PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

अविरल वर्षाले कैलालीमा तीन सय घर डुबानमा, पीडितलाई सुरक्षित स्थानमा सारियो

अविरल वर्षाले कैलालीमा तीन सय घर डुबानमा, पीडितलाई सुरक्षित स्थानमा सारियो

एम बम/पहिलोपोस्ट


कैलाली : निरन्तरको बर्षापछि कैलालीमा अधिकांश बस्ती डुबानमा परेका छन्। अविरल वर्षाका कारण विभिन्न नदीमा पानीको सतह बढेर बाढी गाउँ पसेपछि जिल्लाका करिब तीन सय घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार वर्षापछिको बाढीले भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका मात्रै डेढ सयभन्दा बढी घर डुबानमा परेका छन्। यसैगरी, बर्दगोरिया गाउँपालिका र टीकापुर नगरपालिकामा पनि डुबान भएको छ।

भजनी नगरपालिकामा मात्रै १ सय २० भन्दा बढी घर डुबानमा परेका छन्। वडा नम्बर ५ जबलपुर गाउँका ५०/६० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

जोखिम बढेपछि पीडितलाई सुरक्षित स्थानमा सारिएको उनले बताए।

यसैगरी भजनी नगरपालिका २ र ३ मा पर्ने मोहनपुर, ढुसी र काँढा गाउँमा काँढा नदीको बाढी पसेर करिब ६० घर डुबानमा परेका छन्।

यस्तै, जोशीपुर गाउँपालिका ३ स्थित फरिया गाउँमा काँढा नदीको बाढी पसेर २५ घर र वडा नम्बर ४ स्थित झबही गाउँको खैरेनी टोलमा पथरैया नदीको बाढी पसेर सात घर डुबानमा परेका छन्। वडा नम्बर ५ बनकट्टामा पनि केही घर डुबानमा परेको छ।

अविरल वर्षाका कारण कर्णाली, मोहना, पथरैया, काँढा, कान्द्रा, घुरहा, खुटिया, कटैनीलगायतका सबै नदी र खोलानालामा बाढी आएको छ। जिल्लाको सबैभन्दा ठूलो कर्णाली नदीमा पानीको सतह ९.६ मिटर पुगेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell