PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

कोभिड-१९ अपडेट : हालसम्मकै सबैभन्दा बढी परीक्षण, उपत्यकामा ३८ सहित २२४ जनामा संक्रमण पुष्टि



विधुर ढकाल

कोभिड-१९ अपडेट : हालसम्मकै सबैभन्दा बढी परीक्षण, उपत्यकामा ३८ सहित २२४ जनामा संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै परीक्षण भएको छ। देशभरका २९ प्रयोगशालामा गरिएको १० हजार ७६८ जनाको नमुना परीक्षणका क्रममा २२४ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा हालसम्म १९ हजार ७७१ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी पर्सा जिल्लाका ४१ जना रहेका छन्। त्यस्तै, काठमाडौंका ३२ जनासहित उपत्यकामा ३८ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएकामध्ये विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा भएको परीक्षणमा झापाका १, कोशी अस्पतालमा भएको परीक्षणमा झापाकै १२ र मोरङका १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा जनकपुरमा धनुषा, सर्लाही र बाराका १/१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, नारायणी अस्पताल प्रयोगशालामा भएको परीक्षणमा बाराका २, पर्साका ४१ र रौतहटका १ जनामा संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बझाङका २५, कैलालीका १५, काठमाडौंका ८ र नुवाकोटका २ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये शुक्रराज ट्रपिकल अस्पताल प्रयोगशालामा बाराका १, काठमाडौंका ३ तथा, ललितपुर र रौतहटका २/२ जनामा संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल प्रयोगशालामा नवलपरासी पूर्वका १ तथा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा मकवानपुरका १ जनामा संक्रमण पुष्टि भएको छ।

धुलिखेल अस्पताल प्रयोगशालामा दार्चुलाका १६ र कञ्चनपुरका १८ तथा पाटन अस्पताल प्रयोगशालामा सप्तरीका १ काठमाडौं र ललितपुरका २/२ जनामा संक्रमण पुष्टि भएको छ।

कोरिया मैत्री क्यान्सर अस्पताल भक्तपुरमा भक्तपुरकै १ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका १ तथा क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा कास्की र तनहुँका १/१ तथा म्याग्दीका २ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा रुपन्देहीकै १ र गुल्मीका २ जनामा संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल प्रयोगशालामा बाँके, दैलेख र दाङका १/१ जना तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका १ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि हुनेमा डडेलधुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका १० र डोटीका १ जनामा संक्रमण पुष्टि भएको छ।

वीरगंजका २८ स्वास्थ्यकर्मीमा संक्रमण

यसैबीच, संक्रमण पुष्टि भएकामध्ये २८ जना त्यहाँका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिए।

संक्रमण पुष्टि भएकामध्ये ८ चिकित्सक ६ नर्सिङ स्टाफ तथा ४ पारामेडिक्ससहित २८ जना रहेको उनले जानकारी दिए। चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचारमा संलग्न हुँदा अपनाउनुपर्ने सावधानी अपनाउन नसक्दा संक्रमण पुष्टि भएको भन्दै पीपीई मास्कलगायतका व्यक्तिगत सुरक्षाका सामाग्री लगाएर मात्र उपचारमा सहभागि हुन उनले अनुरोध गरे।

यसैबीच, पछिल्लो २४ घण्टामा २२४ जना डिस्चार्ज भएका छन्। संक्रमण पुष्टि भएकामध्ये हालसम्म १४ हजार ३९९ जना डिस्चार्ज भइसकेका छन्। जुन ७२.८ प्रतिशत हो। त्यस्तै, आइसोलेसनमा हाल ५३१६ जना रहेका छन्।

संक्रमण पुष्टि भएकामध्ये ५६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। आजैमात्र ४ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell