काठमाडौं : समाजवादी पार्टीबाट लिलादेवी सिटौला सांसद बनेकी छिन्। सरिता गिरीलाई पार्टीबाट निष्काशित गरेपछि रिक्त ठाउँमा सांसद बनेकी सिटौलाले आज शपथ लिँदैछिन्।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो १ बजे सपथ गराउने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।
निर्वाचन आयोगमा समाजवादीले बुझाएको समानुपातिक सांसदको बन्द सूचीमा गिरीपछि सिटौलाको नाम थियो। सोही आधारमा आयोगले सिटौलालाई सोमवार सांसदमा निर्वाचित गरेको थियो।
संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न दिएको ह्वीप उल्लंघन गरेको भन्दै गिरीलाई पार्टीले साधारण सदस्य नरहने गरी कारबाही गरेको थियो। सो निर्णयले उनको सांसद पद गुमेको थियो।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएर अहिले जनता समाजवादी पार्टी बनेको छ।
