PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

लकडाउन अन्त्यपछि उपत्यका प्रवेश गर्ने साढे तीन हजारमध्ये २४ जनामा कोरोना संक्रमण पुष्टि



पहिलोपोस्ट

लकडाउन अन्त्यपछि उपत्यका प्रवेश गर्ने साढे तीन हजारमध्ये २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : लकडाउन खुलेसँगै काठमाडौं उपत्यका भित्रिएका २४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका प्रवेश गर्ने नाकाहरुमा यात्रुहरुको थ्रोट स्वाब संकलन गरी परीक्षण गरेको थियो। परीक्षण गरिएका मध्ये २४ जनाको नतिजा पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

मन्त्रालयले काठमाडौं प्रवेश गर्ने तीन वटा नाकामा शिविर खडा गरी स्वाब संकलन गरेको थियो। १० हजार स्वाब संकलन गर्ने लक्ष्यसहित सुरु गरिएको परीक्षणमा हालसम्म ८ हजार ४०१ जनाको स्वाब संकलन गरिएको मन्त्रालयले जनाएको छ।

जसमध्ये तीन हजार ४७३ नमुना परीक्षण गरिएकोमा २४ जनाको नतिजा पोजेटिभ आएको हो। पोजेटिभ आएका मध्ये नागढुंगाबाट प्रवेश गर्ने तीन जना छन्। नागढुंगाबाट प्रवेश गरेका चार हजार ७१० जनाको नमुना संकलन गरिएकोमा दुई हजार ३०२ जनाको नमुना परीक्षण गरिएको छ।

त्यस्तै फर्पिङबाट काठमाडौं प्रवेश गर्ने एक हजार २८२ जनाको स्वाब संकलन गरिएकोमा ७४१ नमुना परीक्षण गरिएको छ। परीक्षण गरिएका नमुना मध्ये १० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

साँगाबाट उपत्यका प्रवेश गर्ने दुई हजार ४०९ जनाको थ्रोट स्वाब संकलन गरिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। जसमध्ये ४३० नमुना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell