काठमाडौँ: युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ६ जना बोर्ड सदस्य मनोनीत गरेको छ। राखेपका अध्यक्षसमेत रहेका मन्त्री जगतबहादुर विश्वकर्माले विभिन्न क्षेत्रबाट ६ जनालाई मनोनयन गरेका हुन्।
मनोनीत हुनेमा खेलकुद विज्ञ, प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टी डोपिङ विज्ञ रहेका छन्। जसमा रिम रानाभाट, इन्दिरा निरौला, अर्जुन केसी, सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठ, गोविन्दप्रसाद भट्टराई रहेका छन्।
साथै अन्य क्षेत्रबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको मनोनयनलाई पूर्णता दिने क्रममा रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
खेलकुद विकास ऐन कार्यान्वयनमा आएसँगै रिक्त भएको पदमा बुधवार सदस्य सचिवमा रमेशकुमार सिलवाल र उपाध्यक्षमा शिव कोइरालाले शपथ ग्रहण गरेका थिए। त्यसपछि मन्त्रालयले राखेपको बोर्डमा सदस्य मनोनयन अघि बढाएको हो।

