PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पार्टीको हालत लथालिंग बनाएको देउवाले नै हो, असफल भइसकेकालाई ल्याए राम्रो हुँदैन : प्रकाशमान सिंह



नेत्र तामाङ

पार्टीको हालत लथालिंग बनाएको देउवाले नै हो, असफल भइसकेकालाई ल्याए राम्रो हुँदैन : प्रकाशमान सिंह

यतिबेला नेपाली काँग्रेस १४ औं महाधिवेशनको तयारीमा जुटेको छ। पार्टीका नेता तथा कार्यकर्ता आउँदो ४ वर्षका लागि नयाँ नेतृत्व छान्ने दौडधुपमा लागिसकेका छन्। मंसिर मसान्तसम्ममा क्रियाशील सदस्यताको टुंगो लागिसक्नुपर्ने बाध्यता काँग्रेससामु छ। कोरोना महामारी आइनपरेको भए यतिबेला काँग्रेसले यो काम सकिसक्थ्यो। यद्यपि, काँग्रेस महाधिवेशनकै मेलोमा पसिसकेको छ।

महाधिवेशन नजिकिएकै बेला सभापति शेरबहादुर देउवाले विभागहरु विस्तार गरिरहेका छन् भने उनी इतरका नेताहरुले यस कदमको विरोध गरिरहेका छन्। देउवाको कदमलाई निष्पक्ष आलोचना गर्दै आएका र संसदीय दलका नेतामासमेत प्रतिस्पर्धा गरेका प्रकाशमान सिंहले पनि सभापतिको कदमको विरोध गर्दै आएका छन्। पार्टी सभापतिको कदम र आउँदो महाधिवेशनबारे नेता सिंहसँग नेत्र तामाङले गरेको कुराकानीको अंश :

अहिले काँग्रेसमा विभाग गठनको किचलो छ, खास विवाद के हो?

१३ औं महाधिवेशन पार्टीको विधानअनुसार भयो। जुन विधान अनुसार चुनाव भयो, अधिवेशन भएको २ महिनाभित्र गर्नुपर्ने कामहरु अहिले पार्टी सभापतिले चार वर्षको कार्यकाल सकेर गरिरहनु भएको छ। कार्यकाल सकेर एक वर्ष थपियो। त्यो पनि अब अन्तिम अन्तिममा आइसक्यो। महाधिवेशन तिथि मिति पनि तोकिसकेको छ। महाधिवेशन सकेको दुई महिनाभित्र गठन गर्नुपर्ने विभागहरु यतिबेला गठन गर्ने हो त? डेमोक्रेटिक पार्टीभित्र यस्तो अनडेमोक्रेटिक काम गर्न त भएन नि।

यो विधान विपरीत नै हो त?

होलसोल विधान विपरीत हो नि। निर्वाचन प्रक्रिया शुरु भइसकेको छ। डेमोक्रेटिक पार्टीमा महाधिवेशन फ्रि एन्ड फेयर हुनुपर्ने, देखिनु पर्ने। यो दुवै भएन।

प्रजातन्त्रको पर्याय भनेर काँग्रेसलाई चिनिन्छ। त्यसो भए काँग्रेसभित्रै यस्तो अधिनायकवाद?

डेमोक्रेसीको पर्याय काँग्रेस हो। स्ट्रगल गरेको पार्टी हो। भएर पनि न्युनतम रुपमा हुनुपर्ने अभ्यास भएन। एक्सरसाइज गर्न सकेन न्युनतम रुपमा पनि। गाउँमा, वडामा हुनुपर्ने हो। कागजमा मात्र गरेर त भएन नि।

त्यसो भए हुनुपर्ने के त?

होलसोल संस्थागत हुनुपर्ने हो। वर्तमान नेतृत्वले त्यसो गर्न सकेन। फङ्सनलेस भयो पार्टी। पार्टी पनि मान्छेजस्तै त हो नि। ब्रेन र मुटु बलियो भए भने मान्छेले पूरा काम गर्छ। केन्द्रीय कार्य समितिले नै ठाउँमा काम नगरेपछि जिल्लाले कसरी गर्छ? भ्रातृ संगठनले कसरी गर्छ। पार्टी नै ठाउँमा हुनुपर्‍यो। १३ औं महाधिवेशनबाट आएका पदाधिकारी पार्टीको विधानअनुसार इमान्दारितापूर्वक काम नगरेकैले पार्टी कमजोर जस्तो देखेको छ। यो सबैतिर देखिएकै कुरा हो नि।

यसमा पार्टी सभापति कति जिम्मेवार, तपाईँहरु कति जिम्मेवार?

जिम्मेवारी त केन्द्रीय सदस्यको हैसियतले हाम्रो पनि होला। तर, लिड गर्ने त पदाधिकारीले हो। अझ मेन त पार्टी सभापति हो नि। जिम्मेवारी सबभन्दा बढी हुन्छ नि। वर्किङ कमिटीको पनि होला।

अर्को, काँग्रेसको कमजोरी भनेको ए काँग्रेस, बी काँग्रेस, सी काँग्रेस छ। नेपाली काँग्रेस कताकता? काँग्रेसलाई केन्द्रविन्दुमा राखेर त्यसको आदर्श र सिद्धान्तलाई आधार मानेर जनताको सेवा गर्नलाई तयार हुनुपर्‍यो।

महाधिवेशन नजिकिएको छ। कसरी हेर्नुभएको छ तपाईँले?

१४ ‍औ महाधिवेशन जीवन मरणको सवाल हो काँग्रेसका लागि। अहिले काँग्रेस संस्थागत नभएको कारण यो दुरावस्थामा पुगेको हो। काँग्रेसको सिद्धान्त, आदर्श सबै राम्रो छ। हिस्ट्री पनि राम्रो छ। काँग्रेसले जति संषर्घ कसले गरेको छ?

पहिलो संविधानसभामा कम्युनिस्टलाई संविधान जारी गर भनेर जनताले मत दिएकै हो। तर, सरकार परिवर्तन गरेर बसे। दोस्रो संविधान सभामा काँग्रेसले संविधान जारी गर्‍यो। काँग्रेसले कम्युनिस्टले गर्न नसकेको काम गर्‍यो। जसले नेतृत्व गरेको हो त्यसले मत पाउनुपर्ने हो। तर, पाएन। यसको मतलब काँग्रेसमा केही कमजोरी होला नि।

अहिले पनि नेकपा सरकार छ। यो सरकारको औचित्य सकियो भनेर काँग्रेसले बेलाबेला भनिरहेको छ। तर, काँग्रेस आफै भने यति कमजोर किन त?

पार्लियामेन्टमा त हामीले सबै इस्युमा सक्दो आवाज उठाइरहेका छौं। पार्टीले गर्नुपर्ने काम गरिरहेका छौं। काँग्रेस डेमोक्रेटिक पार्टी हो। १३ औं महाधिवेशनमा सभापति चुनियो। काम कर्तव्य र अधिकार हुन्छ नि सभापतिको। तर, सभापति हुने व्यक्तिले आफ्नो काम कर्तव्य र अधिकार समयमा कार्यन्यन गर्न सकेनन्। यही कारणले पार्टी लथालिंग अवस्थामा छ।

नेकपाको दुई तिहाई छ। छ प्रदेशमा सरकार छ। संविधानको मर्म विपरीत काम गरिरहेको छ। यो जनवादी केन्द्रीयता ल्याउन खोजेको देखिन्छ।

तर, काँग्रेसले यही सरकारका कामलाई सपोर्ट गरिरहेको देखिन्छ?

ओलीको सरकार राजनीतिक रुपमा र वैधानिक रुपमा असक्षम भइसकेको भन्दै यो नेतृत्वको सरकार औचित्यहीन भन्दै पार्टी सभापतिकै सभापतित्वमा केन्द्रीय समितिले पास गरिसकेको हो त। पार्टी सभापति स्वयंले हेर्नुपर्ने हो नि यसबारे त।

त्यही कारणले अब आउने महाधिवेशनमा टिम एकदम राम्रो, त्यसमा पनि पार्टी सभापति वर्कर्सहरु एकदम भरपर्ने खालको उम्मेदवार सभापति बन्नुपर्‍यो।

असफल नेतृत्वको कारणले काँग्रेसको अस्तित्व नै छ कि छैन भन्ने दुरावस्था बनाएको छ। महाधिवेशनपछि तुरुन्तै पार्टीलाई राम्रो अवस्थामा ल्याउन काम गर्नुपर्ने अवस्था आएको छ।

गाउँदेखि केन्द्र लेभलसम्म इन्टरएक्ट गरेर मन्थन गरेर आम जनतामा काँग्रेस प्राप्त गरेका अधिकारलाई सुरक्षित गर्दै काँग्रेसले लिड गर्छ। कार्यक्रम दिनुपर्‍यो। युवा, विद्यार्थी, महिला, जेष्ठ नागरिकलाई के दिने? त्यो बनाएर यसपटक हामीलाई म्यान्डेट देउ भनेर लाग्नुपर्‍यो नि।

यसको मतलब अब नेतृत्व परिवर्तन हुनुपर्छ भन्नेमै हो तपाईँ?

मैले देखेको १४ औं महाधिवेशनबाट आम कार्यकर्ता र आम जनतामा समयको माग बमोजिम नेतृत्व ल्याउनुपर्‍यो। फेलियर लिडर नै ल्याए राम्रो हुँदैन काँग्रेसलाई।

तर, देउवा छाड्ने मुडमा हुनुहुन्न त?

उहाँले इनपुट लिइराख्नु भएकै होला। उहाँकै कार्यकालमा पार्टीको हालत यस्तो भएको छ।

यसले देखाउँछ सबै नछोड्ने पक्षमा, त्याग भन्ने संस्कार काँग्रेसमा सकिएको हो?

२०४६ सालसम्म काँग्रेस प्रतिबन्धित थियो। ज्यूत्यू त्यतिबेला भ्यालु बेस राजनीति भयो। तर, जब प्रजातन्त्र आयो, त्यसपछि काँग्रेस पावर पोलिटिक्समा लाग्यो। काँग्रेसको कमजोरी पक्ष त्यही भयो। पन्छायो भ्यालु बेस राजनीति। त्यसपछि विसंगति आयो। काँग्रेस डेमोक्रेटिक पार्टी भए पनि त्यसपछि हुनुपर्ने न्युनतम एक्सरसाइज भएन। अहिले काँग्रेसको कमजोर पक्ष आइडेन्टिफाइ भइसकेको छ। १४ औं महाधिवेशनले सशक्त रुपमा जनताको भरपर्दो रुपमा अघि बढ्छ। नेतृत्व परिवर्तन हो। इमान्दार नेतृत्वको हातमा पुर्‍याउँछ।

हालको नेतृत्व परिवर्तनका लागि तपाईँहरुको टिम कसरी बन्छ?

पार्टी उहाँ (देउवा)को नेतृत्वमा चल्दैन भन्ने हामी एक भएर छलफल गर्दैछौं। नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने जोसजसलाई लागेको छ उहाँहरुबीच छलफल चल्दैछ।

आकांक्षी त तपाईँहरुतिर नि धेरै देखियो नि?

महाधिवेशन प्रतिनिधिले छिनोफनो गर्छ नि यो त। शेरबहादुर असफल भएका छन्। अब पनि दोहोरिने त कुरै भएन। खारिएको लाई अघि सारे हुन्छ भन्ने मलाई लाग्छ।

अल्टरनेटिभ नेतृत्व दिनुपर्छ भन्ने छ नै। हाम्रो मिटिङहरु भइरहेको छ। समय आएपछि हामी नेतृत्वको तयारी गर्छौं।

तपाईँको आफ्नै तयारी चाहिँ के छ?

मलाई पनि धेरैले क्लेम गर्नुपर्छ भनेका छन्। काठमाडौं जिल्लाकै नेविसंघको अध्यक्ष हुँदै काठमाडौं जिल्ला सभापति भएँ। १० औं महाधिवेशन अघिसम्म म जिल्ला सभापति भएँ। केन्द्रीय कार्यसमितिमा मलाई थर्ड हाइएस्ट भोट मिल्यो। प्रशंसा त मैले पाएको छु नि। पार्टीको उपसभापति भइसकेँ। पार्टीको निर्वाचित महामन्त्री पनि हुँ। आफ्नो जिम्मेवारी र काम पनि गरिसकेँ। पटकपटक मन्त्री पनि भइसकेँ। उपप्रधानमन्त्री भइसकेँ। संसदीय दलको उपनेता पनि भइसकेँ। सबैले मलाई आशा गरेका छन्। नेचुरल क्लेम गर्नु भनेर सबैले भनिरहेका छन्। गर्‍यो भने राम्रो हुन्छ। संगठन बुझेको छु।

भ्यालीबाट पार्टी सभापति कोही छैन भन्छन्। बेला आएको छ अगाडि बढ्नुपर्‍यो पनि भन्छन्। नेपाली काँग्रेस मच्योर हातमा पर्‍यो भने राम्रो हुन्छ भन्ने आश पनि छ। यसलाई मिट गर्न छलफल भइरहेको छ। मलाई विश्वास छ। समयको माग बमोजिम हाम्रो उम्मेद्वारी हुन्छ। कमन ग्राउन्डमा नेतृत्व परिवर्तन गराउन हामी छलफलमै छौं। ठीक समयमा ठीक नेतृत्वको दाबेदारी हुन्छ।

अहिले काँग्रेसले कारबाहीको कैची पनि चलायो, काँग्रेस कता लागेको हो?

खारिएका नेतालाई कारबाही भयो। अरु पार्टीबाट चाहि प्रवेश गराउने। यो राम्रो म्यासेज गएको छैन। पार्टी सभापतिले आफ्नो पक्षमा ल्याउन यो कारबाही गरेको हो। अनडेमोक्रेटिक तवरले उहाँ पार्टी कब्जाको बाटोमा लाग्नुभयो।

यसले पार्टीलाई कतिको हानी गर्छ त?

यो त चुनावमा देखिहाल्छ नि। महाधिवेशनको मिति तोकिसकेपछि त्यसो गर्नु राम्रो होइन। तर्साउन खोजियो। पार्टीलाई ह्याम्पर गर्छ। नेगेटिभ इम्प्याक्ट पार्छ नि।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell