PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

भारतबाट भित्रनेक्रम जारी, नियन्त्रणको छैन संयन्त्र, क्वारेन्टाइनमा राख्न स्थानीय तह पनि आजित



प्रकाश भण्डारी

भारतबाट भित्रनेक्रम जारी, नियन्त्रणको छैन संयन्त्र, क्वारेन्टाइनमा राख्न स्थानीय तह पनि आजित

काठमाडौं : हिजो बुधवारमात्र भारतमा ५२ हजार भन्दा धेरै कोरोना भाइरस संक्रमित थपिए। यससँगै भारतमा संक्रमितको संख्या १५ लाख ८३ हजार ४ सय ८३ पुगेको छ। भारतमा बढ्दो संक्रमणले नेपाल कति जोखिममा छ त?

सरकारले लकडाउन खुला गरेलगत्तै सीमावर्ती क्षेत्रमा भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने क्रम ह्वात्तै बढेको छ। भारतको बिहार र उत्तर प्रदेशमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ। त्यस आधारमा सजिलै भन्न सकिन्छ : जोखिम बढ्दो छ।

नेपालसँग सबैभन्दा धेरै लामो सीमा जोडिएको बिहारमा सुरुका दिनमा कोरोना भाइरसका संक्रमितको संख्या कम थियो। जसरी आप्रवासी मजदूरलाई श्रमिक स्पेसल रेलबाट पठाउन सुरु भयो, संक्रमण बढ्नेक्रम पनि जारी रह्यो। नेपालको प्रदेश नम्बर दुई पूर्णत् बिहारसँग जोडिएको छ। बिहारमा संक्रमित संख्या बढ्दा नेपालमा पनि संक्रमितको संख्या बढिरह्यो। अहिले बिहारमा मात्रै ४६ हजार भन्दा धेरै जनामा संक्रमण छ। र, दैनिक हजार भन्दा बढी मानिसहरुमा कोभिड १९ देखिरहेको छ।

पश्चिम नेपालदेखि मध्य नेपालसम्म भारतीय राज्य उत्तर प्रदेश जोडिएको छ। अहिले धेरै संक्रमित थपिने राज्यहरुमा उत्तर प्रदेश पनि पर्छ। त्यहाँ ७४ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ। प्रदेश नम्बर ५ र सुदूर पश्चिम प्रदेशसँग जोडिएको उत्तर प्रदेश सरकारले श्रमिकलाई फिर्ता ल्याउँदा नेपालीहरुलाई पनि भारतका विभिन्न राज्यबाट ओसारेको थियो। उनीहरुलाई सीमासम्मै उत्तर प्रदेश सरकारले पुर्‍याइदियो। नेपालमा संक्रमण बढ्नुमा त्यो पनि एउटा कारण थियो। 

पूर्वी नेपालसँग जोडिएको भारतको पश्चिम वंगाल राज्यमा पनि ६५ हजार भन्दा धेरै संक्रमित छन्। सुदूर पश्चिम प्रदेशसँग जोडिएको भारतीय राज्य उत्तराखण्डमा ६ हजार भन्दा बढी संक्रमित छन्। यद्यपि, यस प्रान्त भारतका अन्य प्रान्तभन्दा कम संक्रमित भएको ठाउँ हो। 

नेपालमा लकडाउन खुलेसँगै सीमामा गरिएको कडाइ खुकुलो हुँदा संक्रमणको जोखिम बढेको हो। लकडाउनका बेला अपनाइएको सावधानी समेत अहिले हटेको छ। तर, भारतीय क्षेत्रमा लगातार कोरोनाको संक्रमण उचाईतिर लागिरहेको छ।

नेपाल आउने तथा नेपालमा रहेका भारतीय आफ्नो देश जाने क्रम बढेसँगै संक्रमणको जोखिम बढेको स्थानीय प्रशासनले बताएका छन्। सीमावर्ती भारतीय जिल्लाहरूमा कोभिड १९ को संक्रमण बढिरहेकाले ती जिल्ला हुँदै नेपाल आउनेहरूले जोखिम बढाएका हुन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले गौरीफन्टा नाका हुँदै दैनिक दुई सय मानिस नेपाल प्रवेश गरिरहेको बताए। उनले लकडाउनको बेला अपनाइएको सावधानी अहिले पालना गर्न सक्ने अवस्था नरहेको बताए। सिमानामा गरिने चेकजाँच लकडाउन खुलेपछि कम भएको उनको भनाई छ।

'लकडाउन खुलेपछि सामान्य खालको चेकजाँच गर्न पनि सम्भव छैन। अहिले आउनेहरूको सामान्य रेकर्ड राखेर जिल्लाको क्वारेन्टाइनमा पठाउने मात्रै काम हुन्छ,' उनले भने।

सीमामा सामानको ओसारपसार र आवतजावत बढेपछि नियमन गर्न कठिनाइ भएको उनले बताए।

कञ्चनपुरको गड्डाचौकी नाका हुँदै दैनिक ३ सय नेपाली स्वदेश फर्किरहेका छन्। प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले हाल नाकाबाट निर्बाध आवतजावत भएको जानकारी दिए। उनले बिहान ६ देखि १० बजेसम्म मात्रै नेपाल प्रवेशका लागि व्यवस्था गरेको भए पनि सीमामा आएर बस्नेलाई अरू बेला पनि रोक्न सक्ने अवस्था नरहेको बताए।

भारतबाट नेपालमा आउनको संख्या उल्लेख्य भए पनि नेपालबाट भारत जानेको संख्या भने न्यून रहेको उनको भनाई छ। नाकाबाट आउने क्रम नरोकिएसम्म कोरोना संक्रमण रोक्न कठिन हुने उनी बताउँछन्। स्थानीय सरकारले समेत नाकाबाट निरन्तर मानिस आइरहे राख्ने नसक्ने आफूलाई बताइरहेको उनको भनाई छ।

'स्थानीय सरकार पनि वाक्क दिक्क भएका छन्। कहिलेसम्म आउँछन् मानिस कहिलेसम्म क्वारेन्टाइनमा राख्ने भन्छन्। सधैँ यस्तै हो भने राख्न सकिँदैन भन्ने उनीहरूको गुनासो आइरहेको छ,' उनले भने।

कडाइ गर्न नसक्दा सीमामा बढ्यो चहलपहल

रुपौडिया नाका हुँदै नेपाल प्रवेश गर्ने संख्या रेकर्डमा उल्लेख्य रूपमा कमी आएको भए पनि सिमानामा निर्बाध आवतजावत हुँदा सबै जनाको तथ्याङ्क लिनै कठिन भइरहेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले लकडाउनका बेला समय निर्धारण गरिएकाले कति जना नेपाल आए भन्ने यकिन तथ्याङ्क भए पनि अहिले त्यस्तो अवस्था नभएकाले तथ्याङ्क नभएको बताए।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार मंगलबार १७७ जना जमुनाह नाकाबाट नेपाल प्रवेश गरेका थिए। प्रशासनसँग भएको तथ्याङ्कभन्दा धेरै मानिस भारतबाट आइरहेको तथा केही मानिस भारत पनि गइरहेको प्रशासनको अनुमान छ।

भारतबाट आएकालाई सम्बन्धित जिल्लामा र केही समय राख्नुपर्ने भएमा होल्डिङ सेन्टरमा बस्ने व्यवस्था गरिएको कुरुम्वाङ भनाई छ। उनले सिमानामा अहिले बढेको चहलपहल कडा गर्न नमिल्ने बताए।

'लकडाउन खुलिसकेको छ। मालसामानका लागि भए पनि मानिसहरूको जमघट बढेको छ। नियमन गर्दागर्दै पनि भनेजस्तो भइरहेको छैन। फेरि लकडाउनका बेला जस्तो कडाइ पनि गर्ने अहिले मिलेन,'उनले भने।

जोखिम बढ्यो

रक्सौल नाका हुँदै नेपाल प्रवेश गर्नेको संख्या अहिले फाट्टफुट्ट मात्रै छ। लकडाउनका बेला लुकिछिपी आउनेको संख्या उल्लेख्य भए पनि लकडाउन हटेपछि भारतबाट आउनको संख्या दैनिक घट्दो क्रममा रहेको पर्साका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए। नेपाली नागरिकलाई मात्रै नेपाल प्रवेशको अनुमति दिएकाले पनि नाकाबाट आउनेको संख्या कम भएको उनले बताए।

भारतबाट आउनेलाई पर्सामा बनाइएको होल्डिङ सेन्टरमा राखेर मात्रै सम्बन्धित जिल्लामा पठाउने गरिएको छ। जिल्लाका २६ क्वारेन्टाइनमा राखेर पीसीआर विधिबाट परीक्षण गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए। हाल ५ सय जना क्वारेन्टाइनमा छन्।

भारतबाट आउनेको संख्यामा कम हुँदै गए पनि भीडभाड भने सीमा क्षेत्रमा बढ्दा जोखिम पनि बढ्दै गएको उनले बताए। लकडाउन खुकुलो भएपछि सिमाना क्षेत्रमा वैध तथा अवैध क्रियाकलाप बढेको र त्यसले संक्रमणको जोखिम बढेको उनले बताए।

'मान्छेको चेतना पनि त्यति राम्रो छैन। हामीले चार हजारलाई त मास्क नलगाएको भनेर जरिवाना गरेका छौँ। सिमानामा वैध तथा अवैध क्रियाकलाप बढेका छन्,' उनले भने।

यकिन तथ्याङ्क छैन

झापाको काँकडभिट्टा नाका हुँदै लकडाउनका बेलामा करिब हजार जना नेपाली स्वदेश आउने गरेका थिए। लुकिछिपी आउनेको तथ्याङ्क प्रशासनसँग छैन।

अहिले भने संख्यामा उल्लेख्य मात्रामा कमी आएको छ। दैनिक सय जनाभन्दा बढी मानिस मात्रै भारतबाट नेपाल आउँछन्।

लकडाउनको बेलामा हजारौँ मानिस आए पनि जोखिम कम थियो। तर अहिले आउनेले जोखिम बढाएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए।

पहिला आउनेको सामान्य परीक्षण गरिने तथा यकिन विवरण राख्ने गरेकाले जोखिम कम भए पनि अहिले आउनेको तथ्याङ्क नभएकाले जोखिम बढेको उनको तर्क छ। सिमाना क्षेत्रमा व्यापार व्यवसायका लागि पनि चहल पहल भएपछि जोखिम बढेको उनको भनाई छ।

भारतमा पनि अहिले कोरोनाको संक्रमण बढ्दै गएकाले सिमानाबाट आउनले नेपालीका कारण जोखिम बढिरहेको उनले बताए।

'पहिला नेपालमा पनि लकडाउन थियो। भारतबाट आउनेहरू पनि क्वारेन्टाइन बसेका धेरै थिए। अहिले आउनेहरूलाई नाकामा त्यति कडाइ पनि छैन। जोखिम त घट्नुपर्ने हो तर बढिरहेको छ,'उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell