PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

६ बुँदे प्रस्ताव ल्याएका वामदेव आफै फ्रस्टेड कुरा गर्नुहुन्छ, ओली त खुशी हुने नै भए नि : दीपकप्रकाश भट्ट



पहिलोपोस्ट

६ बुँदे प्रस्ताव ल्याएका वामदेव आफै फ्रस्टेड कुरा गर्नुहुन्छ, ओली त खुशी हुने नै भए नि : दीपकप्रकाश भट्ट

दीपकप्रकाश भट्ट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं कञ्चनपुरका सांसद हुन्। परराष्ट्र मामिलाका विज्ञ भट्ट संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य पनि हुन्। नेकपामा पछिल्लो समय देखिएको सत्ता समीकरण विवादमा भट्ट विधि र पद्धतिमा पार्टी चल्नुपर्ने भन्दै सक्रिय छन्। पार्टीभित्र वरिष्ठ नेता माधवकुमार नेपालनिकट मानिन्छन्।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटीको सामना गरेर अघि बढ्नुपर्ने पक्षमा उनी छन्। उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे प्रस्ताव अघि सारेपछि भट्टसहित युवा नेताहरु गौतम निवास पुगेर कदम फिर्ता लिन आग्रह गरेका थिए। पछिल्लो समय पार्टीभित्रको विवाद समाधानमा सक्रिय छन् भट्ट। नेकपाको पछिल्लो किचलो र यसको समाधान के हुन सक्छ त? यसै सन्दर्भमा भट्टसँग पहिलोपोस्टका कमलराज भट्टले गरेको कुराकानीको सम्पादित अंश :

नेकपामा किचलो बढ्दै गएको छ, कसरी टुंगिएला यो विवाद?

दुई पार्टी एकीकरणदेखि सुरु भएको देखिन्छ विवाद। सैद्धान्तिक वैचारिक पक्षलाई स्थगन गरी आकस्मिक एकता भयो। दुबै पार्टीले आफ्नो विचार होल्ड गरे। व्यवहारिक रुपमा अगाडि बढ्ने भनियो। वामपन्थीहरु एक ठाउँमा आएर बहुमतका साथ स्थिरतातर्फ जानुपर्ने टड्कारो भयो। त्यो स्थिरताले सबै क्षेत्रमा राष्ट्रिय नीति बनाएर एउटा समाजवादतर्फ जान आधार दिनेछ भन्ने लक्ष्य राखियो। तर, त्यो आधार दिनु र त्यस विषयतिर छलफल हुनु त कता हो कता पार्टी र सरकारलाई सञ्चालन गर्ने काममा ती व्यवहारमा उतारिएनन्। गम्भीरतापूर्वक काम भएनन्।

त्यसकारण पार्टीभित्र विधि, पद्धति र प्रणालीको कुराहरु उठिरहे। सत्ता सञ्चालनका सम्बन्धमा पार्टीले केपी ओलीलाई सरकार र पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिइरह्यो। तर सञ्चालनमा कमीकमजोरी देखिन थाले। एकलकाँटे प्रवृति र शैलीहरु विकसित भए। विगतका स्थापित विधि, मान्यता र प्रणालीलाई पनि भत्काउँदै लैजाने र नयाँ स्थापित नहुने स्थिति देखियो। संक्रमणको नाममा मनलाग्दी खालको अवस्था अघि बढ्दै गयो। पार्टीभित्र संख्यात्मक हिसाबले सानो समूहले हरेक क्षेत्रमा एकलौटी गर्दा समस्या आएको हो।

तर, पदको लागि लडाई भइरहेको जस्तो देखिन्छ?

पदको लडाई भनेर सस्तो लोकप्रियता बनाउन खोजिएको छ। यो पदभन्दा पनि विधि पद्धति र कमिटी प्रणालीको लडाई हो। स्वभाविक रुपमा व्यक्ति पनि आउँछ। पार्टी सञ्चालन प्रणाली मानेर जाने कुरा पहिलो हो। उहाँ(ओली)ले मान्छु भन्यो भने सोच्न सकिने कुरा होला। छलफलबाट दुइटै पद छोड्ने कुरा आयो। त्यो दोस्रो कुरा हो। तर, उहाँहरुले पहिलो कुरा बनाउनुभएको छ। कालापानी नक्सामा प्रधानमन्त्रीको हैसियतले उहाँले वाहावाही पाउनु स्वभाविक थियो। तर मदन भण्डारीको स्मृति दिवसमा पार्टीभित्रकै व्यक्तिहरु भारतसँग मिलेर मलाई सरकारबाट हटाउन लागिरहेका छन् भन्ने गैरराजनीतिक र गैरकुटनीतिक अभिव्यक्ति दिएपछि स्वभाविक रुपमा त्यसको प्रतिक्रिया स्वरुप अब उहाँ त्यो जिम्मेवारी तहमा बसेर पहिलो दुई देशको सम्बन्ध, दोस्रो समग्र परराष्ट्र नीति सञ्चालनका गर्नका लागि सिलसिलेवार रुपमा कमीकमजोरी र गल्ती गर्दे आउनुभएको छ, यसमा गम्भीर रुपमा छलफल हुनुपर्छ, पार्टीमा छलफल हुनुपर्छ भन्ने भयो। तर उहाँले मान्नुभएको छैन। पार्टी विधि पद्धति नमान्ने हो भने कसरी सिस्टम चल्छ? उहाँले त संविधान पनि मिचिरहनुभएको छ बेलाबेला। विभिन्न विधेयक र अध्यादेश प्रकरणले देखिन्छ।

कोभिड १९ महामारीको बेला तपाईहरु झगडा गरिरहने, जनताले दुख पाइरहने हैन?

