सुर्खेत : कर्णाली प्रदेशमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज थपिएका नयाँ संक्रमितमध्ये प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतको वीरेन्द्रनगरका ४ जना, पञ्चपुरी नगरपालिकाका ३ जना गरी सात जनामा संक्रमण देखिएको छ।
यस्तै, सल्यानको कालीमाटी गाउँपालिकामा दुई जना र बनगाड कुपिन्डे नगरपालिकाका एक जनामा पनि संक्रमण देखिएको छ।
मुगुको छायाँनाथ रारा नगरपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको हो।
त्यस्तै, दैलेख अस्पतालमा गरिएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको छ। आठविस नगरपालिकाका दुई, महाबु गाउँपालिकाका सात जना र भगवतीमाई गाउँपालिकाका एक जना गरी १० जनामा संक्रमण पुष्टि भएको हो। चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परिक्षणमा जाजरकोट भेरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ।
योसँगै कर्णालीमा परीक्षण गरिएको संक्रमितको संख्या १ हजार ९ सय ३७ पुगेको छ भने संक्रमित निको भएर डिस्चार्ज हुनेको संख्या १ हजार ६ सय ९७ जना पुगेको छ।
हाल कर्णालीमा आइसोलेसनमा रहेका र रहने क्रममा रहेका संक्रमित बिरामीको संख्या दुई हजार ३४ जना रहेको छ।
आज मात्रै सुर्खेतबाट ६ जना, दैलेखबाट २ जना, चौरजहारी रुकुमपश्चिमबाट ६ जना, कालिकोटबाट एक गरी जम्मा १५ जना संक्रमण निको भई डिस्चार्ज भएका छन्।
हालसम्म कर्णालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएका ६ जनाको मृत्यु भएको छ।