काठमाडौं: राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव र उपाध्यक्षले आज सपथ ग्रहण गरेका छन्। युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री जगतबहादुर विश्वकर्माले सदस्य सचिव रमेशकुमार सिलवाललाई र उपाध्यक्ष शिव कोइरालालाई सपथ गराएका हुन्।
मन्त्रिपरिषदको साउन १२ गतेको वैठकले सिलवाललाई सदस्य सचिव र कोइरालालाई उपाध्यक्ष नियुक्त गरेको थियो।
नयाँ खेलकुद विकास ऐन असार १८ गते कार्यन्वयनमा आएसँगै राखेपमा सदस्य सचिवलगायतका पद खाली भएको थियो। मन्त्रालयले रिक्त सदस्यसचिवका लागि भक्तबहादुर ढकाललाई जिम्मेवारी दिएको थियो। सदस्य सचिवका लागि मन्त्रालयले असार २८ गते दरखास्त आह्वान गरेको थियो।
सदस्य सचिवका लागि २७ जनाले आवेदन दिएका थिए। त्यसमा खेलकुद मन्त्रालयबाट गठित तीन सदस्यीय कमिटीले अञ्जु श्रेष्ठ र लीलबहादुर थापा र सिलवालको नाम सिफारिस गरेको थियो। जसबाट मन्त्रिपरिषदले सिलवाललाई सदस्यसचिवमा नियुक्त गरेको थियो।
