काठमाडौं : सरकारले बाढी, पहिरो तथा डुबानजस्ता विपदमा मृत्यु हुनेका परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।
परिवारमा एकजना सदस्यको विपदमा परी मृत्यु भएमा २ लाख र अन्य व्यक्तिको मृत्यु भएमा त्यसमा थप एक लाख रुपैयाँ राहत दिइने सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए। राहत वितरण गर्दा कतै दोहोरीने र कसैले नपाउने गुनासो आउने गरेका कारण त्यसको अन्त्य गर्न सरकारले एकद्वार प्रणालीबाट राहत उपलब्ध गराउने नीति लिएको उनले बताए।
उनले भने, ‘संघ, प्रदेश र स्थानीय तह गरी तीन तहबाटै राहत जाँदा कहीँ दोहोरो तेहेरो पर्ने र कसैले पाउँदै नपाउने स्थिति नहोस् भनेर एकद्वार भनिएको हो। राहतमा हामीले पट्के निर्णय गर्दा मन्त्रिपरिषद्मा आइराख्ने र ढिलो हुने र राहत पाउन पनि महिनौँ लाग्ने र सरकार पनि आलोचित हुने। त्यो नहोस् भनेर अहिलेचाहिँ मापदण्ड तयार गरिएको हो।’
उनले मानविय क्षति बाहेक घर, आवास, बाली तथा अन्य भौतिक नोक्सानी भएका परिवारलाई पनि उचित राहतको व्यवस्था गरिएको बताए।
यस्तै, सरकारले नेपाली दूतावास मस्कटको चान्सरी र राजदूत निवास निर्माणका लागि छुट्याएको कूटनीतिक क्षेत्रमा वार्षिक ओमानी मुद्रा ५ सय बैजा अर्थात ६ लाख ३७ हजार ७ सय ३५ नेपाली रुपैयाँ २० वर्षसम्मका लागि जग्गा भाडामा लिन सम्झौता गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।
त्यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १० हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेशनलाई २० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार महसुल छुट गरी आयात स्वीकृति दिने निर्णय पनि गरेको छ।
सरकारले नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ५ अर्ब ९६ करोड बराबरको ऋण तथा अनुदान सहायतामा वार्ताका लागि अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ।
