PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ओलीसँग वारपारको मुडमा प्रचण्ड-नेपाल समूहः गुटका नेतालाई 'कित्ता क्लियर' गराउने, एकतर्फी भए पनि स्थायी कमिटी डाक्ने



प्रकाश भण्डारी

ओलीसँग वारपारको मुडमा प्रचण्ड-नेपाल समूहः गुटका नेतालाई 'कित्ता क्लियर' गराउने, एकतर्फी भए पनि स्थायी कमिटी डाक्ने

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को १३ गतेको स्थायी कमिटी बैठक विवादित बन्यो। प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले स्थगित गरेको बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरु गरे। ओली समूहको बहिस्कारबीच बैठक बोलाएका प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बैठक स्थगित गर्नु विधान विपरीत भएको निर्णयसमेत गर्‍यो। बैठकलाई ओली समूहले गुट भेलामात्रै भएको दाबी गरिरहेको छ। प्रचण्ड-नेपाल समूहले पार्टीकै बैठक भएको जिकीर गरिरहेको छ।

यसबीच १५२ सदस्यले केन्द्रीय कमिटीको माग गरेको पत्र पार्टीमा बुझाएका छन्। सचिवालय, स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा प्रवेश गर्न लागेको विवाद झनै पेचिलो बनिरहेको छ। दुवै समूह आ-आफ्नो रणनीति तय गरिरहेका छन्।

दोस्रो तहका नेताको कित्ता क्लियर गरिँदै

आन्तरिक विवाद समाधानका लागि प्रचण्ड–नेपाल समूह दुई दिन कुर्ने पक्षमा देखिन्छ। त्यसपछि एकतर्फी भए पनि स्थायी कमिटी बैठकको तयारी भइरहेको छ। दुई दिनभित्र आफ्ना पक्षका नेतालाई कित्ता क्लियर गर्न भनिएको छ।

बामदेव गौतमले ६ बुँदे प्रस्ताव ल्याएर ओलीलाई सहयोग गरेको र सरकारमा सहभागी मन्त्रीहरूले पनि ढुलमुले चरित्र देखाएको भन्दै उनीहरूलाई कुन समूहको हो आफूलाई स्पष्ट गर्न भनिएको प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले जानकारी दिए। दोस्रो तहका नेताहरुमध्ये पनि केही नेताले अझै आफू कुन समूहको हो भन्ने प्रस्ट नपारेकाले उनीहरूलाई पनि आफ्नो समूह छुट्ट्याउन भनिएको छ।

'योगेश भट्टराईजीले भनिसक्नु भएको छ। पहिला उहाँको बारेमा पनि कतातिर हो भन्ने कुरा भइरहेको थियो। यस्ता अरू नेताहरू पनि छन्। दोस्रो तहका भनिएकाहरूको बारेमा पनि अहिले शंका गर्न थालिएको छ,' ती नेताले भने।

निर्णय गर्ने बेलासम्म नेताहरूको गुट फेरबदल भइरहने ती नेताले बताए। उनका अनुसार अबको केही दिनमा बाँकी नेताहरूले समेत आफ्नो समूह फेरबदल गर्नेछन्।

एकतर्फी बैठक राख्ने रणनीति

बामदेव गौतमले १३ गतेकै बैठकमा पार्टी फुटाउने खालको गतिविधि भए आफू कुनै समूहमा नरहने बताएका थिए। तर उनले बालुवाटारमा भएको बैठकमा ओलीलाई नै आफ्नो साथ नभएको बरु उनी पार्टी एकता विरोधी गतिविधि गरिरहेकाले रोक्नका लागि मात्रै ६ बुँदे प्रस्ताव गरेको प्रचण्ड-नेपाललाई स्पष्टीकरण दिएका थिए।

१३ गतेको बैठकपछि प्रचण्डले आफू निकटका नेताहरूसँग छलफल तीव्र रूपले अघि बढाएको ती नेताले बताए। ओली समूहले बैठकलाई गुट भेला भनेको भए पनि ओलीले फेरि बैठक बोलाउने सहमति जनाएनन् भने प्रचण्ड-नेपालले भने एकतर्फी बैठकको मिति तय गर्ने तयारी गरिरहेका छन्।

