- महेन्द्रबहादुर पाण्डे -
नेपाल र चीनबीच पूरानो सम्बन्ध छ, कूटनीतिक मात्रै नभई सभ्यता र परम्परागत पनि। सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच औपचारिक रुपमा कूटनीतिक सम्बन्ध कायम भएको थियो। जसले दुई देश र जनताबीचको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ युगमा प्रवेश गराएको थियो।
सोही समयदेखि नै दुई देशबीच आपसी हितमा द्विपक्षीय सम्बन्धले निरन्तरता पाएको छ। नेपाल-चीनबीचको सम्बन्धमा सधैँ नै समानता र सद्भाव तथा आपसी समर्थन र सहयोग रहँदै आएको छ।
शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त तथा असल छिमेकीको रुपमा स्थापित दुई देशबीचको सम्बन्ध साढे ६ दशकयता अझै सुदृढ हुँदै गएको छ।
व्यापार, पर्यटन, लगानी र ‘कनेक्टिभिटी’मा सहयोग बढाउने तथा मानव संयन्त्र र पूर्वाधार निर्माण गर्दै जनता-जनताबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै लैजानु दुई देशबीचको सम्बन्धको कडी बनेको छ।
गत वर्ष राष्ट्रपति स्तरमा भएको भ्रमणले दुई देशबीचको पारस्परिक तथा लाभदायिक द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको छ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले २०१९ को अप्रिलमा चीन भ्रमण गरेकी थिइन् भने चिनियाँ राष्ट्रपति सी जिनपिङ अक्टोबरमा नेपाल भ्रमणमा आएका थिए। यी भ्रमणहरुमा दुई देशबीचको द्विपक्षीय सहयोगलाई वृद्धि गरी आपसी लाभ, स्थिरता र विकासको गतिमा सँगसँगै जाने सहमति भएको थियो।
नेपालले सधैँ नै ‘एकचीन नीति’को समर्थन गरेको छ, त्यसको फलस्वरुप नेपाली भूमिमा चीन विरोधी क्रियाकलाप हुन दिएको छैन। केही वर्ष यता नेपालमा ऐतिहासिक राजनीतिक परिवर्तन भएता पनि नेपालले सो नीति परिवर्तन गरेको छैन र भविष्यमा पनि परिवर्तन गर्ने छैन।
आपसी समझदारी र विश्वासको बलियो आधारशिलामा रहेर दुई देशबीचको आपसी सम्बन्धीलाई विस्तार गर्ने बाटोमा दुवै देश लागेका छन्। पछिल्ला वर्षहरुमा पूर्वाधार निर्माण, कनेक्टिभिटी विस्तार तथा जनता-जनताबीचको आपसी सम्बन्धलाई बढावा दिने कार्यमा दुवै देशले उपलब्धी हासिल गरेका छन्।
त्यसका साथै आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य वृद्धि गरी सामाजिक आर्थिक रूपान्तरण तथा जनताको जीवनस्तर उकास्ने सम्भावनाहरु पनि प्रशस्त देखिएका छन्।
‘बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआइ)’मा आपसी समझदारी हुँदा नेपाल र चीन दुवै देशलाई फाइदा पुगेको छ। गत वर्षको राष्ट्रपति स्तरीय भ्रमणका क्रममा बीआरआइ अन्तर्गत ‘ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’को कार्यान्वयनमा दुवै पक्षले जोड दिएका थिए।
चीनको स्वशासित क्षेत्र तिब्बतको जिलोङदेखि नेपालको राजधानी काठमाडौसम्म सुरुङ निमार्ण, नेपालमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माण, कोशी, गण्डकी र कर्णालीमा तीन उत्तर दक्षिण करिडोर निर्माण तथा नेपाल चीन विद्युतिय उर्जा सहयोग योजना पूर्वाधार विकासमा हुन लागेको महत्वपूर्ण कामहरु हुन्। राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा सो सहमति भएको थियो।
‘बीआरआइ’ परियोजनामार्फत महत्वपूर्ण पूर्वाधार निर्माणमा सहयोग पुग्नुको साथै नेपाल-चीन नाकामा आवातजावत तथा ढुवानीमा भइरहको अवरोध हट्ने विश्वास लिइएको छ।
यातायात पहुँचको विस्तारले दुई देशबीचको व्यापार र वाणिज्यमा वृद्धि हुने विश्वास लिइएको छ। ‘ट्रेड कनेक्टिभिटी’को अभिवृद्धि गर्नु दुवै देशको साझा उद्देश्य हो।
कोभिड-१९ पान्डेमिकका कारण विश्वभर नै आर्थिक गतिविधि ठप्प भएको अवस्थामा यसले नेपाल जस्तो विकासोन्मुख देशको सामाजिक आर्थिक विकासमा थप चुनौति तेर्साएको छ। पान्डेमिकको अवधिमा नेपाल-चीनबीच पान्डेमिकविरुद्ध लड्न आपसी सहयोग मजबुद भएको छ। स्वास्थ्य सहयोग, मेडिकल सामग्रीको आपूर्ति तथा विशेषज्ञताको आदानप्रदानमा दुवै देश कटिबद्ध भएर एकसाथ लागेका छन्।
कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम, अर्थ व्यवस्था र जनताहरुको जीवनस्तर उकास्ने कार्यमा दुई देशबीचको आपसी समझदारी लामो समयसम्म कायम रहने विश्वास लिइएको छ।
शान्ति, स्थिरता र समृद्धि प्राप्तिको लागि चीनले चालेको कदमको नेपाली जनताले उच्च कदर गरेको छन्। चीनले समृद्धि प्राप्त गर्न गरेको प्रयासमा हाम्रो समर्थन छ। पान्डेमिकको चुनौतिका बावजुद पनि चीनले यस वर्षको अन्त्यसम्ममा मध्यम समृद्धि हासिल गर्ने पहिलो शताब्दी लक्ष्य पूरा हुनेछ भन्ने विश्वास लिएका छौँ।
चीनको निरन्तरको प्रगति र स्थिरताले नेपालको आर्थिक विकास र सामाजिक प्रगतिमा बहुमूल्य योगदान पुग्नेछ भन्ने हाम्रो विश्वास रहेको छ। हाम्रो साझा भौगोलिक र साझा वातावरणका साथसाथै साझा सपना र साझा आकांक्षाले साझा विकास र समृद्धि सार्थक हुनेछ।
नेपाल र चीनले द्विपक्षीय मित्रता, आपसी सद्भाव र सहयोगको क्षेत्रमा एक भएर काम गर्नेछन् भन्ने विश्वास लिएका छौँ। पान्डेमिकविरुद्धको लडाईमा एकसाथ लागेर आर्थिक विकास तथा जीवनस्तर उकास्ने काममा दुवै देशले हातेमालो गर्नेछन् भन्ने हाम्रो आशा छ।
(चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेको चाइना डेलीमा प्रकाशित लेखको भावानुवाद)
