काठमाडौं : कमलादीमा नक्कली सुन र पेस्तोल बरामद भएको भनिएको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पूर्वी नवलपरासीबाट निलेश सखिया, देवान पटेल र विजय पटेललाई नियन्त्रणमा लिएको हो। तीनै जना भारतीय नागरिक हुन्। उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले भारत भाग्दै गर्दा नवलपरासीबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ।
पक्राउ परेका देवान पटेल सुन पसलमा सुनको जलप लगाउने कालीगढ हुन्। उनी काठमाडौंको न्यूरोडमा परिवारसँग बस्दै आएका थिए। उनका भाई कौशल पटेललाई पनि प्रहरीले अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको छ।
मंगलवार बिहान करिब ९ बजेतिर जाँच गर्ने क्रममा बा६च ५५१९ नम्बरको सिल्भर कलरको स्कर्पियो गाडी कृष्ण पाउरोटीबाट आएको थियो। प्रहरी देखेपछि नरोकी हुइँकियो उक्त गाडी। रोक्न खोज्दा भागेपछि प्रहरीले उक्त गाडीलाई फलो गर्यो। प्रहरीले फलो गर्ने क्रममा गाडीमा रहेका मानिसले सेतो रंगको झोला गाडीबाट बाहिर हुत्त्याए। झोलामा सुन र दुई थान पेस्तोलले भरिएको थियो।
उनीहरु प्रहरी देखेर भागेपछि ठमेलको एक होटेलमा गएर बसेको, त्यसपछि राती नागढुङ्गाबाट ट्याक्सी लिएर गएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। 'उनीहरुले नागढुङ्गा हिँडेर नै पार गरेका छन्। त्यसपछि काठमाडौं पुर्याएर फर्किएको ट्याक्सीलाई पैसा दिएर लगेका थिए,' एक अनुसन्धान अधिकृतले भने।
झोला जाँच गर्दा १५ किलोमध्ये आधा किलोमात्र सुन र बाँकी चाँदीमा सुनको जलप लगाएको भेटिएको प्रहरीले जानकारी दिएको थियो। घटनामा अरु पनि मानिस संलग्न भएको उनीहरुले बयान दिएका छन्। बाँकी संलग्न अभियुक्त स्कर्पियो गाडी लिएर भागेको उनीहरुले बताएका छन्। बाँकी अभियुक्तको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
