PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

हामीलाई त न्याय मिल्यो, अब निर्मलाले पनि न्याय पाउनुपर्छ : डीएसपी जीसी



सविन ढकाल

हामीलाई त न्याय मिल्यो, अब निर्मलाले पनि न्याय पाउनुपर्छ : डीएसपी जीसी

काठमाडौं : कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा मुद्दा खेपिरहेका प्रहरीले सफाइ पाएका छन्। बिहीवार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले उनीहरुलाई सफाइ दिने फैसला सुनाएको हो। करिब दुई वर्ष लामो अदालती प्रकृयापछि ८ जना प्रहरीहरुले सफाइ पाएका छन्।

२०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा खटिएका ८ जना प्रहरी माथि यातना दिएको र प्रमाण नष्ट गरेको मुद्दा लागेको थियो। घटनाको अनुसन्धान गरेका तत्कालीन कञ्चनपुरका एसपी दिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)बाट गएका डीएसपी अंगुर जीसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदमाथि पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको मुद्दा लागेको थियो।

बिहीवार उनीहरुलाई सफाइ दिने फैसला सुनाएको हो। अदालतले सफाइ दिएपछि मुद्दा खेपिरहेका प्रहरीहरुले आफूले न्याय पाएको प्रतिकृया दिएका छन्। केन्द्रीय अनुसन्धान व्यूरोबाट अनुसन्धानको लागि कञ्चनपुर पुगेका डिएसपी अंगुर जीसीले फेरि न्याय मरेको रहेनछ भन्ने पुष्टि भएको बताएका छन्।

'न्याय मरेको रहेनछ। मर्ने पनि छैन भन्ने पुष्टि भएको छ,' निलम्बनमा रहेका डीएसपी जीसीले भने।

उनीहरु विरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेकोमा उजुरी दिएकी थिइन् भने प्रहरीले अभियुक्त भनी सार्वजनिक गरेका दिलिपसिंह विष्टका तर्फबाट दाजु खड्कसिंह विष्टले यातना दिएको आरोपमा उजुरी दिएका थिए।

'हामीमाथि गलत मुद्दा लगाइएको थियो। यो अब प्रमाणित भएको छ,' डीएसपी जिसीले भने।

निलम्बित डीएसपी जीसीमाथि यातना दिएको मुद्दा लागेको थियो। निर्मला हत्या प्रकरणमा प्रहरीले सार्वजनिक गरेका अभियुक्त दिलिप सिंह विष्टलाई यातना दिएर घटनाको साविति बयान दिएको आरोप थियो। अब अदालतले उनको यातना नदिएको भन्ने पुष्टि गरेको छ। त्यसैले पनि अब दिलिप सिंह विष्टलाई पुन: नियन्त्रणमा लिएर अनुसन्धान गर्ने बाटो खुलेको छ। पछिल्लो घटनाक्रमले पनि दिलिपलाई नै इंगित गरिरहेको छ। निर्मलाकी आमा दुर्गादेवी पनि विष्ट बिरुद्ध किटानी जाहेरी दिएकी छिन्। 'मेरो अनुसन्धान गतल थिएन र छैन। घटनाको दोषी दिलिपबाहेक अरु हुनै सक्दैन,' डीएसपी जिसीले भने।

प्रहरीले सार्वजनिक गरेका विष्टको डीएनए नमिलेपछि उनी रिहा भएका थिए। त्यसपछि प्रहरीले डीएनएका आधारमा नै अभियुक्तको खोजी गर्‍यो। तर, पछि डिएनएमा नै त्रुटि भएको निश्कर्ष निस्किएको थियो। 'मेरो यो दुईवर्षको क्षतिपूर्ति त कसैले भर्न सक्दैन। मैले न्याय पाएँ। अब निर्मलाले पनि न्याय पाउनुपर्छ,' डीएसपी जिसीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell