PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

अनुमानको भरमा लकडाउन अवधिको मनपरी महशुल, विद्युत र खानेपानीको बिल दोब्बर आएपछि उपभोक्ता तनावमा



पी बी खड्का

अनुमानको भरमा लकडाउन अवधिको मनपरी महशुल, विद्युत र खानेपानीको बिल दोब्बर आएपछि उपभोक्ता तनावमा

सुर्खेत : वीरेन्द्रनगर-६ की रामकुमारी खत्रीले खानेपानीको महशुल मासिक एक हजारको हाराहारीमा तिर्दै आएकी छन्। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले चैतको दोस्रो सातादेखि लकडाउन गरेपनि उनले चैत, बैशाख र जेठ महिनाको महशुल तिरिरहिन्। तर, खानेपानी कार्यालयले भने अहिले लकडाउन अवधिसहितको भन्दै १० हजार बढी महशुल बुझाउन ताकेता गरेको छ।

‘सरकारले लकडाउन गरे पनि बैशाख, जेठ, असार महिनाको सरासर बिल तिरेका छौँ’, खत्रीले भनिन्, ‘अहिले सरकारले १०/१० हजार बिल आयो भनेर भन्ने? अहिलेसम्म हजार/बाह्र सय मात्रै आउँथ्यो।’

उनले थपिन्, ‘हामीबाट सरकारले लकडाउनको फाइदा उठाउने?’

यस्तै, वीरेन्द्रनगर-८ का दीर्घ रानाले पनि नियमति बुझाउने विद्युतको महशुल भन्दा असारमा बढी तिरे। लकडाउन अवधि बैशाख, जेठ, असार महिना गरी तीन महिनाको ६ सय तिरेका उनले असारमा एकै महिनाको पाँच सय तिरेका हुन्। उनले लकडाउन हुनु अगाडि मासिक दुई सय मात्रै तिर्ने गरेको बताउँछन्।

‘लकडाउन अगाडी दुई सय मात्रै तिरिन्थ्यो’, उनले भने, ‘लकडाउनको तीन महिना (चैत, बैशाख, जेठ)को ६ सय तिरेको थिए अहिले असारको मात्रै पाँच सय बढी तिरेँ।’

महशुलको विषयमा काण्उटरमा सोधपुछ गर्दा गैरजिम्मेवार तरिकाबाट जवाफ दिने गरेको उनको भनाइ छ।

प्राधिकरणका कर्मचारीलाई उदृत गर्दै भने, ‘मैले एकै महिनाको यति धेरै बिल किन आयो भनेर सोध्दा, तपैको बिल जति हो त्यत्तिनै आको छ भन्नु भयो।’

पछिल्लो समय सुर्खेतमा विद्युतको महशुल र खानेपानी महशुलको विषयमा चर्काे गुनासो बढेको छ। विद्युत र खानेपानी कार्यालयले लकडाउनको मौका छोपेर अस्वभाविक दरको महशुल असुल्न थालेपछि उपभोक्ताको गुनासो बढेको हो। उपभोक्ताले नियमित तिर्दै आएको रकम भन्दा दोब्बर तेब्बर असुलेपछि गुनासो बढेको हो।

लकडाउनका कारण विद्युत र खानेपानी कार्यालयले मिटरको रिडिङ गर्न सकेनन् भने उपभोक्ताले कार्यालयसम्म पुगेर महशुल तिर्न सक्ने अवस्था थिएन।

लकडाउन अवधिमा अनुमान गर्दै महशुल लिने र पछिल्लो समय मिटर रिडिङ गरेर नियमित रकमभन्दा दोब्बर तेब्बर तिर्न लगाउँदा उपभोक्ताहरु मर्कामा परेको भए हिसाव मिलान गर्न सकिने कार्यालयका अधिकारीको भनाइ छ।

यता, केन्द्रको निर्देशनअनुसार फागुन महिनाको खपत युनिटलाई आधार मानेर लकडाउन अवधिको महशुल लिएको विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले जनाएको छ।

‘फागुन महिनाको वास्तविक खपत युनिटको आधारमा रिडिङ हालिएको छ’, केन्द्र प्रमुख टंकराज गिरीले भने, ‘अहिले रिडिङ हुँदा कसैले फागुनमा बढी खपत गरेको छ र चैत, बैशाख, जेठमा कम खपत गरेको छ भने  त्यसै अनुसार घट्ने भो, पहिले कम गरेको थियो अहिले बढी गरेको छ भने त्यही अनुसार बढ्न जान्छ।’

उनले अघि भने, ‘पछिल्लो समय गरेको रिडिङ यक्चुअल हो। अघिल्लो तीन महिनाको अनुमानित थियो।’

हाल सुर्खेतमा मात्रै विद्युतका झण्डै ५० हजार उपभोक्ता छन्। तीन वटा स्थायी काउण्टरबाट महशुल लिन गरिएको छ भने एउटा अस्थायी काण्टरबाट पनि महशुल लिने गरेको छ।

त्यस्तै, झण्डै १९ हजार बढी उपभोक्ता भएको उपत्यका खानेपानी कार्यालयले ८ युनिटसम्मको न्युनतम एक सय रुपैयाँ तिर्नुपर्ने निर्धारण गरेको छ। त्यसमाथि आउने युनिटको महशुलको दर बढाउँदै लगेको छ। खानेपानी कार्यालयले अघिल्लो तीन महिनाको भुक्तानीलाई आधार मान्दै लकडाउन अवधि चैत, बैशाख, जेठ महिनाको महशुल लिएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले जनाएको छ।

‘लकडाउन अवधि चैत, बैशाख, जेठ महिनामा विगत तीन महिना पुस माग फागुन महिनामा जम्मा खपत युनिटको डिभाइड ३ गरेर सफ्टवयरबाट युनिट चढाएको हो’, कार्यालयका प्रमुख डम्बर गौतमले भने, ‘यस सम्बन्धी हामीले सूचना पनि निकालिसकेका छौँ। त्यस्तो बढी आउन गएमा प्रत्यक्ष कार्यालयमा उपस्थित भएर अहिलेको खपत युनिटलाई पछिल्ला दिनहहरुमा मिलान हुने गरी हिसाब मिलान गरिरहेका छौँ।’

लकडाउनको अवधिमा परिवारका सदस्य सबै घरमा बसेको हुँदा पनि युनिट बढी आएको हुन सक्ने कार्यालयको दावी छ। अहिले रिडिङ गर्दा चैत, बैशाख, जेठ महिनाको पनि थपिएर आउँदा अहिले बढी देखिएको र मिलान गर्ने कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell