
सन् १९२९ को नोभेम्बर। एक कन्नड परिवारमा जन्मिएकी हुन् शकुन्तला देवी। जन्मेको केही दिनमा एक विद्वानले उनको हस्तरेखा हेर्दै भनेका थिए – यो बालिका भाग्यमानी छिन्।
उनको परिवारले सोचेको थियो – छोरी ठूलो भएर नामी गायिका वा नृत्याङ्गना बन्छिन्। परिवारको नाम राख्छिन्।
तर, उनले त परिवारको मात्र होइन पूरै देशको नाम चर्चामा ल्याइन्। महिला भएकै कारण उ शारीरिक अनि बौद्धिक रुपमा उ कमजोर हुन्छे भन्ने सामाजिक मान्यता विपरित प्रस्तुत भइन् उनी। गणितज्ञ, ज्योतिषी, लेखक, बाँसुरी वादकका रुपमा चिनिँदै गइन्। उनको विलक्षण प्रतिभाको चर्चा भयो।
सन् १९८२ मा शकुन्तलाले १३ अंक भएका दुई फरक नम्बरका गुणन २८ सेकेन्डमा गरेर गिनिज बुकमा नाम लेखाएकी थिइन्। बीबीसी हिन्दीले जनाए अनुसार उनको ज्योतिष विद्याको चर्चा देशका ठूला नेताहरूले गर्थे। उनीसँग भविष्यका सल्लाह लिन्थे। सुझाव स्वीकार्थे।
शकुन्तला उमेरले ३ वर्षको हुँदा उनका बुवासँग तास खेल्दै थिइन्। सोही समय उनका बुवाले उनीमा भएको गणित सम्बन्धी विलक्षण प्रतिभा चिनेका थिए। पाँच वर्षको उमेरदेखि त उनी गणितका हिसावहरू सुल्झाउन थालिन्।
उमेरले ४ वर्षको हुनुअघि उनले युनिभर्सिटी अफ मैसूरमा आयोजित एक कार्यक्रममा सहभागी भइन्। त्यस लगत्तै देश विदेशमा उनको गणितको ज्ञानको खबर फैलियो।
शकुन्तलाका बुवा सर्कसमा काम गर्थे। कमाइ खान, लगाउन ठीक्क। जसका कारण शकुन्तला स्कूल जानबाट बञ्चित रहिन्।
बीबीसीसँग उनले भनेकी छिन्,'म अङ्ग्रेजी बोल्छु। अङ्ग्रेजी किताव पनि लेखेकी छु। तमिल भाषामा पनि लेख्छु, पढ्छु। यी कुराहरू मैले स्कूल गएर सिकेको होइन।'
यी सबैलाई अभ्यासको फल मान्छिन् उनी।
शकुन्तलाका लागि गणित 'कन्सेप्ट र लजिक' हो। भन्छिन्,'गणित सत्य हो।'
सन् १९७७ मा अमरीकामा शकुन्तला भर्सेस कम्प्यूटर दिइएको अंकहरूको घनमूल निकाल्ने प्रतियोगिता भयो। जसमा शकुन्तलाले जीत हासिल गरेको दावी छ।
सन् १९८० मा लण्डनस्थित इम्पिरियल कलेजमा उनले १३ अंकका दुई संख्याको गुणन २८ सेकेन्डमा गरेको बताइन्छ। लामा लामा संख्याको हिसाब केही सेकेन्डमै गर्ने शकुन्तलामाथि क्यालिफोर्नीया विश्वविद्यालयका मनोविज्ञानका प्रोफेसर अर्थर जेसनले अध्ययन समेत गरेका छन्।
शकुन्तला देवीले सन् १९७७ मा 'दि वर्ल्ड अफ होमोसेक्सुअल्स' नामक किताब समेत लेखिन्। उक्त किताब भारतमा समलैंगिकता सम्बन्धी पहिलो किताब मानिन्छ।
ह्युमन कम्पूटरको नामले समेत चिनिएकी शकुन्तला देवीको जीवनका केही पाटालाई पर्दामा उतारएको छ। अनु मेननको निर्देशनमा शकुन्तला देवीको बायोपिक बनेको हो। शकुन्तलाको भूमिका अभिनेत्री विद्या बालनले निभाएकी छिन्।