काठमाडौं : केही दिनदेखि प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यारत प्रहरीमा कोरोना संक्रमणको सङ्ख्या बढिरहेको छ। कोरोना संक्रमण देखिएका प्रहरी कार्यरत विभागलाई सिल गरेर अन्य प्रहरीको कन्ट्र्याक्ट ट्रेसिङ भइरहेको छ। संचार र सवारी शाखामा कार्यरत प्रहरीमा कोरोना देखिएपछि हेडक्वाटरमा कार्यरत अन्य प्रहरी पनि सशंकित भइरहेका छन्।
शंकाको घेरामा रहेका प्रहरीमा परीक्षण भइरहेको छ। हेडक्वाटरको प्रहरीको कोरोना संक्रमणको कनेक्सन प्रतिनिधिसभाका सभामुखको सरकारी निवास बालुवाटरसम्म पुगेको छ। सभामुख अग्नि सापकोटाको सुरक्षामा निवासमा खटिएका एक प्रहरीलाई कोरोना पुष्टि भएको छ।
पहिलो पटक हेडक्वाटरमा कार्यरत ४ जना प्रहरीमा प्रहरीमा कोरोना देखिएको थियो। त्यसपछि उनीहरुको सम्पर्कमा रहेकाको लहरो खोज्दै जाँदा थप प्रहरीमा कोरोना देखिएको हो। अहिलेसम्म हेडक्वाटरमा नै रहेका ७२ जनाभन्दा बढीमा कोरोना देखिएको छ। सभामुखको सुरक्षामा खटिएका प्रहरी पनि हेडक्वाटर जाने आउने क्रममा बाक्लै थियो। उनी प्रहरीको सवारी शाखातिर कार्यारत प्रहरी हुन्। त्यसपछि उनको प्रहरी अस्पताल महाजगंजमा कोरोना परिक्षण गरिएको थियो। त्यसमा उनको कोरोना पोजेटिभ देखियो।
उनमा कोरोना पोजेटिभ देखिएपछि सभामुख लगायत अन्यको परीक्षण गरिएको छ। शुक्रवार सभामुख सापकोटा सहित २५ जना कर्मचारी तथा अन्यको स्वाब लिइएको हो। 'सभामुखज्यु लगायत २५ जनाभन्दाबढीको परीक्षण भइसकेको छ,' सभामुख निवासका एक कर्मचारीले भने।
