PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

पीसीआर रिपोर्ट नहुँदा अस्पतालले भर्ना गर्न मानेन, ६ वटा हस्पिटल धाउँदा धाउँदै गयो ज्यान, चार दिनमा पनि आएन रिपोर्ट



राधेश्याम पटेल

पीसीआर रिपोर्ट नहुँदा अस्पतालले भर्ना गर्न मानेन, ६ वटा हस्पिटल धाउँदा धाउँदै गयो ज्यान, चार दिनमा पनि आएन रिपोर्ट

वीरगंज: वीरगंजमा एक जना ७० वर्षिय वृद्धको अस्पताल डुलाउँदा डुलाउँदै समयमा उपचार नपाएर मृत्यु भएको छ।

वीरगंज–५ गहवाका वृद्धको बुधवार विहान ३ बजे नेशनल मेडिकल कलेजको आकस्मिक कक्षमा निधन भएको परिवारले जनाएको छ। समयमा पीसीआर रिपोर्ट नआएको र अस्पतालले रिपोर्टविना भर्ना गर्न नमानेकाले उनको अवस्था विग्रिँदै जाँदा मृत्यु भएको निजका छोराले बताएका छन्।

पहिलेदेखि उच्च रक्तचाप र थाइराइडका रोगी रहेकोमा झाडापखालाको समस्याले उनको अवस्था खराब हुन थालेपछि गत शुक्रवार राति १० बजे वीरगंज हेल्थकेयर अस्पतालमा लगिएको थियो। त्यहाँ आकस्मिक कक्षमा स्वास्थ्य परीक्षण गरी औषधिहरु लेखेर घर पठाइएको थियो। घर पठाउनु भन्दा पहिले आरडीटी नेगेटिभ आयो। तर, पीसीआर रिपोर्ट नआउन्जेलसम्म वार्डमा भर्ना गर्न नसकिएर घरमै लगेको राम्रो हुने भनेर पठाइएको थियो। त्यस रातमा पनि उनको अवस्था समान्य बनेन।

शनिवार विहान १० बजे उनलाई घरबाट तराई हस्पिटलमा लगियो। त्यहाँ पनि उनको अवस्था ठिक हुन सकेन। केहीबेर सलाइन पानी चढाएर रगतको परीक्षणपछि उनको मृगौलामा खराबी भएको देखियो। उनको क्रिटाइन बढेको थियो। अस्पतालले गण्डक कोभिड अस्पतालमा लैजान भनी पठायो।

अस्थायी कोभिड अस्पतालमा लगे पनि पीसीआर रिपोर्ट नभएकाले भर्ना लिइएन। त्यहाँबाट उनलाई बयोधा अस्पताल गण्डकमा लगियो। त्यहाँ पनि उनको उपचार गर्न अस्पतालका चिकित्सकले आनाकानी गरे। बिना पीसीआर रिपोर्ट आफूहरु उपचार गर्न असमर्थ रहेको भन्दै नारायणी अस्पतालमा पठाए। राति नै ११ बजे नारायणी अस्पतालमा लगे पनि आकस्मिक कक्षबाटै घर पठाइयो।

आइतवार विहान आएर पीसीआर परीक्षण गराएर थप उपचार गराउनु भन्दै पठाइयो। राति १२ बजे घर ल्याएर आइतवार विहान ११ बजे नारायणीमा स्वाब संकलन गर्न लगेर पुनःघरमा लगे परिवारजनले।

आइतवार पीसीआर परीक्षणको लागि दिइएको स्वाबको रिपोर्ट सोमवार र मंगलवारसम्म आएन। मंगलवार अपरान्ह ४ बजे ती वृद्धको मृगौला खराब भएर श्वासप्रश्वास पनि समस्या हुन थाल्यो। त्यसपछि परिवारजनले पर्साकी एसपी गंगा पन्तलाई फोन लगाएर नेशनल मेडिकल कलेजमा भर्ना गरी उपचार गराई दिन विन्ती चढाए। एसपी पन्तको भनसुनमा नेशनल मेडिकल कलेजमा उनलाई मंगलवार राति ८ बजे भर्ना गरी आकास्मिक कक्षमा उपचार शुरु भयो। त्यहाँका चिकित्सकले विरामी तथा विरामीका परिवारजनसंग अपशब्द बोल्दै हप्काएका थिए। निजको छोराबाट पनि कृत्रिम श्वासप्रश्वास प्रवाह गर्न पम्पिङ पनि गराए। अन्त्यमा बुधवार विहान ३ बजे ती वृद्धको मृत्यु भयो। अहिले शव नेशनल मेडिकल कलेजकै अस्पतालको आकास्मिक कक्षमै पीसीआर रिपोर्टको पखाईमा छ।

अस्पताल डुलाउँदा डुलाउँदै बुवाले ज्यान गुमाएपछि छोराहरुले वीरगंजमा नामी अस्पताल कामचलाउ मात्र भएको बताएका छन्। अहिलेको अवस्थामा सिकिस्त विरामीको उपचार गर्ने कुनै अस्पताल नरहेको उनीहरुको गनासो थियो। बुवाको निधनपछि दुई छोरा घरमै तनावको अवस्थामा छन्।

यसबारे नारायणी अस्पतालको ल्याबमा बुझ्दा अपरान्ह ३ बजेसम्म रिपोर्ट आउनसक्ने जानकारी दिएको छ। पछिल्लो ३/४ दिनमा स्वाब संकलन क्रम बढेसंगै उनको रिपोर्ट पेन्डिङ भएको बताइएको छ। निजी अस्पतालका डाक्टरहरुले वीरगंजको अवस्था कोरोनाको त्रासमा उपचार गर्नुपर्ने भएकोले फिल्टर गरेर मात्र भर्ना गरी उपचार भइरहेको बताएका छन्। तराई हस्पिटलका डाक्टर रोशन कुर्मीले वीरगंजमा सिकिस्त विरामीहरुको पीसीआर रिपोर्ट चाडै परीक्षण गर्ने वातावरण बनेमा आकस्मिक कक्षमै त्यतिन्जेल उपचार गरी रिपोर्ट आएपछि भर्ना गर्ने कि कोभिड अस्पताल पठाउने बारेमा नारायणी अस्पताल र यहाँका सरोकारवालाहरु रणनीति बनाएर जानुपर्ने सुझाव दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell