स्पेन र जर्मनीले कोरोना भाइरसको संक्रमणको दोस्रो लहर नियन्त्रण गर्ने प्रयासस्वरुप मंगलवारबाट केही सेवाहरुमा पुन: प्रतिबन्ध लगायो। हट स्पटका रुपमा देखिन सक्ने सम्भावित क्षेत्रको पहिचान गर्दै कोरोनाको दोस्रो वेभ रोक्न प्रयास गरिएको हो।
सन् २०१९ डिसेम्बरको अन्त्यतिर चीनको वुहानबाट फैलिएको भाइरस विश्वभर महामारीको रुपमा फैलिएको थियो। भाइरसको संक्रमण रोक्न अधिकांश देशहरुमा लकडाउन गरिएको थियो। तर, लकडाउन गरेरमात्रै भाइरस नियन्त्रण हुने सम्भावना न्यून भएको र नागरिकलाई घरभित्रै थुनेर महामारीको समस्या समाधान नहुने भन्दै धेरै देशहरुले सुरक्षित उपायहरु अपनाउँदै लकडाउन अन्त्य वा खुकुलो गरेका थिए।
धेरै देशमा संक्रमण दर पहिलाभन्दा कम हुँदै गएको छ। तर, कोरोना पूर्णरुपमा नियन्त्रण नआउँदासम्म यसको संक्रमणको खतरा रहिरहने विश्व स्वास्थ्य संगठनले जनाएको छ।
यसैबीच कोरोना नियन्त्रण आएको भनिएका देशमा समेत पुन: संक्रमण देखिन सुरु भए। जसका कारण ती देशहरुमा पुन: लकडाउन वा केही प्रतिबन्धसहितका सेवाहरु संचालन गरिए।
जर्मनीमा यही सातामा मात्रै एकैदिन ५ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण देखियो। कोरोनाको दोस्रो वेभ फैलिनबाट रोक्न जर्मनीले मास्क अनिवार्य लगाउनुपर्ने नियममा कडाइ गरेको छ। भौतिक दूरी कायम हुन नसक्ने स्थानमा मास्क अनिवार्य गरिएको हो।
‘हामीले एक पटक फेरि भाइरसको संक्रमणलाई बढ्न रोक्नुपर्छ,’ रोग नियन्त्रण एजेन्सीका एक अधिकारीले भने।
कोरोना भाइरसको हटस्पट बनेको युरोपेली मुलुकमा फेरि नयाँ हट स्पट देखिने खतरा रहेको भन्दै सुरक्षा सतर्कतासाथ प्रतिबन्धहरु लगाउनुपर्ने आवश्यकता रहेको अधिकारीहरुले बताएका छन्।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युरोपमा कोरोनाको ‘दोस्रो लहर’ फैलिएको संकेत देखिएको भन्दै आउने दिनमा थप प्रतिबन्ध लगाउन सकिने बताएका छन्। उनले युरोपका कतिपय स्थानमा लकडाउन खुलेसँगै बढेको मानिसको चहलपहलका कारण नयाँ हट स्पट बन्न सक्ने भन्दै सचेत समेत गराएका छन्। बेलायतले कोरोना संक्रमणको लहर फेरि बढेसँगै स्पेन लगायत अन्य केही राष्ट्रबाट आउने मानिसहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरेको छ।
स्पेनमा पहिलाभन्दा कोरोना संक्रमण नियन्त्रणमा आए पनि अझै केही क्षेत्रमा भाइरसको संकमण बढ्दै गइरहेको छ। लकडाउन खुलेसँगै नाइट क्लब, समुद्री किनारमा छुट्टी मनाउन पुग्नेको भिड देखिएको थियो। जसका कारण स्पेनले पनि लकडाउन खुकुलो गर्ने रणनीतिमा पुनर्विचार गरिरहेको छ।
यता, इटालीले पनि कोरोनाको दोस्रो लहर रोक्न थप प्रतिबन्ध लगाउने तयारी गरेको छ।
इटालियन सरकारले विपक्षीको विरोधबीच अक्टोबर ३१ सम्म संकटकालीन अवस्थालाई कायम राख्ने निर्णय गरेको छ। जसका लागि संसदले समेत स्वीकृति प्रदान गरिसकेको छ।
जर्मनीको बर्लिनमा प्रि-प्यान्डेमिक पार्टी आयोजना गरिएकोमा त्यसलाई रोक्न प्रहरीलाई हम्मेहम्मे परेको थियो।
लकडाउन खुलेसँगै धेरै मानिसहरु ‘रिल्याक्स’ मुडमा रहेको भन्दै बर्लिन हमबोल्ड्ट विश्वविद्यालयका प्राध्यापकले भने, ‘अहिले धेरै मानिसहरु मास्क लगाउन थालेका छन्। तर, त्योभन्दा बढी उनीहरु सामान्य जीवनशैलीमा फर्किएका छन्। ’
मानिसहरुको ‘रिल्याक्स्ड’ व्यवहारका कारण नभइ लकडाउन सँगै खुलेको व्यवसायका कारण संक्रमण फेरि देखिन सुरु भएको उनको तर्क छ।
‘सम्भवत मानिसले आफ्नो व्यवहारमा फेरि परिवर्तन गर्नेछन्,’ उनले भने।
फ्रान्समा पछिल्लो ३ दिनमा करिब ८ सय ५० जनामा कोरोना संक्रमित देखिएको छ। बेल्जियममा गत महिना संक्रमितको संख्या घटे पनि जुलाईमा संख्या बढ्दै गएको छ। जसका कारण बेल्जियममा कोरोनाको दोस्रो वेभ रोक्न थप प्रतिबन्ध लगाइएको छ। १५ जना भेला हुन दिइएको छुटलाई बेल्जियमले ५ जनामा सीमित गरेको छ भने सार्वजनिक सभा समारोहमा ५० जना भेला हुन पाउने नियमलाई पनि परिवर्तन गरिएको छ। विवाह लगायतका समारोहमा अब १० जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ।
दोस्रो लकडाउनको आवश्यकता हुन सक्ने भन्दै बेल्जियमकी प्रधानमन्त्री सोफिया विल्मेसले भनिन्, ‘अहिलेको अवस्था चिन्ताजनक छ , डरलाग्दो होइन।’
म्यानचेस्टर विश्वविद्यालयकी मेडिकल भाइरोलोजिस्ट प्यामेला भ्यालेली भने अहिले नै कोरोनाको दोस्रो लहर देखिने सम्भावना न्यून रहेको तर्क गर्छिन्।
‘हामी दोस्रो लहरको सरुवातमा छैनौं। हाल भाइरस समुदाय स्तरमा फैलिरहेको छ। यो त्यसैको निरन्तरता हो,’ उनले भनिन्।
यद्यपि, उनले अवस्थालाई थप भयावह बनाउनबाट रोक्न स्थानीय स्तरमा लकडाउन गर्ने, कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताइन्।
