रिपव्लिकन सांसद लुइ गोहमर्टलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। टेक्सासबाट प्रतिनिधित्व गर्ने उनले मास्क लगाउन इन्कार गर्दै आएका थिए। संसद भवन क्यापिटलमा मास्कविना आउजाउ गर्दै आएका थिए।
बुधवार राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै टेक्सस जाने कार्यक्रम रहेका उनमा ह्वाइट हाउसमा प्रि-स्क्रिन गर्दा पोजेटिभ देखिएको थियो। आठौं पटकसम्म संसदमा प्रतिनिधित्व गर्ने रिपब्लिकन सांसदले आफूले नियमित कोरोना भाइरस परीक्षण गर्दै आएको भन्दै मास्क नलगाउने बताउँदै आएका थिए।
अमेरिकामा अधिकांश रिपब्लिकन सांसदहरुले मास्क लगाउन इन्कार गर्दै आएका छन्। हालसम्म ६ सांसदमा कोभिड-१९ को संक्रमण पुष्टि भइसकेको छ।
यसैबीच सांसद लुइलाई संक्रमण पुष्टि भएसँगै संसदका सभामुख नेन्सी पेलोसीले संसद बैठकमा उपस्थित हुने सबै सांसदलाई मास्क लगाउन अनिवार्य भएको घोषणा गरेकी छन्।
'सदस्यहरु तथा कर्मचारीहरुलाई संसदको हलमा सबै समय अनिवार्यरुपमा मास्क लगाउनुपर्ने छ,' बुधवार अपरान्हको बैठकमा उनले यस्तो घोषणा गरेकी हुन्। संसदहरुलाई बोल्ने समयमा मात्र मास्क खोल्न अनुमति दिइनेछ।
मास्क नलगाउने सांसद तथा कर्मचारीहरुलाई मास्कविन प्रवेश नदिने उनले बताएकी छिन्। उनको घोषणा अनुरुप संसदका अधिकारीले नयाँ नियम तयार पारेका छन्। संसद भवन प्रवेश गर्न अनिवार्य मुहार छोप्नुपर्ने नियम बनाइएको छ। जुन बिहीवार विहान ८ बजेदेखि लागू भएको छ।
संसद भवनमा खाना खाने बेला अथवा पेय पदार्थ पिउँदा तथा सम्बोधन गर्दा वा अन्तर्वाता दिँदामात्र मास्क खोल्न पाइने र त्यो पनि ६ फिट दुरी कायम गर्नुपर्ने नियम बनाइएको छ।
अमेरिकी सांसदको तल्लो सदनमा मास्क अनिवार्य गरिए पनि माथिल्लो सदन सिनेटमा भने यो नियम लागू गरिएको छैन। तल्लो सदनमा डमोक्रेट्सहरुको बाहुल्यता छ भने माथिल्लो सदनमा रिपब्लिकनको बहुमत छ। यसअघि पनि तल्लो सदनको संसदीय समितिको बैठकमा मास्क लगाउन अनिवार्य गरिएको थियो। तर, रिपब्लिकन सांसदहरुले त्यसलाई उल्लंघन गर्दै आएका थिए।