यत्रो महामारीमा सरकारका विवादित निर्णय र ढिलासुस्ती, विपद व्यवस्थापनको जिम्मा गृहबाट रक्षामा सार्ने, गलत भयो भन्दा सही छ भनेर गैरजिम्मेवार अभिव्यक्ति दिने काम भयो। स्वास्थ्य सामग्री खरीदमा गलत निर्णय गरेर ब्याक हुनुपर्‍यो। महामारीमा एकपछि अर्को गलत निर्णय र रवैयाले सरकार र पार्टीप्रति नकारात्मक दृष्टिकोण बन्यो। केही राम्रा निर्णय भए पनि मुल रुपमा कमजोरी भयो। कमजोरी सच्याएर अघि बढ्छु भनेर सचिवालय, स्थायी कमिटीमा प्रतिबद्धता जनाउने तर निर्णय गरे जाउँ भन्दा नमान्ने खालको देखियो। आत्मालोचना त बेला बेला म बाट कमी कमजोर भए भनेर भनिरहनुभएको छ। तर व्यवहार उस्तै छ।

ओली पदमा बस्न योग्य छैनन् भन्ने आशय हो तपाईंको?

बस्न योग्य र अयोग्य भन्नलाई स्थायी कमिटीमा छलफल चलिरहेको छ। तीन वर्षमा सरकारको समीक्षा हुनुपर्‍यो। घोषणापत्रअनुसार काम गरेको छ कि छैन? समीक्षा हुन्छ। भइरहेको छैन भने अयोग्य छन् भनेर मान्नुपर्छ।

स्थायी कमिटी बसिरहेको बेला बैठकमा नजाने, बाहिर बाहिर कार्यक्रममा गएर गैरराजनीतिक र गैरकुटनीतिक अभिव्यक्तिहरु दिएपछि, आक्षेप लगाएपछि स्वभाविक त्यसको प्रतिक्रियाको रुपमा अहिलेको विषय आएको हो। चलिरहेको स्थायी कमिटीमा आफू नआउने, अल्पमत सदस्य नआउने अनि बहुमतलाई अठ्याएर राख्ने भनेको विधि पद्धतिमा नचल्न हो।

तर, ओलीको अगाडि गल्या गल्यै छन् तपाईहरु?

एकहोरो र बलियो सरकार भएपछि जे गरे पनि हुन्छ भन्ने शैली र व्यवहार, पार्टीभित्र अल्पमतले बहुमतलाई पेलेर जाने भन्ने मानसिकता वा पार्टी विभाजनको खतरा यतापट्टी देखाउने, भारतीय मिडियाले ल्याएको कुरालाई बहुसंख्यक सदस्यलाई अन्तबाट परिचालित देख्ने मनोग्रन्थी विकास भयो, त्यो गलत भयो।

आम जनता किन सडकमा आइरहेको छ? त्यो स्पष्ट छ। राष्ट्रवाद एउटा मात्रै कर्नर विचार हो। यसले बहुसंख्यक जनताका समस्यालाई समाधान गर्दैन। अहिले पपुलिजमको पोलिटक्स चलिरहेको छ। मोदी, ट्रम्पका साथै ओलीमा पनि पपुलिजमको असर परेको देखिन्छ। उहाँ पपुलिजमको भाषा बोल्नुहुन्छ। त्यसले डेलिभरी दिँदैन। अब राष्ट्रलाई कतातिर लैजाने भन्ने नीति समात्नमै ओली कमजोर देखिए। ७ दशक लामो राजनीतिमा आफ्नै धरातल बिर्सिँदै जाने काम उनले गरे। ९ महिने एमालेको सरकार पपुलर हुने, बहुमतका साथ आएको नेकपा सरकार यति कमजोर हुनुपर्ने कुरा आउट अफ ट्रयाक गइराखेको छ कि? जनता आजित हुनुपर्ने स्थिति किन आयो? भन्दा ओली व्यवहार शैलीले आयो।

ओली आफ्नो गुट बलियो बनाउने र बहुमतलाई पेलेरै जाने मुडमा देखिन्छन् नि?

विधिपद्धति नमान्दा विगतमा पार्टी फुटेका धेरै उदाहरण छन्। अहिले पनि उहाँले त्यहीँ गर्न खोजिरहनुभएको छ। अध्यादेश ल्याएर पार्टी विभाजनको लागि सजिलो बनाउने काम गरे। अर्काको पार्टी फुटाउन ल्याएको भने पनि दुइधारे तरवार जस्तै अहिले हाम्रोमा पनि विभाजन ल्याउँथ्यो।

के जेलनेल संघर्ष र सहिदका सपनाले देखाएको बाटो यहीँ हो त? आफूले गरेको संघर्षबाट त्यहीँ देखिरहनुभएको छ त? हिजो उहाँले पनि विधि पद्धति र प्रणालीको कुरा उठाएर हिँड्नुभएको थियो। यसलाई सच्याउछौं। उहाँ सच्चिनुहुन्छ भन्ने विश्वास छ।

यदि सच्चिएनन् भने तपाईँहरु के गर्नुहुन्छ?

यदि सच्चिएनन् भने पार्टीले अर्को बाटो समात्छ। निर्णय गरेर हटाउन सक्छ।

ओलीलाई हटायो भने पार्टीमा दुर्घटना होला नि?

पार्टी फुटाउने प्रयास गरेकै हुन्। नेकपा एमाले निर्वाचन आयोगमा दर्ता गर्न लगाउने नै ओली हुन्। उहाँको कानुनविज्ञको हैसियतमा काम गरिरहेको व्यक्ति र प्रमुख निर्वाचन आयुक्तलाई बोलाएर सहजीकरण गरिदिन भनेपछि र उहाँ नजिकका कार्यकर्ता त्यो काममा संलग्न भएको देखिएपछि त्यसमा कुनै दुविधा र शंका रहेन।

उपाध्यक्ष वामदेव गौतमले केपी ओली पाँचै वर्ष प्रधानमन्त्री रहने गरी ६ बुँदे प्रस्ताव गरेका छन् नि?

प्रस्तावका सन्दर्भमा हामीले वामदेवसँग ३ घण्टा कुरा गर्‍यौं। उहाँले पार्टी फुटाउन केपी ओली तयार हुनुहुन्छ। अध्यादेशबाट जुनसुकै बेला पार्टी फुटाउनु हुन्छ। उहाँसँगको मेरो राजनीतिक जीवनको उतारचढावमा मैले एकपछि अर्को गल्ती गर्दै गए उहाँलाई समर्थन गरेर। तर, यो उमेरमा नयाँ पार्टी कल्पना गर्न सक्दिन। हिजो पार्टी फुटाएर माले बनाएर यहीँ आउनुपर्‍यो। त्यसकारण अब म त्यो कल्पना पनि गर्न सक्दिन। त्यसकारण अहिलेलाई पार्टी फुट रोक्न उहाँलाई पुरै कार्यकाल प्रधानमन्त्री चलाउन दिने हो भन्नुभयो। महाधिवेशनसम्म अध्यक्ष दिने भन्नुभयो। त्यो उहाँलाई लागेको एउटा विकल्प हो। तर, प्रधानमन्त्री कमरेड केपी ओलीजी जुन बाटोमा हिँडिरहनुभएको भएको छ, त्यसलाई प्रस्तावले समाधान दिँदैन।

आफै उहाँ फ्रस्टेटिङ कुरा गर्नुहुन्छ। आफ्ना पीडा पनि राख्नुभयो। उहाँले मन पराएर प्रस्ताव ल्याउनुभएको होइन भन्नुभयो। अहिले बनेको खाडललाई अलिकति पुर्न सकिन्छ कि भनेर बढ्दो द्वन्द्वमा समाधानको प्रयास हो भनेर उहाँले भन्नुभयो।

मलाई लाग्छ यो प्रस्तावले पनि समाधान दिँदैन।

६ बुँदे प्रस्तावपछि ओली वामदेव निवास भैसीपाटी पुगे, केही त पाक्दै होला नि?

त्यसमा धेरै छुट्टै कुरा केही थिएन उहाँको। ‌ओलीजी खुसी हुनुभएकाले उहाँलाई धन्यवाद दिन पुग्नुभएको रहेछ। पारिवारिक भेटघाटमा खासै कुरा नभएको भन्नुभयो। किनकि ओलीका लागि त्यो ग्रिसफुल एक्जिट अर्थात चाहेजस्तो विकल्प त्यहाँ थियो। तर यो सबैको बीचमा मान्छेमा सत्तामा पुगिसकेपछि जनतामुखी हुने कुरा सबभन्दा ठूलो चुनौती हो। साथै दुनियाँ जुनसुकै शासक पनि त्यहाँ पुगेपछि विग्रिएको देखिन्छ। हाम्रोमा पनि त्यस्तै देखिँदैछ। उहाँलाई प्रत्येक कदम जनतामुखी लागेको हुनसक्छ। तर मूल्यांकन गर्ने प्रणालीबाट हेर्दा माथि पुगेको नेकपा र प्रधानमन्त्रीको हाइट कहाँ छ भनेर प्रष्ट देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell