बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरण नयाँ मोडमा आइपुगेको छ। झण्डै ४० जनाभन्दा बढीसँग सोधपुछ गरेर पनि ‘क्लु’ पाउन नसकेको प्रहरीका लागि पिता केके सिंहले उजुरी (एफआईआर) दर्ता गराएपछि यो मुद्दामा अनुसन्धानको बाटो खुलेको छ।
सुशान्तका पिताले पटना प्रहरीमा उजुरी दिएका छन्। सुशान्तकी ‘प्रेमिका’ रिया चक्रवर्तीविरुद्ध विभिन्न गम्भीर आरोप लगाउँदै पिताले उजुरी दिएका हुन्। उजुरीपछि प्रहरीले नयाँ शिराबाट अनुसन्धान अघि बढाएको छ। यसअघि नै मुम्बई पुलिसले रियासँग सोधपुछ गरिसकेको छ। अब उजुरीपछि गिरफ्तार गरेर अनुसन्धान गरिनेछ।
सुशान्तका पिताले रियाका साथै उनका परिवारका सदस्य इंद्रजीत चक्रवर्ती, संध्या चक्रवर्ती, शोविक चक्रवर्तीविरुद्ध गत आइतवार राजीव नगर थानामा आईपीसीको धारा ३४१, ३४२, २८०, ४२०, ४०६, ४२० र ३०६ अन्तर्गत उजुरी दर्ता गराएका हुन्।
उजुरीमा रियामाथि सुशान्तलाई प्रेम जालमा फसाएर, ब्ल्याकमेल गरेर पैसा हडपेको आरोप लगाइएको छ। साथै छोरा सुशान्तलाई प्रताडित गरेर आत्महत्या गर्नका लागि उत्तेजित गरेको र परिवारबाट टाढिन बाध्य पारेको आरोप पनि लगाइएको छ।
रिया र उनको परिवारका सदस्यले भूतप्रेतको कुरा गरेर सुशान्तलाई मुम्बईस्थित घर छाड्न बाध्य पारेको आरोप पिताले लगाएका छन्। यसको असर सुशान्तको मस्तिष्कमा परेको र मुम्बई विमानस्थलनजिकै रिसोर्टमा सिफ्ट गरेको उजुरीमा उल्लेख छ।
उजुरीमा रियाले सुशान्तलाई भावनामा बहकाउने र तिमीमा दिमागी समस्या भएको भन्दै बारम्बार भन्ने गरेको उल्लेख छ। उपचारका लागि दबाब दिएको पनि उल्लेख छ। यो कुरा थाहा पाएपछि आफ्नी छोरीले सुशान्तलाई फिर्ता ल्याउने प्रयास गरेको तर रिया र उनका परिवारका सदस्यले उपचारको कुरा गरेर मुम्बईमै रहन दबाब दिएको उल्लेख छ।
त्यसैगरी उजुरीमा रियाका परिवारले उपचारको बहानामा सुशान्तलाई आफ्नो घरमा लगेर औषधिको ओभरडोज दिएको र बाहिर रियाले सुशान्तलाई डेंगु भएको र उपचार भइरहेको प्रचार गरेको तर डेंगु नभएको कुरा पिताले उल्लेख गरेका छन्। उपचारकै क्रममा रिया र उनको परिवारले सुशान्तको सबै कुरामा कब्जा गरेको र सुशान्त पनि आफूहरुसँग टाँढिएको उल्लेख छ।
उजुरीमा पिताले सुशान्तलाई प्रस्तावित फिल्म आउँदा रियाले आफूलाई अपोजिट लिड कलाकारमा राख्नुपर्ने नत्र सुशान्त फिल्म नगर्ने भन्दै शर्त राख्ने गरेको र यतिमात्रै होइन सुशान्तसँग जोडिएका विश्वसनीय कर्मचारीलाई रियाले हटाएर आफ्ना मान्छे राखेको उल्लेख छ। ‘रियाले सुशान्तको फोन नम्बर पनि बदलेकी थिइन्। यसकारण सुशान्तसँग नियमित कुरा हुन छाड्यो। त्यो बेला सुशान्तले मसँग यिनीहरुले मलाई पागलखाना पठाउन खोजिरहेका छन् तर म केही गर्न सकिरहेको छैन भनेका थिए। लगत्तै सुशान्त मेरी छोरीसँग भेट्न दिल्ली गए। आएको ३ दिन भएको थियो, रियाले पटक पटक फोन गरेर फिर्ता आउन भन्न थालिन,’ उजुरीमा पिता केके सिंहले लेखेका छन्।
पिता केकेले उजुरीमा यो पनि आरोप लगाएका छन् कि रियाले सुशान्तलाई पागल भएको रिपोर्ट सार्वजनिक गरिदिने धम्की दिएकी थिइन्। ‘मेरो छोरा फिल्म लाइन छोडेर केरलको कुर्गमा आर्गानिक खेती गर्न चाहन्थ्यो। तर रियाले विरोध गरिन्। नमाने मिडियामा पागल भएको मेडिकल रिपोर्ट सार्वजनिक गरिदिने धम्की दिइन। सबै तिमी पागल हो भनेर भनिदिन्छु,’ उजुरीमा भनिएको छ, ‘सुशान्तले आफ्नो कुरा नमान्ने र उनको बैंक ब्यालेन्स कम भइरहेको भन्ने लागेपछि रियाले ८ जुनमा सुशान्तको घरबाट कैयौ सामानहरु क्यास, ल्यापटप, क्रेडिट कार्ड, सुशान्तका जरूरी दस्तावेज र उपचारका कागजात उठाएर लगिन। छोराको नम्बर आफ्नो फोनमा ब्लक गरिन।’
आफ्नो सबै सामान उठाएर लगेपछि सुशान्त थप तनावमा आए। ‘सुशान्तले मेरी छोरीलाई फोन गरेर रियाले सबै सामान लगेर गएको र अब फसाउँछिन कि भन्ने डर प्रस्तुत गरेका थिए,’ पिताले उजुरीमा भनेका छन्, ‘अर्को दिन रियाले नै जागिरमा राखेकी सुशान्तकी सेक्रेटरी दिशाले आत्महत्या गरिन्। यो आत्महत्याले सुशान्तलाई थप तनाव दियो। रियालाई फोन गर्न खोजे नम्बर ब्लक गरेकी थिइन्। मेरो छोरालाई डर थियो कि कतै यो आत्महत्याका लागि रियाले आफूलाई दोष दिन सक्छिन्।’
पिताको उजुरीपछि सेक्रेटरीको आत्महत्यामा पनि रियाकै भूमिका हुनसक्ने अनुमान गरिएको छ।
सुशान्तका पिताले आफ्नो उजुरीमा उठाएका प्रश्न:
सन् २०१९ भन्दा पहिला मेरो छोरालाई कुनै समस्या थिएन। रियासँग सम्पर्कमा आएपछि त्यस्तो के भयो?
यदि सुशान्तको मानसिक उपचार चलिरहेको थियो भने त्यसका लागिय हामीसँग किन अनुमति लिइएन?
जुन जुन डाक्टरले रियाको निर्देशनमा सुशान्तको उपचार गरेका थिए, उनीहरु पनि रियाको षडयन्त्रमा समावेश छन्। उनीहरुले कुन कुन औषधि दिए यो कुराको पनि जाँच हुनुपर्छ।
मेरो छोराको खातामा १७ करोड रुपैयाँ थियो। पछिल्लो एक वर्षमा १५ करोड रुपैयाँ निकालिएको छ। पैसा यस्तो खातामा ट्रान्सफर भएको छ, जसमा मेरो छोराको कुनै कारोवार छैन। सबै खाताको छानविन होस्।
रियासँग सम्पर्कमा आएपछि कसरी सुशान्तको फिल्म एकदमै कम भयो? यसको पनि जाँच हुनुपर्छ।
