PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बाढी प्रभावितको उद्धार गर्ने क्रममा चिप्लिएर बेपत्ता भएका एक पुरुषको शव फेला



एम बम

बाढी प्रभावितको उद्धार गर्ने क्रममा चिप्लिएर बेपत्ता भएका एक पुरुषको शव फेला

कैलाली : बाढीले बगाएर बेपत्ता भएका थप एक पुरुषको शव फेला परेको छ। बुधवार बेपत्ता भएका कैलालीको भजनी नगरपालिका ८ का ४० वर्षीय ईश्वर शाहको शव शुक्रवार मध्यान्ह फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार शाहको शव बेपत्ता भएको ठाउँबाट १ किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा अड्किएको अवस्थामा फेला परेको हो। उनी बाढीका कारण समस्यामा परेका स्थानीयको उद्धार गर्ने क्रममा चिप्लिएर बेपत्ता भएका थिए।

बेपत्ता भएका भजनीकै तीन जनामध्ये जनकपुरका ११ वर्षीय स्केल चौधरीको शव बिहीवार बेलुका भेटिएको थियो। भजनी नगरपालिका ८ का चक्र बिक भने अझै बेपत्ता रहेको प्रहरी प्रवक्ता विष्टले जानकारी दिए। शुक्रवार पानी पर्ने क्रम रोकिएकाले खोजी कार्यमा सहज भइरहेको र उनको खोजी जारी रहेको प्रहरीको भनाइ छ।

बुधवार सोही ठाउँमा बाढीमा बगेका तीन जनाको भने सकुशल उद्धार गरिएको थियो। पथरैया र कान्द्रा नदीको बाढी गाउँमा पसेपछि उनीहरू बगेका थिए।

बुधवारको बाढीका कारण कैलालीको भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकामा गरी ६ हजार ३ सय २० घरधुरी प्रभावित भएका छन्। तीमध्ये २ हजार भन्दा बढी परिवार विस्थापित भएका छन्। उनीहरू अहिले विद्यालय, हुलाकी सडक लगायतका ठाउँमा बसिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell