PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

१४ घण्टा मोबाइल नचल्दा टेलिकमबाट १५ हजार क्षतिपूर्ति भराउने फैसला, प्राविधिक कारण क्षम्य नहुने



पहिलोपोस्ट

१४ घण्टा मोबाइल नचल्दा टेलिकमबाट १५ हजार क्षतिपूर्ति भराउने फैसला, प्राविधिक कारण क्षम्य नहुने

काठमाडौँः ग्राहकले रिचार्ज गरिसकेपछि समयमै सेवा सुरु नगरेका कारण नेपाल टेलिकमले ग्राहकलाई क्षतिपूर्ति दिनपर्ने फैसला भएको छ। उच्च अदालत पाटनले अधिवक्ता रामकुमार सुवालले दायर गरेको मुद्दामा फैसला गर्दै ग्राहकले रिचार्ज गरिसकेपछि १४ घण्टासम्म सेवा नदिएका कारण सेवाग्राहीलाई परेको आर्थिक र मानसिक क्षति बापतको क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो।

न्यायाधीश ठाकुरप्रसाद शर्मा पौडेल र नातीबाबु लामिछानेको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँको फैसलालाई उल्ट्याउँदै नेपाल टेलिकमले ग्राहकलाई १५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो।

जिल्ला अदालत काठमाडौँले २०७६ वैशाख ४ गते नेपाल टेलिकमबाट कुनै व्यक्तिले जानाजान गल्ती नगरेको र सिस्टमको खराबीका कारण उक्त समस्या आएको भन्दै क्षतिपूर्ति दिनुपर्ने स्पष्ट कारण नभएको फैसला गरेको थियो।

के थियो घटना?

निवेदक अधिवक्ता रामकुमार सुवालले प्रयोग गरिरहेको नेपाल टेलिकमको पोस्टपेड नम्बर ९८५१०१९७७५ मा सन् २०१८-०९-१४ तारिखका दिन बेलुकी ६ बजेर ४१ मिनेटमा तिर्नुपर्ने रकम ४५७३.२२ रुपैयाँ र उपलब्ध रकम ४२६.७९ रुपैयाँ रहेको भन्दै म्यासेज आउँछ।

त्यसको भोलिपल्ट बेलुका ६ बजेर ५८ मिनेटमा तपाईँको नम्बर एकतर्फी भएको भनी अर्को म्यासेज आउँछ। त्यसपछि ग्राहकले ५०० दरका दुई वटा रिचार्ज कार्ड ल्याई तत्काल रिचार्ज गर्छन्। त्यसै दिन बेलुका टेलिकमबाट रिचार्ज भएको र उपलब्ध क्रेडिट ११५९.४९ रुपैयाँ रहेको भनी अर्को म्यासेज आउँछ।

तर ग्राहकको मोबाइलमा कल गर्न मिल्ने प्रतिबन्ध भने भोलिपल्ट बिहान ११ बजेर ४४ मिनेटसम्म रहिरहेको हुन्छ। त्यसपछि ग्राहकले रिचार्ज गरिसक्दा पनि सेवा नदिँदा आफूलाई आर्थिक र मानसिक रूपमा २५ हजार रुपैयाँ बराबरको क्षति भएको भन्दै जिल्ला अदालत काठमाडौँमा नेपाल दूरसञ्चार कम्पनीविरुद्ध मुद्दा हाल्छन्।

जिल्ला अदालतले नेपाल टेलिकमको सिस्टमको खराबीका कारण गल्ती भएको भन्दै टेलिकमले क्षतिपूर्ति दिनु नपर्ने फैसला गरिदिन्छ। त्यसपछि सुवालले उच्च अदालत पाटनमा मुद्दा पुनरावेदन गर्छन्। उच्च जिल्लाको फैसला बदर गरी ग्राहकले क्षतिपूर्ति पाउनुपर्ने फैसला गरेको हो।

यति एयरलाइन्सको नजिरको आधारमा फैसला

यसअघि वायु सेवा कम्पनी यति एयरलाइन्सले समयमै उडान भर्न नसक्दा सेवाग्राहीलाई क्षति भएको भन्दै घमराज लुइँटेलले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए।

मुद्दामा सर्वोच्च अदालतले सेवाग्राहीलाई क्षति पुगेको भन्दै एयरलाइन्स कम्पनी यतिले क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो। नेपाल टेलिकमको हकमा पनि यति एयरलाइन्सको नजिरको आधारमा ग्राहकले क्षतिपूर्ति पाउनुपर्ने फैसला गरेको हो।

देवानी संहिता २०७४ को दफा ८ अनुसार कुनै काम गर्दा वा गराउँदा कसैको गल्तीले अरूलाई हानी नोक्सानी हुन गएमा त्यसरी हानी नोक्सानी भएको क्षतिको दायित्व यस्तो गल्ती गर्ने वा गराउने व्यक्तिले व्यहोर्नुपर्ने व्यवस्था भए अनुसार सेवाग्राहीलाई नेपाल टेलिकमबाट क्षति पुगेकोले क्षतिपूर्ति दिनुपर्ने फैसला भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell