PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

प्रदेश २ मा फेरि फैलिँदै कोरोना संक्रमण : ‘लकडाउन अन्त्यपछि मानिसहरु धेरै रिल्याक्सड भए’



सहयोग रञ्जित

प्रदेश २ मा फेरि फैलिँदै कोरोना संक्रमण : ‘लकडाउन अन्त्यपछि मानिसहरु धेरै रिल्याक्सड भए’

काठमाडौं : प्रदेश २ को पर्सामा गएको १० दिनमा कोभिड १९ को संक्रमणबाट १० जना भन्दा बढीको मृत्यु भएको छ। शनिवारमात्रै वीरगंजमा दुईजना संक्रमितको मृत्यु भयो।

शनिवार साँझ करिव ६ बजे कोभिड १९ संक्रमित महिलाको मृत्यु भएको हो। निमोनियाबाट ग्रस्त ती महिलामा साउन १६ गते शुक्रवार संक्रमण पुष्टि भएको थियो। उनको मृत्युसँगै वीरगंजमा मात्रै कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुग्यो।

यस्तै, नारायणी वयोधा अस्पतालमा शुक्रवार मृत्यु भएकी महिलामा कोभिड-१९ पुष्टि भएको छ। उनलाई साउन १४ गते अस्पताल भर्ना गरिएको थियो। उनी पनि निमोनियाबाट ग्रस्त थिइन्। 

हाल पर्सामा मृत्यु हुने धेरैजसोमा कोभिड १९ को लक्षण देखिएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयले जनाएको छ। साथै नयाँ संक्रमितहरुमा समेत लक्षण देखिन सुरु भएको छ।

सरकारले लकडाउन घोषणा गरेसँगै पर्सा कोरोनाको हटस्पट बन्दै गएको थियो। विस्तारै संक्रमणको जालो प्रदेशभर फैलियो। तर संक्रमितहरुमा कोरोनाको लक्षण देखिएको थिएन।

लक्षण बिहिन संक्रमित हुँदा खतरापनि न्यून रहेको विशलेषण गरिएको थियो। तर, लकडाउन अन्त्यपछि वीरगंजमा प्रदेशमा लक्षण सहितका संक्रमित भेटिनु र लक्षण सहितका व्यक्तिहरुको मृत्युहरुका कारण प्रदेश २ मा ‘खतराको घण्टी’ बजिसकेको  जनस्वास्थ्यविज्ञहरुले बताएका छन्।

सरकारले आधिकारिक रुपमा नै कोरोना समुदायस्तरमा फैलिसकेको घोषणा नगरेपनि प्रदेश २ मा समुदायमा नै संक्रमण फैलिसकेको अनुमान विज्ञहरुले लगाएका छन्। त्यसैले लकडाउन अन्त्यपछि नागरिकहरु थप सतर्क हुनुपर्ने उनीहरुको मत छ।

 सरकारले लकडाउन अन्त्य गरेसँगै प्रदेशमा कोरोना संक्रमितको साथै मृतकको संख्यापनि बढ्दै गएको हो। तर सर्वसाधरणमा कोरोनाको भय कम हुँदै गएकोको परिस्थिति थप जटिल बन्दै गइरहेको छ।

प्रदेशका सातैवटा जिल्ला रेड जोनमा छन्। चार जिल्लाभने ‘भेरी हाइ रिक्स जोन’ मा छन्।

सरकारले देशभर लकडाउन अन्त्य गरेपनि प्रदेश २ का कयौं शहरहरु लकडाउनमै छन्। संक्रमितको संख्या बढेसँगै स्थानीय तहले पुन: लकडाउन गरिरहेको छ।

एक सातामा बढ्यो कोरोनाको ग्राफ

सरकारले लकडाउन अन्त्य भएको घोषणा गर्नु एकदिन अघि प्रदेश २ मा ८६ जनामा संक्रमण देखिएको थियो। लकडाउन अन्त्य भएको रात संक्रमितको संख्या आधा घट्यो। त्यसदिन ४० जनामा मात्रै संक्रमण देखिएको थियो। त्यसपछि प्रदेश २ मा कोरोनाको ग्राफ लगातार ओरालो लाग्दै गयो। साउन ११ गते प्रदेशमा मात्र १० जनामा कोरोना संक्रमण देखियो।

तर, एक हप्ता यता प्रदेशमा कोरोना संक्रमितको ग्राफ फेरि उकालो लाग्दैछ। साउन १२ गते ६९ जना, १३ गते ५३ जना, १४ गते ६४ जान,, १५ गते ९० जना१६ गते ५१ जनामा कोरोना संक्रमण देखियो। साउन १७ गते भने ८० जनामा कोरोना संक्रमण देखियो।

शनिवारसम्म प्रदेश २ मा कोरोनाबाट संक्रमित हुनेको संख्या ५ हजार २ सय ३५ पुगेको छ। संक्रमित हुनेमा पुरुषको संख्या करिब ९२  प्रतिशत रहेको छ भने महिलाको ८ प्रतिशत संक्रमित भएका छन्।  प्रदेश २ स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म १८ जनाको मृत्यु भइसकेको छ कोभिडका कारण। यसमा शनिवार मृत्यु भएकाकोलाई समावेश गरिएको छैन।

प्रदेशमा रौतहट कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित देखिएको छ। त्यहाँ १ हजार ५१८ जना संक्रमित भएका छन्। महोत्तरीमा ८३७ जना, सर्लाहीमा ७७४जना,धनुषामा ६८९ जना,पर्सामा ४७८ जना,सप्तरीमा ४७२ जना, सिरहामा २५६ जना र पर्सामा ४७८ जना संक्रमित रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

प्रदेश २ मा सबैभन्दा बढी संक्रमित युवा उमेर समूहका देखिएका छन्। ११ वर्ष देखि ४० वर्ष उमेरसम्मका व्यक्तिहरुमा धेरै संक्रमण देखिएको छ। 

संक्रमित बढ्नुको कारण ‘रिल्याक्सड मुड’

पछिल्लोपटक प्रदेश २ मा संक्रमितको संख्या बढ्दै गएसँगै धेरै स्थानहरुमा पुन: लकडाउन गरिएको छ। वीरगंजका मेयरदेखि सांसदसम्मलाई कोरोना संक्रमण देखिएको छ। हरेक दिन जसो कोरोना संक्रमितको मृत्यु भइरहेको छ। लकडाउन अन्त्य भएसँगै निर्वाध रुपमा आवतजावत भइरहँदा संक्रमणको जालो बढ्दै गइरहेको छ। त्यसैकारण अब  फेरि लकडाउन गरेर भएपनि कोरोना नियन्त्रण गर्नुपर्ने माग स्वास्थ्य विज्ञहरुले गरिरहेका छन्।

‘अहिले लक्षण सहितका संक्रमितहरु देखिएका छन्। मृतकहरुमा समेत लक्षण देखिएको छ। यो पहिला लकडाउन जस्तो अवस्था होइन। अब सतर्क हुनुबाहेक विकल्प छैन।’ प्रदेश २ का जनस्वास्थ्य निर्देशनालयका प्रवक्ता विजय झाले भने।

लकडाउन खुलेसँगै मानिसहरु ‘रिल्याक्सड’ भएका कारण संक्रमणको त्रास बढ्दै गएको उनी बताउँछन्।

‘लकडाउन खुलेपछि मानिसहरु रिल्याक्सड भए। मास्क लगाउन छोडे। भौतिक दूरी कायम राखेनन्। सीमाबाट पनि मानिसहरु लुकेर आउने क्रम बढ्यो। हरेक क्षेत्र रिल्याक्सड भए। त्यसबाट संक्रमणको अवस्था बढ्दै गयो’, उनले भने।

क्वारेन्टिन, आइसोलेसनमा बसेका संक्रमितहरु समेत घर गएर बस्न सुरु गएको कारण  पनि हाल संक्रमण बढ्नुको एउटा ‘फ्याक्टर’ रहेको उनले बताए।

‘मानिसहरुले लकडाउन अन्त्य भएपछि कोरोना लकडाउनको समयमा त जसोतसो क्राइसिस म्यानेज गर्‍यौं। तर अहिलेको अवस्थामा संक्रमित थपिए त्यसको व्यवस्थापन गर्न पहिला झै सहज नहोला’, उनी भन्छन्।

हाल लक्षण सहितको संक्रमितको संख्या बढेपछि पहिलाभन्दा सचेत र सतर्क रहनुपर्ने बेला आएको झाले बताए। लकडाउन अन्त्य गरेपछि मानिसहरुले कोरोना सिधिएको भन्ने बुझेर मानिसहरु सामान्य जीवनमा फर्केका कारण संक्रमित को संख्या बढेको उनी बताउँछन्।

लकडाउन अन्त्यसँगै प्रदेश २मा सीमा नाका हुँदै भारतबाट आउने क्रम बढेको भन्दै उनले त्यसलाई रोक्न प्रदेश सरकारले केन्द्रलाई आग्रह गरिसकेको बताए। हाल मास्क नलगाइ हिँड्नेलाई कारवाही गर्न सुरु गरेयता मानिसहरु बजारमा जाँदा मास्क लगाउन थालेको राम्रो भएपनि अझै प्रभावकारी रुपमा कोरोना संक्रमण रोक्न फेरि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए।

प्रदेशमा संक्रमितको संख्या बढेसँगै नागरिकदेखि सरकारलाई सम्म पाठ सिक्नुपर्ने बेला आएको उनी बताउँछन्।

‘राजविराज, वीरगंज लकडाउनमा छन्। विभिन्न स्थानीय तहले लकडाउन गर्न सुरु गरेका छन्। त्यसैले कोरोना सकिएको छैन। लकडाउनमा रिल्याक्सेसन हुनु भएन।’

झाले कोरोना संक्रमित बढेसँगै ‘थ्री टी’ लाई निरन्तरता दिन प्रदेश स्वास्थ्य निर्देशनालयले निरन्तरत दिइरहेको दावी गरे।

‘थ्री टी अर्थात् ट्रेसिङ गर्ने,टेस्ट बढाउने र ट्रिटमेन्टलाई निरन्तरता दिनुपर्छ। क्वारेन्टिन, आइसोलेसन, आइसियु, भेन्टिलेटरलाई तयार र व्यवस्थित राख्नुपर्छ’, झाले भने।

अहिलेको अवस्थामा मास्क लगाउने र भौतिक दूरी कायम गर्न छाड्न नुहेने भन्दै उनले भने  ‘फेरि लकडाउन गरेर होस् या व्यक्ति आफै सतर्क भएर होस्। यदी व्यक्ति सतर्क भएन भने सरकारले बाध्यता बस् फेरि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell