PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

स्थायी समितिमा पकड बनाउँदै ओली, आफू निकटकै शंकाको घेरामा प्रचण्ड



कुञ्जरमणि भट्टराई

स्थायी समितिमा पकड बनाउँदै ओली, आफू निकटकै शंकाको घेरामा प्रचण्ड

काठमाडौँ : आन्तरिक विवादमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुमल्लिएको निकै समय बितिसकेको छ। कोरोना कहरबीचमै आन्तरिक विवाद उत्कर्षमा पुगेपछि गत वैशाखमा केही समय विषयान्तर भयो। तर, मध्य असारबाट नेकपाको आन्तरिक विवादको तापक्रम बढिरहेकै छ। असार १० बाट जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भइसकेको छ। प्रधानमन्त्री र पार्टी अध्यक्ष पद समेत सम्हालिरहेका ओलीसँग वारपारको रणनीति लिएर सुरु भएको स्थायी समिति बैठक भने पछिल्लो दिनमा बस्न सकेको छैन। साउन १३ गतेबाट बैठक अनिश्चितकालका लागि स्थगित छ। तर, स्थगन प्रकरण भने विवादमुक्त छैन।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउने रणनीतिसाथ सुरु भएको स्थायी समितिमा पछिल्ला दिन ओली नै बलियो बन्दै गएका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूह निर्णायक बन्न सकेको छैन। प्रचण्ड-नेपाल निकटहरु पनि कुनै न कुनै रुपमा ओलीकै पक्षमा देखिन थालेपछि गुटमा थप दबाब बढ्दै गएको छ। त्यसैले आफू निकटलाई नै कित्ता क्लियर गराउने योजनामा प्रचण्ड नेपाल समूह पुगेको छ। जुन अस्त्र पार्टीमा रक्षात्मक अवस्थामा पुगेका प्रधानमन्त्री ओलीले एकपटक प्रयोग गरिसकेका छन्।

स्थायी समिति स्थगित भएपछि पनि ओलीले गुट बलियो बनाउन निकै कसरत गरिरहेका छन्। प्रचण्ड नेपाल समूह पनि आफ्ना पक्षका नेताहरुसँग स्पष्ट हुन अनौपचारिक भेला गरिरहेकै छ।

दुबै पक्ष अहिले आफ्नो समूहलाई एकीकृत गर्ने प्रयासमा छन्। मध्यमार्गी लाइन लिएका नेताहरुलाई तान्ने प्रयासमा दुबै समूह छन्। नेतृत्वसँग असन्तुष्ट रहेका नेताहरु पछि शीर्ष नेताहरुसँग परामर्शमा छन्।

स्थायी समिति स्थगित भए पनि द्धिपक्षीय गुट भेला रोकिएका छैनन्। पछिल्ला दिनमा ओली स्थायी समितिमा आफ्नो पक्षमा पकड बढाइरहेका छन्। प्रचण्ड भने आफ्नै निकटको शंकाको घेरामा जेलिएका छन्।

पछिल्लो समय प्रचण्ड निकट रहेका केही नेताहरु स्पष्ट रुपमा प्रधानमन्त्री ओलीले उठाएका विषयलाई समर्थन गरिरहेका छन्। गृहमन्त्री समेत रहेका रामबहादुर थापा, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, स्थायी समिति सदस्यहरु टोपबहादुर रायमाझी र मणि थापासमेत प्रधानमन्त्रीसँग सम्झौता गर्न प्रचण्डलाई दबाब बढाइरहेका छन्। भट्ट र रायमाझी भने आन्तरिक राजनीतिमा प्रचण्डसँग पछिल्लो समयमा रुष्ट छन्। पूर्व एमाले निकटका नेतालाई आफ्नो भौगोलिक राजनीतिमा प्रचण्डले च्यापेकोमा उनीहरु प्रचण्डसँग असन्तुष्ट भएका हुन्। ओलीलाई प्रधानमन्त्री र अध्यक्ष कायम राख्न तर, कार्यकारी अधिकार स्पष्ट पार्न प्रचण्डलाई सुझाव दिइरहेका छन्।

द्वन्दकालदेखि नै निकै निकट रहेका हरिबोल गजुरेल, देवेन्द्र पौडेल समेत प्रचण्डसँग असन्तुष्ट छन्। नेपाल निकट रहेका दुई मन्त्री घनश्याम भुसाल र योगेश भट्टराईको भूमिकामा समेत गुटभित्र आलोचना भइरहेको छ। भुसाल र भट्टराई तत्काल ओलीलाई प्रधानमन्त्री नहटाउने पक्षमा नै विचार राख्दै आएका छन्।

बिहीबार मात्र प्रधानमन्त्री ओलीले हरिबोल गजुरेल, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, मणि थाप, जनार्दन शर्मा पौडेलसहित मन्त्रीद्वय वर्षमान पुन र शक्ति बस्नेतसँग परामर्श गरेका छन्। जसमा साउन १३ गतेको स्थायी समिति भेलामा नगएका नेता पनि सहभागी थिए।

भेटमा ओलीले पार्टी एकताको पक्षमा भूमिका खेल्न आग्रह गरेका छन्। केन्द्रीय सदस्यहरुले हस्ताक्षर संकलन गरेर आफूमाथि कारबाहीका लागि दबाब दिएको भन्दै ओलीले असन्तुष्टि जनाएका छन्। बैठकको माग आवरणमात्र भएको दाबी ओलीले पूर्व माओवादी नेताहरुसँग गरेका छन्।

भेटमा ओलीले प्रचण्डको पछिल्लो भूमिकाप्रति भने प्रशंसा गरेका छन्।

‘प्रधानमन्त्री प्रचण्डको हकमा भने खुसी पायौँ। पार्टी एकताप्रति जिम्मेवारी रहेर विभाजनलाई प्रचण्डकै प्रयासले टरेको समेत बताउनुभयो। हामी उहाँ निकट छौँ भनेर पनि भनिएको हुनसक्छ तर, अब निष्कर्षमुखी बैठक गर्छु भन्नुभयो। विभाजनको मुखबाट पार्टीलाई प्रचण्डले जोगाउनुभयो भनेर प्रशंसा नै गर्नुभयो’, भेटमा सहभागी एक नेताले भने।

ओलीको सन्देश ती नेताहरुले बिहीबार साँझ नै खुमलटार समेत पुर्‍याएका थिए।

यस्तै, प्रचण्ड नेपाल समूहले पनि बिहीबार नै पुल्चोकमा आफ्ना पक्षका नेतासँग अनौपचारिक छलफल गरेका थिए। अनौपचारिक भेलामा स्थायी समिति बैठकमा भएको आधिकारिता विवाद तथा पछिल्लो समयमा नेताहरुले फेरेको भूमिकाबारे विमर्श भएको स्रोतको दाबी छ। उक्त भेलामा आफ्ना सदस्यहरुलाई भूमिका स्पष्ट पार्नेबारेमा पनि छलफल भएको छ।

किन एक्लिए प्रचण्ड?

प्रचण्ड निकट नेताहरुको आरोप छ–पछिल्लो समय उनी पूर्व एमालेका नेताहरुसँग मात्र परामर्शमा काम गरिरहेका छन्। आफूहरुसँग परामर्श नै नगरेका विषयमा अपनत्वका लागिमात्र प्रचण्डले भनिरहेका छन्। जसका कारण कुनै बेला प्रचण्डलाई निकै साथ दिएका हरिबोल गजुरेल, देवेन्द्र पौडेल समेत पछिल्लो समय रुष्ट छन्।

‘एउटै मञ्चमा दुई नेता राख्ने अनि फलानो तपाईँको क्षेत्रको नेता हो यसैमा गोलबद्ध हुनुस् भन्ने? माधव नेपाल, भीम रावल, रघुजी पन्तले बनाएका योजनामा दौडने अनि अफ्ठेरो पर्दा अपनत्व चाहिँ हामीले लिनुपर्ने? यस्तै हो भने हामी त उहाँलाई साथ छाड्न बाध्य नै हुन्छौँ’, प्रचण्ड निकट एक स्थायी समिति सदस्यले भने।

प्रचण्डले पछिल्लोपटक निकै दबाबपछि मात्र पूर्व माओवादीमात्रको भेला खुमलटारमा बोलाएका थिए। जसमा मुख्य गुनासो नै प्रचण्डले आफूहरुसँग परामर्श गर्न छाडेको थियो। विगतमा कतिपय शीर्ष नेतालाई उपयोग गरेजस्तै प्रचण्डले आफूलाई संख्याका लागिमात्र उपयोग गरेको र कुनै पनि अवसरका लागि प्रयत्न नै नगरेको उनीहरुको आरोप छ।

अध्यक्षको यही क्रियाकलापका कारण झन्डै दश स्थायी समिति सदस्य प्रचण्डसँग असहयोगको नीति लिइरहेको दाबी प्रचण्ड निकटहरुकै छ।

बामदेवको प्रस्ताव सहमतिमा

स्थायी समितिलाई तरङ्गित बनाएको उपाध्यक्ष बामदेव गौतमको ६ बुँदे प्रस्ताव सहमतिमै आएको ओली प्रचण्ड दुबै समूहका दोस्रो तहका नेताहरुको दाबी छ। तत्काल बहुमतीय प्रक्रियाबाट ओलीलाई नहटाउनेमा प्रचण्ड स्वयम लचक बनेपछि दुबै नेताको सहमतिमा बामदेवले प्रस्ताव ल्याएको स्रोतको दाबी छ।

ओली र प्रचण्ड निकट दुबै समूहका स्थायी समिति सदस्यहरुको दाबी अनुसार पार्टी एकतालाई निरन्तरता दिन दुबै अध्यक्षको सहमतिमा प्रस्ताव आएको हो। तर, पूर्व एमालेकै माधव नेपाल समूह प्रचण्डसँग असन्तुष्ट हुने भन्दै उक्त प्रस्तावलाई बामदेवको एकल प्रस्तावको रुपमा पेस गरिएको हो।

ती स्थायी समिति सदस्यका अनुसार अध्यक्ष प्रचण्डले महासचिव विष्णु पौडेललाई स्थायी समितिका बाँकी एजेण्डा र गौतमको प्रस्तावमा छलफल गर्नेगरी बैठक बोलाउन निर्देशन दिइसकेका छन्। तर, प्रधानमन्त्री ओलीले अनौपचारिक रुपमा प्रचण्डसँग छलफलपछि मिति तय गर्ने आफू निकटसँग बताएका छन्। जसकारण बैठकको मिति प्रस्तावित भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell