
बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरण अब उनकी प्रेमिका रिया चक्रवर्तीतर्फ केन्द्रीत भएको छ। पिता केके सिंहले उनीविरुद्ध गम्भीर आरोप लगाउँदै पटना प्रहरीमा उजुरी दिएपछि मुद्दाले नयाँ मोड लिएको हो।
प्रहरीले रियाविरुद्ध अनुसन्धान गरिरहेका बेला सुशान्त एक नजिकका साथी सिद्धार्थ पिठानीले आफूलाई सुशान्तको परिवारले रियाविरुद्ध वयान दिन दबाब दिएको आरोप लगाएका छन्।
मुम्बई बान्द्रा प्रहरीलाई इमेल पठाउँदै सिद्धार्थले सुशान्तको परिवारबाट आफूलाई जानकारी नै नभएको कुरामा झुठो वयान दिन दबाब आएको दावी गरेका छन्। उनले २८ जुलाईमा प्रहरीलाई इमेल लेखेका थिए।
पिठानीले लेखेका छन्, ‘मलाई रियाविरुद्ध बयान दिनका लागि दबाब बढाइएको छ। जुन कुरा मलाई थाहा छैन त्यहीँ कुरा बोल्न भनिएको छ।’
सुशान्तको परिवारले सिद्धार्थसँग सुशान्त र रियाको आर्थिक अपचलनबारे वयान दिन भनेका हुन्। सुशान्तका पिताले आफ्नो उजुरीमा सुशान्तको खातामा १७ करोड रहेकोमा एक महिनाभित्र १५ करोड गायव भएको भन्दै रियामाथि प्रश्न उठाएका छन्।