PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

'वामदेव आफ्नाे कित्तामा आए भन्ने देखाउन ओली भैंसेपाटी पुगेका हुन्, कुनै सम्झाैता भएकाे छैन'



पहिलोपोस्ट

'वामदेव आफ्नाे कित्तामा आए भन्ने देखाउन ओली भैंसेपाटी पुगेका हुन्, कुनै सम्झाैता भएकाे छैन'

काठमाडौं : नेकपाभित्र विवाद चर्किरहेका बेला उपाध्यक्ष वामदेव गौतमको प्रस्तावले तरंग पैदा गरेको छ। विवाद समाधानका लागि भन्दै गौतमले मंगलवार सार्वजनिक गरेको ६ बुँदामा प्रधानमन्त्री केपी शर्मा ओली पूरै कार्यकाल प्रधानमन्त्री र महाधिवेशनसम्म अध्यक्ष रहने प्रस्ताव छ।

प्रस्ताव ल्याएसँगै गौतमले कित्ता परिवर्तन गरेको चर्चा पनि चलिरहेको छ। मंगलवार ओलीले एक पक्षीय रुपमा स्थायी कमिटी बैठक गरेका थिए। बैठक स्थगित भएपछि गौतमले ल्याएको मध्यमार्गी प्रस्तावले उनले गुट परिवर्तन गरेको शंका नेकपा वृत्तमा भइरहेको छ।

उनले निकटस्थहरुलाई प्रधानमन्त्री ओलीले पार्टी फुटाउने भएपछि आफूले पार्टी जोगाउने उपाय अघि सारेको बिफ्रिङ गरेका छन्।

मंगलबारको बहुमत स्थायी कमिटी सदस्यहरुको भेलाबाट आफ्ना कुरा राखेर छिट्टै बाहिरिएका गौतमले निकटस्थहरुलाई ओलीको नेतृत्वप्रति आफू असन्तुष्ट रहेको पनि बताएका थिए।

'पार्टी एकताका सुत्रधारसमेत रहनु भएका वामदेव कमरेड पार्टी फुटाउनु हुँदैन भन्ने पक्षमा हुनुहुन्छ। पार्टी विभाजनबाट जोगाउन सो प्रस्ताव अघि सारेको बताउनुभएको छ,' उनी निकट नेताले भने।

'म केपी ओलीको नेतृत्वप्रति सन्तुष्ट छैन। बहुमतबाट निर्णय गरेर अघि बढ्दा ओलीले पार्टी फुटाउने देखियो। त्यसैले ओलीलाई एकता महाधिवेशनसम्म पार्टी अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी पूरै अवधि हुनेगरी प्रस्ताव गरेको हुँ भन्नुभयो,' ती नेताले थपे।

मंगलवार बेलुकी प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित गौतम निवास भैंसेपाटी पुगेका थिए। सँगै महासचिव विष्णु पौडेले पनि गौतम निवास पुगेका थिए।

ओलीको सचिवालयले सो भेटलाई विशुद्ध पारिवारिक भेट भनेको छ। तर, आफूलाई सहयोग गर्नेगरी प्रस्ताव ल्याएपछि गौतम आफ्नो कित्तामा आएको देखाउन भैसेपाटी पुगेको गौतम निकट ती नेता बताउँछन्।

'वामदेव कमरेड मेरो कित्तामा आउनुभयो भन्ने देखाउन प्रधानमन्त्री भैसेपाटी पुग्नुभएको हो। भेटमा कुनै सम्झौता भएको छैन,' ती नेताले भने।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell