
काठमाडौं : आज अगस्ट १ नेपाल चीनबीच रहँदै आएको मैत्री तथा सांस्कृतिक सम्बन्धलाई कुटनीतिक रुपमा औपचारिकता प्रदान गरेको ६५ वर्ष पूर् भएको छ। सन् १९५५ मा औपचारिक रुपमा दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भयो।
कुटनीतिक सम्बन्ध स्थापनाको ६४ वर्ष पूरा गरेको उपलक्ष्यमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँग मिलेर काम गर्दै अगाडि बढ्न चाहेको बताएका छन्। राष्ट्रपति सीले नेपाली समकक्षी राष्ट्रपति विद्या देवी भण्डारीलाई सन्देश पठाउँदै नेपाल र चीनबीच कुटनीतिक सम्बन्धको महत्त्व दर्शाउँदै नेपाली समकक्षीसँग द्वीपक्षीय सम्बन्धलाई थप माथि उठाउन मिलेर काम गर्ने बताएका हुन्।
उनले दुई देशबीचका जनताको फाइदाका लागि मिलेर काम गर्ने तथा क्षेत्रीय स्थायित्व र विकासका लागि सकारात्मक भूमिका खेल्ने बताएका छन्। उनले गत वर्ष नेपालमा भएको आफ्नो भ्रमणलाई स्मरण गर्दै भ्रमणले दुई देशबीचको द्वीपक्षी सम्बन्ध रणनीतिक साझेदारीमा बदलिएको बताएका छन्। विकास र समृद्धिका लागि अनन्तकालसम्मको सम्बन्धको रुपमा अगाडि बढेको उनले जनाएका छन्।
राष्ट्रपति सीले चीनले नेपाललाई हरसम्भव सहयोग गरिरहेको भन्दै कोभिड-१९ विरुद्धको संयुक्त लडाई दुई देशबीचको मित्रताको नयाँ अध्याय भएकोसमेत बताएका छन्।
‘चीन नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुवै देशले उक अर्कालाई बराबरको सम्मान दिएका छन्। राजनीतिक आपसी समझदारी विकास गर्दै सामुहिक फाइदाका क्षेत्रमा साझेदारी गर्दै आएका छन्,’ राष्ट्रपति सीले अगाडि भनेका छन्।
यसैबीच राष्ट्रपति भण्डारीले पनि पत्र पठाउँदै चीनले नेपाललाई दिँदै आएको सहयोग प्रति आभार व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारी मानवजातिका साझा भविष्यका लागि चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरई)को स्वागत गर्दै नेपाल सहभागी भएको बताएकी छन्। उनले नेपाललाई कोभिड-१९ विरुद्ध लड्न चीनले प्रदान गरेको सहयोगभन्दै धन्यावाद दिएकी छिन्।
उनले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट प्राप्त सहयोग र कोभिड–१९ महामारीविरुद्ध अत्यावश्यक औषधि र उपकरणका साथै ज्ञान र अनुभव बाँडेकामा सराहना गरेकी छिन्।
साथै राष्ट्रपति भण्डारीले दुई देशबीच भएका सन्धी सम्झौताको कार्यान्वयन गर्दै चीनसँग मिलेर काम गर्ने बताएकी छन्। चीनले हासिल गरेको विकास र समृद्धिको प्रशंसा गर्दै राष्ट्रपतिले चीनको दुई शताब्दीको विकास लक्ष्य प्राप्तिमा सफलताको शुभकामना पनि व्यक्त गरिन्।
यता चिनियाँ प्रधानमन्त्री ली ख्छ्याङले समकक्षी केपी शर्मा ओलीलाई बधाई सन्देश पठाउँदै कोभिड-१९ विरुद्धको लडाईमा दुई देश मिलेर काम गरिरहेको र यसले दुई देशबीचको आपसी विश्वास र मित्रता थप बलियो बन्दै गएको बताएका छन्।
उनले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनका लागि चीन नेपालसँग वृहत साझेदारीलाई बलियो बनाउँदै काम गर्न चाहेको बताएका छन्। ‘चीन नेपालसँग सबै क्षेत्रमा प्रकारका साझेदारीलाई बलियो बढाउँदै अगाडि बढ्न चाहन्छ र बेल्ट एण्ड रोडको उच्च गुणस्तर निर्माण तथा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन चाहन्छ,’ प्रधानमन्त्री लीले भनेका छन्।
प्रधानमन्त्री ओलीले पनि नेपाल नबीचको सम्बन्ध स्थायी र स्वस्थ ढंगले अगाडि बढेको भन्दै माहामारीको बेलामा मिलेर काम गरिरहेको र आर्थिक उदयका क्षेत्रमा पनि चीनसँग मिलेर काम गर्ने बताएका छन्।