काठमाडौंः निरन्तरको वर्षापछि कैलालीमा अधिकांश बस्ती डुबानमा परेका छन्।
अविरल वर्षाका कारण विभिन्न नदीमा पानीको सतह बढेर बाढी गाउँ पसेपछि कैलालीका करिब तीन सय घर डुबानमा परेका छन्। बाढीले भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका मात्रै डेढ सयभन्दा बढी घर डुबानमा परेका छन्। यसै गरी, बर्दगोरिया गाउँपालिका र टीकापुर नगरपालिकामा पनि डुबान भएको छ।
भजनी नगरपालिकामा मात्रै १ सय २० भन्दा बढी घर डुबानमा परेका छ। वडा नम्बर ५ जबलपुर गाउँका ५०–६० घर डुबानमा परेको छ। यसै गरी भजनी नगरपालिका २ र ३ मा पर्ने मोहनपुर, ढुसी र काँढा गाउँमा काँढा नदीको बाढी पसेर करिब ६० घर डुबानमा परेका छन्।
यसरी डुबानमा परेका मानिसको उद्धारमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना लगायतको टोली परिचालन भइसकेको छ।
अविरल वर्षाका कारण कर्णाली, मोहना, पथरैया, काँढा, कान्द्रा, घुरहा, खुटिया, कटैनीलगायतका सबै नदी र खोलानालामा बाढी आएको छ। जिल्लाको सबैभन्दा ठुलो कर्णाली नदीमा पानीको सतह ९.६ मिटर पुगेको छ।
