PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

देउवाजी रातीराती भेट्न जान्छन्, हाम्रो महाधिवेशनमा ओलीले हस्तक्षेप गर्छन् : शशांक कोइराला



नेत्र तामाङ

देउवाजी रातीराती भेट्न जान्छन्, हाम्रो महाधिवेशनमा ओलीले हस्तक्षेप गर्छन् : शशांक कोइराला

नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिँदा पार्टीभित्रको माहोल तातिएको छ। पार्टी सभापति शेरबहादुर देउवाले धमाधम विभाग विस्तार गर्न थालेका छन्। यता उनको विरोधमा उनी इतरका नेताहरु बैठक गरेरै भर्त्सना गर्नेक्रम पनि बढेको छ।

१३ औं महाधिवेशनमा पौडेल प्यानलबाट महामन्त्री बनेका बीपीपुत्र शशांक कोइराला पनि पछिल्लो समय देउवाको चर्को विरोधमा उत्रिएका छन्। तीनै तहको निर्वाचनमा नराम्ररी हार ब्योहोरेका जिम्मा देउवामाथि थोपरेको बेला महामन्त्री शशांकले सभापतिको बचाउ गरेका थिए। तर, पछिल्लो पटक विभाग गठनदेखि बिस्तार गर्न थालेयता भने उनी देउवाको कडा विरोधमा उत्रेका छन्। आउँदो महाधिवेशनै सन्दर्भमा महामन्त्री शशांक कोइरालासँग नेत्र तामाङले गरेको कुराकानी :

विश्व कोभिडको संक्रमणमा छ। काँग्रेसमा आफ्नै किसिमको रोग छ, संक्रमण छ, कसरी स्वस्थ हुन्छ पार्टी?

हाम्रो नेतृत्व पक्तिको व्यक्ति राम्रो भइदिएको खण्डमा राम्रोसँग हाँक्न सकिन्छ। नेपाली काँग्रेस ७० वर्ष इतिहास बोकेको पार्टी हो। तीन तीन वटा आन्दोलन भयो। तीनै आन्दोलन काँग्रेसेको नेतृत्वमा भयो। काँग्रेसको स्पष्ट भिजन छ, राष्ट्रियता, लोकतन्त्र, समाजवाद। योजना बनाउँदा फोकस गरेमा धेरै राम्रो हुन्छ।

तर, पार्टी नै बिरामी छ त। पहिले आफू ठीक हुनु पर्ने होइन र?

अधिवेशनपछि नम्बर वान पार्टी हुन एक हुनुपर्‍यो। गुट उपगुट हटाउनुपर्‍यो। पार्टीलाई क्रियाशिल पार्नुपर्‍यो। मान्छेहरुलाई आकर्षित गराउन सक्नुपर्‍यो।

यतिखेर आएर विभागहरु गठन गर्न थालिएको छ, महाधिवेशनमा मान्छेलाई आकर्षण गर्न।

गुट उपगुट हट्ने कुरा त पुरानै कथा होइन र काँग्रेसको?

शेरबहादुरजी आफै गुट बनाउँदै हुनुहुन्छ कसरी हुन्छ गुटको अन्त्य? त्यस हिसाबले उहाँ जानुभएन। आफ्नै मान्छेलाई मात्र विभागका प्रमुख बनाउनुहुन्छ।

उहाँ त सबैको सभापति हो नि। टिकट वितरण गर्दा त्यो त हाम्रो मान्छे हैन भन्नुहुन्छ उहाँ। सभापतिले त्यसो भन्ने हो त?

त्यसो भए भद्रगोल छ पार्टीभित्र?

हो, जस्तै ओलीजीले सरकार चलाउन सक्नु भएन। शेरबहादुरजीले पार्टी चलाउन सक्नु भएन। समितिहरुको कुनै एक्टिभिटी भएको छैन।

पार्टीमा कतिको अप्ठ्यारो हुन्छ विरोधमात्र गर्नुपर्दा?

अहिलेमात्र हो शेरबहादुरजीको विरोध गरेको। चार वर्ष त विरोध गरिनँ, हामी सबै दोषी हौं भनेर। टिकट वितरणमा हामी पनि थियौं नि भनेर। महामन्त्री भएपछि सभापतिलाई एट्याक गरे पार्टीलाई त घाटा हुन्छ। त्यसैले मैले एट्याक गरिनँ। सेफै गरेँ। अहिले नेकपामा झगडा छ नि, त्यस्तै झगडा गरे त नराम्रो हुन्छ नि।

एकातिर विभाग गठन, अर्कातिर बैठक बहिस्कार दोहोरो खेल भएन र?

सभापतिले विधान मिचेर काम गर्नु भएपछि विरोध गर्नैपर्‍यो नि। विभागहरु चार वर्ष बनाउनु भएन। जब महाधिवेशनको मिति तोक्यो अनि विभाग बनाउनुभयो। ६ महिनामा के काम गर्छ विभागले? पहिले नै बनाएको भए कति काम हुन्थ्यो? त्यसैले हामीले बहिस्कार गरेका हौं। यसले आचारसंहिता पनि उल्लंघन हुन्छ।

भागभण्डा नमिलेर बहिस्कार गर्नुभएको भन्ने कुरा पनि त छ?

आचारसंहिता लागू भइसकेको छ। महाधिवेशनको मिति तोकिइसकेको छ, फागुन ७ गते। विभाग गठन गर्न पाइँदैन भनेका हौं। हामीले भागबण्डा खोजेकै होइन।

सरकारको कामलाई चाहिँ कसरी हेर्नुभएको छ?

यो सरकारसँग कुनै भिजन नभएको सरकारजस्तो लाग्यो। ओलीजीको कुनै भिजन छैन। समृद्धिको खाका दिनुपर्ने हो, त्यो दिनसक्नु भएन उहाँले। पहिलेकै कार्यक्रम सञ्चालन गर्नुभएको छ। बाटोघाटोको कार्यक्रम, यस्तै। उहाँहरुबीचको खिचातानीले झन् बिगारेको छ।

त्यतिमात्र होइन धेरै कुरामा हस्तक्षेप गरेको छ। प्रेसमाथि हस्ताक्षेप। न्यायापालिकामाथि हस्ताक्षेप। हरेक अंगमा हस्तक्षेप गरेर सरकारले राम्रो छबि दिन सकेन। निर्मला हत्याकाण्डको अहिलेसम्म केही कारबाही हुन सकेको छैन। ३३ किलो सुनकाण्ड। कोभिडमा भ्रष्टाचारलाई व्यापक बनाइएको छ। यो सरकारले हरेक क्षेत्रमा भ्रष्टाचार गरेर राष्ट्रलाई चुर्लुम्म डुबाएको छ। अनि समृद्धको कुरा गर्छ। त्यो पनि कोभिडको बेला। सेनालाई मुछिदिए, जुन मुछ्न पर्दैनथ्यो। न काम गर्न सक्यो न हामीले ल्याएको संविधानलाई राम्ररी दिशा दिन सक्यो। संविधानमाथि नै आक्रमण गर्‍यो।

निशान छाप परिवर्तन गरी देशभक्ति काम त गर्‍यो नि सरकारले?

निशान छाप राम्रो काम हो। तर, अहिले बर्खा लाग्यो। कोरोनाले गर्दा विदेशबाट मान्छे फर्केर आएका छन्। ९५ प्रतिशत रोपाई भइसक्यो। लास्ट इयर ६५ प्रतिशतमात्र रोपाइ भएको थियो। तर युरिया मल उपलब्ध नै भएको छैन।

यस्तो बेथिति देख्दा प्रमुख प्रतिपक्षी दल काँग्रेस आफैँ कता हराएको जस्तो देखिन्छ त?

हाम्रो नेतृत्व पनि ठीक भएन। प्रत्यक्ष शेरबहादुरजीलाई भनेजस्तो हुन्छ। तर, एक्चुअल्ली हाम्रो नेतृत्व नै ठीक भएन। हामीले प्रतिनिधिसभामा राम्रैसँग कुरा उठाएका छौं। हाम्रो संख्या सानो भयो होला। मीनेन्द्र रिजाल, गगन थापाजीहरुले आवाज उठाइरहनु भएको छ, उपस्थिति बलियो नभए पनि। शेरबहादुरजीको हबनबिङ छ। उहाँ ओलीजीसँग देउवाको बेलाबखत भेट हुन्छ। के के गर्नुहुन्छ?

राति राति गएर ओलीजीलाई भेट्नुहुन्छ। ओलीजीले भनिसक्नुभयो - शेरबहादुरजी भएर हामीलाई धेरै सजिलो भएको छ। त्यसैले अब पनि सभापति उहाँ नै हुनुपर्छ। हाम्रो महाधिवेशनमा ओलीले हस्तक्षेप गर्छन्, गर्छन्। किनकि उहाँलाई शेरबहादुरजी नै चाहिएको छ।

त्यसो भए काँग्रेसको भूमिका के त?

हाम्रो भूमिका राम्रो भएन। हाम्रो काम सरकारले गरेका नराम्रा कामको विरोध गर्ने हो। हामी कडा रुपमा जानुपर्थ्यो। यतिखेर हाम्रो सरकार भएको भए, हामीले यस्तै काम गरेको भए कम्युनिस्टले रेलिङ भाँच्थे। तर, हाम्रो नेचर रेलिङ भाँच्ने होइन। हामी कडा रुपमा प्रस्तुत हुनुपर्थ्यो। भएन।

जनतालाई तान्न सकेन। तपाईँहरु पनि त्यस्तै हुनुहुन्थ्यो नि भनेर भन्छन् जनता, किन तपाईँहरुलाई भोट हाल्ने भनेर। सरकारसँग रुष्ट छन् जनता। तर, काँग्रेसले आकर्षण गर्न सकेको छैन। यो काँग्रेसलाई ठूलो खतरा हो।

अधिवेशन आउँदैछ। यो महाधिवेशन किन महत्वपूर्ण छ भने नेतृत्व फेर्ने मात्र हैन। पार्टीलाई रक्तसञ्चार कसरी गर्ने? तल्लो तहदेखि माथिल्लो तहसम्म गाउँगाउँमा पार्टीको एक्टिभिटी हुनुपर्‍यो। विभागहरु बन्नुपर्‍यो। योजना बनाउनुपर्‍यो।

हाइड्रो। हाइड्रोमा काम भइरहेको छ। पर्यटन। पर्यटन त कोभिडले असर गर्‍यो। तेस्रो अप्सन कृषि हो। कृषिमा चक्लाबन्दी गरेर कृषिमा अधुनिकीकरण गर्नुपर्‍यो। आर्गनिक खेती गर्नुपर्‍यो। सिक्किम हेर्नुस्। सानो ठाउँ छ। तर आर्गनिक खेती गरेर निर्यात गरिरहेको छ।

कृषिलाई सफ्ट किसिमको लोन दिने र मार्केट दिनुपर्ने काम गर्नुपर्‍यो। जवानामा हामीले चामल दाल निर्यात गर्थ्यौ। १७ लाख हेक्टर खेतीयोग्य जमिन हो। ९ करोड जनतालाई खुवाउन सक्छौं हामी।

भनेपछि महाधिवेशनमा तपाईँ हस्तक्षेप गर्ने तयारी गर्दै हुनुहुन्छ?

तयारी गर्दैछु। हाम्रो नेतृत्वमा परिवर्तन आउनुपर्‍यो। अहिले नै नेतृत्व को आउँछ भन्न सक्दिनँ। म पनि त्यो रेसमा छु।

नेतृत्व सुम्पने छाँटकाँट सभापति देउवाको देखिँदैन नि?

हामी आठ जना एकै ठाउँमा हुनुपर्‍यो। अनिमात्र देउवालाई हराउन सकिन्छ। विमलेन्द्र निधि पनि सभापति उठ्ने भन्ने कुरा सुनेँ। मैले शुभकामना दिइसकेँ। धन्यवाद भन्नुभो। शेरबहादुरजीलाई सभापतिमा नलडाउने भन्नुभयो उहाँले।

नेतृत्वका लागि अब कसरी अघि बढ्नुहुन्छ त तपाईँ?

सबैभन्दा पहिले आफ्नो घर ठीक पार्नुपर्‍यो। शेखर दा हुनुहुन्छ। सुजाता छिन्। सुजाताले मलाई स्वास्थ्यले साथ दिएको छैन, भनेकी छिन्। शेखर दा'लाई भन्नुछ- 'तपाईँलाई जति रहर छ। मलाई रहर छैन।' यो मेरो एक किसिमको राजनीतिक बाध्यता छ।

त्यसपछि प्रकाशमान सिंहलाई आफ्नो पक्षमा ल्याउनुपर्‍यो। रामचन्द्र दाइलाई भन्नुपर्‍यो। उहाँले यसपटक 'म पनि लड्दिनँ। शेरबहादुरजीलाई पनि नलड्नुस्' भन्नुभएको थियो। अनि रामचन्द्र दाइलाई भन्नुपर्‍यो। उहाँ असीको हाराहारीमा हुनुहुन्छ। अर्जुननरसिंह केसी हुनुहुन्छ। रामशरण महतजी हुनुहुन्छ। सबैसँग कुरा गर्नुपर्‍यो। सबैसँग कुरा गरेर अघि बढ्छु। मलाई लाग्छ म सक्छु।

मलाई इच्छा छैन, तर राजनीतिक बाध्यता हो। सभापति नै बन्ने इच्छा चाहिँ छैन।

युवा नेताहरुलाई कसरी एड्जस्ट गर्नुहुन्छ त?

अहिले ६० प्रतिशत जनता ४० वर्ष मुन्तिरका छन्। युवालाई प्रोत्साहन नगरे काँग्रेसको भविष्य राम्रो हुन्न।

अहिले गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, विश्वप्रकाश शर्माहरु हुनुहुन्छ। उहाँहरुभन्दा पनि मुनिमुनिकोलाई ल्याउनुपर्‍यो।

नेविसंघमा अहिले बुढाबुढा छन्, कामै छैन। एक्टिभाइज गर्नुपर्‍यो। तरुण दल छ त्यो सिस्टम बसाल्न सक्नुपर्‍यो। पार्टीलाई कसरी संगठित गर्ने यही चुनौती छ। मान्छेलाई आकर्षित गर्न सक्नुपर्‍यो। योजना कसरी तर्जुमा गर्ने? धेरै च्यालेन्जिङ भए पनि सम्भावना पनि धेरै छ।

पार्टीलाई एकजुट पार्नुपर्‍यो। अधिवेशनमामात्र गुट उपगुट हुन्छ। अधिवेशन सकेपछि सबै एकजुट। सभापति भएपछि सबैलाई अटाउनुपर्‍यो नि।

यस्तो बेला पार्टीमा कारबाहीको कैची चल्यो भने राप्रपाबाट नेता भित्र्याउने काम पनि भयो। किन यस्तो देखिएको हो?

भित्र्याउने कुरा राम्रो हो। पहिले बीपीलाई गाली गर्थे, गणेशमानलाई गाली गर्थे, फासी हुनुपर्छ भनेर। तर अहिले परिस्थिति परिवर्तन भएको छ।

कारवाहीको एक्सन चाहिँ अहिले घाटा हुनसक्छ। वर्षौदेखि काम गर्नेलाई निकाल्नु चाहिँ राम्रो हुन्न।

मान्छेलाई जोड्नुपर्नेमा वर्षौदेखि बसेकालाई निकाल्ने ठीक होइन। शेरबहादुरजीले त्यस्तो गर्नुहुन्नथ्यो। आममाफी दिनुपर्थ्यो।

नेकपा पार्टीभित्रको कलहलाई काँग्रेसले कसरी हेर्छ?

यति ठूलो विवाद भयो। धेरै नराम्रो भयो, प्रचण्ड ओलीजीको। यो राष्ट्रकै लागि नराम्रो हो। पाँच वर्षका लागि जनताले दिएको हो उहाँहरुलाई। हाम्रो कर्तव्य के हो भने हामीले ७० वर्षपछि संविधान दियौं। यो संविधानको रक्षा कसरी गर्ने? अहिले त सरकारले संविधानमाथि नै हस्ताक्षेप भइरहेको छ। न्यायापालिकामाथि नै हस्तक्षेप गरिरहेको छ। यो राम्रो कुरा होइन।

हाम्रो स्वर कमजोर भयो। दम्भ भएको सरकारले त कुनै ठोस कार्यक्रम ल्याउनुपर्ने हो नि। सरकारले ट्रेन र पानी जहाजको कुरा गरेर भएन। यथार्थमा आउनुपर्‍यो।

पार्टीको झगडाको गुत्थी सुल्झाउन शीतल निवासले भूमिका खेलेको विषय पनि चर्चामा छ। यसलाई कसरी हेर्नुहुन्छ?

राष्ट्रपतिबाट भएको यो ठीकै होला, पार्टीका सन्दर्भमा। योभन्दा त चिनियाँ राजदूतको हस्तक्षेप भयो। राष्ट्रपतिलाई भेटिरहेको छ। प्रधानमन्त्री ओलीजीलाई भेटिरहेको छ। माधवकुमार नेपाललाई अनि प्रचण्डलाई भेटिरहेको छ।

भारतीय राजदूत त्यसैगरी हिँडेको भए कस्तो बबन्डर हुन्थ्यो? हाहकारी हुन्थ्यो। चिनियाँले जस्तै भारतबाट काँग्रेसलाई प्रशिक्षण चलेको भए के भइसक्थ्यो होला? यो राम्रो भएन।

छिमेकीसँग समदुरी हुनुपर्छ। यति तिक्तता भइसक्यो भारतसँगको सम्बन्ध त्यसलाई सम्हाल्न धेरै समय लाग्छ। ओलीजी कस्तो कुरा गर्नुहुन्छ, राम नेपाली हुनुहन्छ भनेर। यस्तो उट्पट्याङ कुरा गरेर हुन्छ?

यत्रो नेभरली कन्ट्री थियो। सम्बन्ध यसरी चकनाचुर पारिदिनुभयो ओलीले। यस्तोमा अब कसरी वार्ता गर्ने लिम्पियाधुराबारे?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell