PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

प्रहरीले सफाइ पाए केही छैन, छोरीको हत्यारा जेल गएको हेर्न पाए पुग्छ : निर्मलाकी आमा



पहिलोपोस्ट

प्रहरीले सफाइ पाए केही छैन, छोरीको हत्यारा जेल गएको हेर्न पाए पुग्छ : निर्मलाकी आमा

काठमाडौं : कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा मुद्दा खेपिरहेका प्रहरीले सफाइ पाएका छन्। २०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा खटिएका ८ जना प्रहरीमाथि यातना दिएको र प्रमाण नष्ट गरेको मुद्दा लागेको थियो।

उनीहरु विरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेकोमा उजुरी दिएकी थिइन्। अभियुक्त भनी सार्वजनिक गरेका दिलिपसिंह विष्टलाई यातना दिएको भन्दै उनका दाजु खड्कसिंह विष्टले यातना दिएको आरोपमा प्रहरीमा उजुरी दिएका थिए। सफाइ पाएपछि निर्मलाकी आमा दुर्गादेवी पन्तले अदालतको निर्णय आफूलाई स्वीकारयोग्य भएको बताइन्।

'मेरो त नामको मात्र थियो उजुरीमा। सबै मिलेर उजुरी दिएको हो। अहिले सफाइ पाए। मलाई केही लागेको छैन। अदालतको निर्णय न हो,' दुर्गाले भनिन्।

घटना अनुसन्धान गरेका तत्कालीन कञ्चनपुरका एसपी दिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)बाट गएका डीएसपी अंगुर जीसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदमाथि पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको मुद्दा लागेको थियो।

'मलाई कसैको जागिर नहोस् भन्ने होइन। मलाई त अपराधी पत्ता लागेर जेल गएको हेर्नमात्र मन छ,' दुर्गादेवीले भनिन्।

दुर्गादेवीले पहिले अरुको लहलहैमा दिलिपसिंह विष्ट अपराधी हुनै नसक्ने बताउँदै आएकी थिइन्। तर, पछिल्लो समय दिलिपको क्रियाकलापले शंकाको घेरामा विष्टबिरुद्ध प्रहरीमा किटानी जाहेरी समेत दिइसकेकी छिन्।

प्रहरीले सार्वजनिक गरेका विष्टको डीएनए नमिलेपछि उनी रिहा भएका थिए। त्यसपछि प्रहरीले डीएनएका आधारमा नै अभियुक्तको खोजी गरेको थियो। तर, पछि संकलित डीएनएमा नै त्रुटि भएको निष्कर्ष निस्किएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell