, नत्र अवस्था झन् भयावह बन्ने सम्भावना छ,’उनले भने।
कोरोनाको त्रास यतिसम्म छ कि शव अन्त्यष्टिमा परिवारका सदस्यलाई जान समेत स्थानीयले रोक लगाएका छन्। अन्त्यष्टिमा गएदेखि टोलमा फर्कन नदिन चेतावनी समेत दिएका थिए।
‘हाम्रो मानवता कहाँ गयो? बुबा मर्दा पनि छोरालाई पीपीई लगाएर टाढाबाट अन्त्यष्टि कर्म गर्नबाट समाजले रोक्दै छ,’उनले भने, ‘यस्तो अवस्थामा मृतकका परिवारजन कति पीडामा होलान्? सोच बदल्न आवश्यक छ।'