ओलीले अस्वीकार गरेमा बहुमतको निर्णय गर्ने सन्देश दिनका लागि पनि १३ गतेको बैठक नरोकिएको ती नेताको दाबी छ।

'अब बैठक बस्न असजिलो छैन। १३ गतेकै जसरी बैठक बस्न सक्छ। त्यतिञ्जेल अब कित्ताकाट हुने मात्रै हो,' प्रचण्ड निकट नेताले भने।

ओलीले सहमतिका लागि जस्ता उपाय अपनाए पनि प्रचण्ड एक पद नछोडेसम्म पछि नहट्ने मनस्थितिमा छन्। अरू विषयमा सहमति हुन सक्ने भए पनि उनले दुईमध्ये एक पद नछाडेसम्म विवाद कायम रहने छ।

'जे जति कुरा सतहमा आए पनि जहाँ जसले जे बोले पनि खासमा प्रचण्डको विचार भनेकै ओलीलाई एउटा पदबाट हटाउने हो। उहाँले एउटा पद नछोडेसम्म कुरा मिल्दैन,' उनले भने।

प्रचण्डले यसपटक उधारो सम्झौता गर्ने सम्भावना न्यून रहेको उनको भनाई छ। पुराना सहमतिको पालनाले मात्रै पनि प्रचण्ड मान्ने पक्षमा छैनन्।

'एकतर्फी बैठकको वैधानिक हुन्न'

तर ओली पक्ष भने एकतर्फी बैठक राखे त्यसलाई वैधानिक मान्ने पक्षमा छैन। ओलीनिकट मानिने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले १३ गतेको बैठक पनि गुट भेलामात्रै भएको बताए। पार्टीको बैठक स्थगित भएकाले त्यसलाई बैठक भन्न नमिल्ने उनको तर्क छ। उनले फेरि पनि त्यसैगरी बैठक बसे त्यो पनि वैधानिक नहुने र आ-आफ्नो समूहमा छलफल गर्न सबैलाई छुट भएको उनले बताए।

'बैठक त पार्टीले स्थगित गरिसेकेको थियो। त्यो कसरी बैठक भयो। भेला छलफल गर्न सबैले पाइहाल्छन्। फेरि पनि यस्ता भेला होलान् नहोलान् भन्न सकिन्न। तर पार्टीको बैठकको मिति दुई अध्यक्षको सहमतिमा मात्रै तय हुन्छ,' उनले भने।

पार्टीको महासचिवले सुनाएको निर्णयलाई कसैले पनि चुनौती दिन नसक्ने उनको भनाई छ। ओलीले एकतर्फी रूपमा बैठक स्थगित गरेर पार्टीको विधान विपरीत काम गरेको प्रचण्ड-नेपाल समूहले आरोप लगाए पनि नेता नेम्वाङले प्रचण्डसँगको सल्लाहमै १३ गतेको बैठक स्थगित गरिएको दाबी गरे।

'पार्टी अलग अलग हुने सम्भावना बढी'

पार्टी फुटाउन ओलीले निर्वाचन आयोगमा 'एमाले' पार्टी दर्ता गराएको प्रचण्डले आरोप लगाउँदै आएका छन्। त्यस्तै प्रचण्ड जनताको बहुदलीय जनवाद (जबज) लाई पनि सहर्ष स्वीकार गर्ने पक्षमा देखिँदैनन्।

त्यसैले प्रचण्ड निकट ती नेताका अनुसार केपी ओलीले दुईमध्ये एक पद नछोडेमा पार्टी फुट्ने सम्भावना धेरै छ। उनी पार्टीको विधि विधानको जे जति कुरा भए पनि ओलीले एउटा पद छाड्नै पर्ने नभए पार्टी टुक्रिने दाबी गर्छन्। 'पद छोड्नु त उहाँले पर्छ नै। त्यसका लागि अब उहाँले के कस्तो सजिलो बाटो रोज्नुहुन्छ कुरा त्यतिमात्र हो। तर पद नछोडे पार्टी एक भएर बस्न सक्छ जस्तो लाग्दैन। एक हिसाबले यो पदको भागबन्डा नमिले भनेर बुझ्न पनि सकिन्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell