काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकको माग गर्दै १ सय ४० बढि सदस्यले अध्यक्षहरुलाई पत्र बुझाउने तयारी गरेका छन्। नेकपा एकता बचाउन भन्दै केन्द्रीय सदस्यले पत्र बुझाउने तयारी गरेका हुन्।
केन्द्रीय सदस्य ठाकुर गैरेले बुधबार ४ बजे पार्टी कार्यालयमा महासचिवमार्फत दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीलाई पत्र बुझाइने बताए। उनले पार्टीमा देखिएको समस्याले स्थायी कमिटी र सचिवालय बैठक नियमित हुन नसकेपछि बैठक बोलाउने माग गरिएको बताए। नेकपाको बिधान अनुसार एक चौथाइ सदस्यले बैठकको माग राखेमा एक महिनाभित्र बैठक बोलाउनुपर्ने ब्यवस्था छ। ४ सय ४१ मध्ये १ सय ११ जनाले बैठकको माग गरेमा बैठक बसाउनुपर्ने ब्यवस्था छ।
गैरैले नेकपाभित्रको समस्या सल्टाउन बैठकको माग गरिएको बताए। उनले प्रधानमन्त्री तथा अध्यक्ष ओलीको राजीनामासँग आफ्नो माग नजोडिएको बताए। 'पार्टीको एकता जोगाउन माग गरिएको हो। अहिले सतहमा आएका बिषयमा जोडिएको छैन,'उनले भने।
केन्द्रीय सदस्यहरुले १३ गतेको बैठकले निष्कर्ष निकाल्न नसके हस्ताक्षर अध्यक्षहरुलाई बझाउने यसअघि नै बताएका थिए। मंगलवारको स्थायी कमिटी बैठक ओलीले स्थगित गरेकोमा प्रचण्डले एकतर्फी सञ्चालन गरेका थिए। नेकपाभित्रको विवाद चरम अबस्थामा पुगेका बेला केन्द्रीय कमिटिको बैठकको माग गरिएको हो।
२० जना स्थायी कमिटी सदस्यले बैठकको माग गरेपछि असार १० गते बैठक सुरु भएको थियो। ओलीको राजीनामाको विषय नसुल्टिपछि बैठक सुचार ढंगले चल्न सकेको छैन।
