काठमाडौं : कालीकोटमा पहिरो जाँदा ९ जनाको मृत्यु भएको छ। रास्कोट नगरपालिका र नरहरिनाथ गाउँपालिकामा पहिरोमा परी ९ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिए।
रास्कोटमा सोमवार राति र नरहरिनाथमा मंगलवार राति पहिरो गएको गैरेले बताए।
'हिजो पनि पहिरो गएको छ। अस्ति पनि पहिरो गएको थियो। लास निकाल्न सकेको छैन्, पुरिएको भन्ने आएको छ,' उनले भने
हिजो पुरिएका मध्ये एक जनाको शव निकालिएको उनले बताए। नरहरिनाथमा गएको पहिरोमा ८ जनाको मृत्यु भएको हो। पहिरोमा परी गम्भीर घाइते भएका ३ जनालाई उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्ज ल्याइएको छ।
मृतक नौ जना मध्ये एक जनाको उद्दार गरी अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए।
पहिरोमा परी अझै ६ जना हराइरहेका छन्। पहिरोमा पुरिएकाको खोजी भइरहेको भए पनि उनीहरुलाई भेटाउन नसकेको गैरैले बताए।
'पहिरोमा पुरिएको भन्ने सुनेका छौं। उनीहरुलाई निकाल्न नसकेकाले हराएको सूचीमा राखेका छौं,' उनले भने। गैरैले अझै मृतक संख्या बढ्न सक्ने बताए।
