काठमाडौँः पूर्व न्यायाधीश फोरमले रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्धको पुनरावलोकन निवेदनको शीघ्र सुनुवाइ गर्न आग्रह गरेको छ। प्रधानन्यायाधीश र केही न्यायाधीशको कार्यसम्पादनको विषयले समग्र न्यायपालिकाप्रतिकै जनआस्थामा प्रश्न उठाइनु गम्भीर भएको फोरमको निष्कर्ष छ।
फोरमका उपाध्यक्ष टोपबहादुर सिंहले विज्ञप्ति जारी गर्दै पुनरावलोकन अनुमति पाइसकेको हकमा मुद्दाको शीघ्र सुनुवाइ गर्न आग्रह गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘न्याय सम्पादनमा संलग्न न्यायाधीशहरु मध्ये प्रधानन्यायाधीशको विशिष्ट स्थान र सम्मान रहेको परिप्रेक्ष्यमा प्रधानन्यायाधीशको कार्यक्षमता, संस्थाप्रतिको निष्ठा, इमानदारिता र न्याय सम्पादनको पृष्ठभूमिको आधारमा सिङ्गो न्यायपालिकाको मूल्याङ्कन हुने गर्दछ। तर अहिले न्यायपालिकाको समग्र नेतृत्व गर्ने प्रधानन्यायाधीश र सर्वोच्च अदालतका केही न्यायाधीशहरुको कार्यक्षमता र निष्ठाउपर नै प्रश्न उठेकाले न्यायपालिकाको विश्वसनीयता जोगाउन वैधानिक प्रक्रियाद्वारा समस्याको सम्वोधन गर्न जिम्मेवार संवैधानिक निकायले आफ्नो संवैधानिक कर्तव्य निर्वाह गर्नका लागि ध्यानाकर्षण गराएका छौँ। साथै वर्तमान अवस्थामा विवाद उठाइएको रञ्जनप्रसाद कोइरालाको मुद्दामा पुनरावलोकनको अनुमति प्रदान भइसकेको परिप्रेक्ष्यमा विलम्व नगरी शीघ्र सुनुवाइको अपेक्षा राखिएको छ।’
विज्ञप्तिमा अदालत र न्यायाधीशको मूल्याङ्कनको आधार नै जनआस्था भएकोतर्फ ध्यानाकर्षण गराइएको छ। जनआस्था अभिवृद्धिले मात्र न्यायपालिकाको विश्वसनीयता बढ्ने फोरमको विज्ञप्तिमा उल्लेख छ।
