काठमाडौं: राष्ट्रिय पुनर्निर्माण प्रधाधिकरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली लगानी बोर्डको अन्तर्वार्तामा अनुपस्थित भएका छन्।
बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि शुक्रवार भएको अन्तर्वार्तामा ज्ञवाली सहभागी नभएका हुन्। बोर्डको सीईओका लागि आवेदन दिएका ज्ञवाली प्रबल दावेदार थिए। उनी नेकपा महासचिव विष्णु पौडेल निकट मानिन्छन्।
महाप्रसाद अधिकारी कार्यकाल बाँकी रहँदै नेपाल राष्ट्र बैंकको गभर्नर भएपछि रिक्त सीईओ पदका लागि १२ जनाको दरखास्त परेकोमा ज्ञवालीसहित पाँच जनालाई मन्त्रिपरिषद्ले अर्थमन्त्रीको संयोजकत्वमा गठन गरेको सिफारिस समितिले कार्यसम्पादन प्रस्तुति र अन्तर्वार्ताका लागि छनोट गरेको थियो। अन्तर्वार्ताको मिति आज तय भएको थियो। तर ज्ञवाली सहभागी नभएर बोर्ड सीईओको दौडबाट बाहिरिएका हुन्।
ज्ञवालीसँगै सीईओको दौडमा राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्ट, विद्युत् नियमन आयोगका पूर्वसदस्य रामकृष्ण खतिवडा, प्रदेश १ लगानी प्राधिकरणका सीईओ सरोज कोइराला र पूर्वसहसचिव लक्ष्मीविलास कोइराला छन्।
सिइओ छनोट गर्न सरकारले अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल र आयोगका पूर्वसदस्य गोविन्द नेपाल सदस्य रहेको सिफारिस समिति गठन गरेको छ। समितिले तीन जनाको नाम छनोट गरी मन्त्रिपरिषद् बैठकमा पेस गर्नेछ। त्यसमध्ये एक जनालाई सीईओ नियुक्त गरिनेछ।
अन्तर्वार्ता किन गएनन् ज्ञवाली?
हाल पुनर्निर्माण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञवालीले पुनर्निर्माणका काम टुंग्याउन बाँकी रहेकाले आफू बोर्डको सीईओ दौडबाट पछि हटेको बताए।
‘बोर्डमा गएर काम गरौं भन्ने थियो। सबैसँग सरसल्लाह गर्दा पुनर्निर्माण नसकिएको भन्ने सुझाव आएपछि पछि हटें,’ उनले भने, ‘कोरोनाका कारणले सकिनै लागेको पुनर्निर्माणको काम सम्पन्न हुन सकेन। थप समयमा अन्तिम रुप दिनुपर्छ भन्ने भयो।’ बोर्डबाट पछि हट्न पार्टी तथा अन्य ठाउँबाट दबाब नआएको उनले स्पष्ट पारे।
ज्ञवालीले यसै आर्थिक वर्षभित्र पुनर्निर्माणको काम सक्काउने आफ्नो लक्ष्य रहेको बताए। ‘धरहरा, रानीपोखरी, सिंहदरबार, पुरातात्विक सम्पदाको पुनर्निर्माण, निजी आवासको काम टुंग्याउने सोच छ,’ उनले भने, ‘विपन्न वर्गका केही आवाज पुनर्निर्माण बाँकी छ।’
आफूले बोर्डमा आवेदन दिँदा यतिञ्जेल पुनर्निर्माणको ओभरअल सकिन्छ भन्ने लागेको बताउँदै उनले भने, ‘कोरोनाले ४/५ महिना पिक काम गर्ने समय लस भयो।’
ज्ञवालीले पुनर्निमार्णको ७६ प्रतिशत काम सम्पन्न भइसकेको पनि जानकारी दिए। ‘यो आर्थिक वर्षमा मुलभूत रुपमा पुनर्निर्माणका सबै काम सक्छौं,’ ज्ञवालीले भने।
कोरोना महामारीले बजेटमा प्रभाव पारे पनि सरकारले पुनर्निर्माणमा अभाव हुन नदिने प्रतिबद्धता जनाएको उनले सुनाए। ‘सरकारले पुनर्निर्माणमा बजेट कमी हुन्न दिन्न भनेको छ। त्यसकारण यो वर्ष फुल फेजमै काम गर्छौं,’ उनले भने।
ज्ञवाली केपीशर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पुनर्निर्माण प्राधिकरणका सीईओ बनेका थिए। शेरबहादुर देउवाको पालामा हटाइएका उनी ओली फेरि प्रधानमन्त्री भएपछि दोस्रोपटक सीईओ बनेर हालसम्म कायम छन्।