PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेकपा विवाद अब केन्द्रीय कमिटी केन्द्रित, 'ओलीको राजीनामा होइन एकता जोगाउन' १५२ सदस्यले बुझाए हस्ताक्षर पत्र



प्रकाश भण्डारी

नेकपा विवाद अब केन्द्रीय कमिटी केन्द्रित, 'ओलीको राजीनामा होइन एकता जोगाउन' १५२ सदस्यले बुझाए हस्ताक्षर पत्र

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद केन्द्रीय कमिटीतर्फ केन्द्रित भएको छ। सचिवालय र स्थायी कमिटीमा विवाद समाधान नभएपछि केन्द्रीय कमिटी सदस्यहरुले बैठक माग गरेका छन्। 

बैठक माग गर्दै १५२ सदस्यले अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीलाई पत्र बुझाएका छन्। पार्टी कार्यालयका सचिव ईश्वरी रिजाललाई पत्र बुझाएको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए।

महासचिव बिष्णु पौडेललाई पत्र बुझाउने तयारी गरिए पनि उनी ब्यस्त भएपछि पार्टी कार्यालयका सचिवलाई बुझाइएको गैरेले बताए। 'हामीले त महासचिवलाई नै बुझाउने भनेका थियौँ। तर, उहाँको फुर्सद भएन। त्यसैले पार्टी कार्यालयका सचिवलाई बुझाएका हौं,' उनले भने।

पार्टी एकता बचाउन भन्दै केन्द्रीय सदस्यले पत्र बुझाएका हुन्। पार्टीमा देखिएको समस्याले स्थायी कमिटी र सचिवालय बैठक नियमित हुन नसकेपछि बैठक बोलाउने माग गरिएको गैरेले बताए। नेकपाको विधान अनुसार एक चौथाई सदस्यले बैठकको माग राखेमा एक महिनाभित्र बैठक बोलाउनुपर्ने ब्यवस्था छ। ४४१ सदस्यमध्ये १११ जनाले बैठकको माग गरेमा बैठक बस्नुपर्ने ब्यवस्था छ।

गैरैले नेकपाभित्रको समस्या सल्टाउन बैठकको माग गरिएको बताए। उनले प्रधानमन्त्री तथा अध्यक्ष ओलीको राजीनामासँग आफ्नो माग नजोडिएको बताए। उनले पार्टी विधिमसम्मत चल्नुपर्छ भन्ने आफूहरुको माग रहेको बताए।

नेकपा स्थायी कमिटी र सचिवालयमा प्रधानमन्त्रीको राजीनमाको माग उठेपछि विवाद चर्किएको छ। ओलीले राजीनामा नदिने अडान राखेपछि प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल  समूहले उनीविरुद्ध विभिन्न रणनीति बनाइरहेको छ। ओलीले पनि राजीनामा नदिने भन्दै रणनीति तय गरेका  छन्। 

'पार्टीको एकता जोगाउन माग गरिएको हो। अहिले सतहमा आएका बिषयमा जोडिएको छैन,' गैरेले भने।

केन्द्रीय सदस्यहरुले १३ गतेको बैठकले निष्कर्ष निकाल्न नसके हस्ताक्षर अध्यक्षद्वयलाई बुझाउने यसअघि नै बताएका थिए।

मंगलबारको स्थायी कमिटी बैठक ओलीले एकतर्फी स्थगित गरेको भन्दै प्रचण्डले एकतर्फी सञ्चालन गरेका थिए। नेकपाभित्रको विवाद चरम अवस्थामा पुगेका बेला केन्द्रीय कमिटीको बैठकको माग गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell