PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

कोभिड रोकथामका लागि स्थानीय तहले आवश्यक कदम चाल्न सक्ने प्रदेश १ सरकारको निर्णय



फूलमाया पुरी

कोभिड रोकथामका लागि स्थानीय तहले आवश्यक कदम चाल्न सक्ने प्रदेश १ सरकारको निर्णय

विराटनगर : कोभिड १९ संक्रमणको अवस्था विश्लेषण गरी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले आवश्यक कदम चाल्न सक्ने भएको छ।

प्रदेश १ को सरकारले स्थानीय तहलाई आवश्यक कदम चाल्न सक्ने गरी शुक्रवार बसेको बैठकले निर्णय गरेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको अध्यक्षमा मन्त्रालयमा शुक्रवार बसेको बैठकले परिस्थितिको विश्लेषण गरी कोरोनाको रोकथाम तथा नियन्त्रण गर्न सम्बन्धित स्थानीय तहहरुले आवश्यक कदम चाल्न सक्ने निर्णय गरेको हो।

बैठकले सामाजिक विकास मन्त्रालयले पीसीआर परीक्षणको संख्या र दायरा बढाउने निर्णय गरेको कार्कीले बताए। त्यस्तै प्रदेश सरकारले कोभिड १९ संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी उनीहरुको पीसीआर परीक्षण गराउने पनि निर्णय गरेको छ।

बैठकले नेपाल सरकारले जारी गरेको कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पालना गर्नुपर्ने स्वास्थ्य सम्बन्धी मापदण्ड जारी गर्ने निर्णय पनि बैठकमा गरिएको छ। सर्वसाधारण नागरिक, कर्मचारी तथा कामदार कार्यालय, उद्योग धन्दा व्यापार व्यवसायले सार्वजनिक स्थल, सार्वजनिक यातायात तथा कार्यस्थलमा पालना गर्नुपर्ने स्वास्थ्य र सुरक्षा सम्बन्धी मापदण्डलाई एकीकृत गरी सामाजिक विकास मन्त्रालयले निर्दशन जारी गर्नेछ।

मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, सामाजिक संघ संस्था, सञ्चारकर्मीलाई आग्रह गर्ने र मापदण्ड पालना नगर्ने व्यक्ति तथा निकायलाई कानून बमोजिम कारवाही गरिने पनि निर्णय गरिएको छ।

त्यससँगै कोशी कोभिड अस्पतालको हालको शय्या विस्तार गरिने भएको छ भने आइसोलेसन केन्द्रहरुको विस्तार गर्ने निर्णय गरिएको मन्त्रालयका सचिव कार्कीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell