
एलेन डिजेनेरेसको कार्यक्रममाथि आन्तरिक अनुसन्धान भएको छ। अनुसन्धानले कार्यक्रमको दैनिक कार्य क्षेत्र व्यवस्थापनमा कमजोरी भएको देखाएको छ। साथै त्यहाँ कार्यरत् केही कर्मचारीहरू परिवर्तन हुने भएका छन्।
एलेनको सोका केही कर्मचारीले सेटमा 'नस्लवाद, अन्यायपूर्ण निस्कासन, धम्की र विषाक्त कार्य शैली'को सामना गर्नुपरेको अनुभव सुनाएका थिए। जसबारे बजफिडले जुलाई १६ मा सामाग्री प्रकाशन गरेको थियो।
लगत्तै कार्यक्रमको मातृसंस्था वार्नर मिडियाले छानबिन गरेको हो। तेस्रो पक्षको उपस्थितिमा कार्यक्रममा संलग्न प्राविधिक एवं अन्य कर्मचारीहरूको अन्तर्वाता भएको हो। हाल कार्यरत् सँगसँगै पूराना कर्मचारीहरूलाई पनि प्रश्न सोधिएको हो।
अनुसन्धान र कर्मचारी परिवर्तन गर्ने निर्णय पछि कार्यक्रम प्रस्तोता एलेनले सम्बन्धित कर्मचारीसँग माफी मागेकी छिन्। उनले व्यक्तिगत रुपमा इमेल गरेर ‘आइन्दा त्यस्तो अनुभव कुनै कर्मचारीले भोग्न नपर्ने’ बताएकी हुन्। लेखेकी छिन्,’हामीले बोल्ने कुरा र गर्ने व्यवहारले अरुमा कसरी असर गर्छ? भन्ने ध्यान दिन आवश्यक छ। हाम्रो कार्यक्रममा पनि यस विषयको उठान भएको छ।‘
बीबीसीले जनाए अनुसार उनी सुरुवाती दिनमा यस विषयमा बोलेकी थिइनन्। अनुसन्धान पछि भने उनले भनेकी छिन्,’सबैलाई सम्मानपूर्वक काम गर्ने वातावरण निर्माण गर्छु भन्दाभन्दै केही सहकर्मीले नराम्रो भोग्नु पर्यो। यसका कारण दु:खी छु र पुन: नदोहोरिने प्रतिवद्धता जनाउँछु।‘
उनले आफ्ना कर्मचारीहरूसँग माफी समेत मागेकी छिन्।
उनले १७ वर्षदेखि यस कार्यक्रम सञ्चालन गर्दै आएकी छिन्। १७ औं सिजनमा चलिरहेको कार्यक्रमको दैनिक २५ लाख दर्शक छन्। कार्यक्रमले हालसम्म ६१ वटा एम्मी अवार्ड जितिसकेको छ।