काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङले नेपाली फुटबलको व्यवसायिक विकासलाई लिएर प्रश्न उठाएका छन्। उनले पूर्वाधारको अभाव रहेको र सबै जिल्लामा फुटबल नपुगेको भन्दै असन्तुष्टि पोखेका हुन्।
'व्यवसायिक क्लब, ट्रेनिङ ग्राउण्ड, एकेडेमी, २५ हज़ार सीट क्षमता माथिको रंगशाला अनिवार्य जस्तै हो फुटबल क्लबका लागि तर एएफसीबाट धेरै पटक जरिवना झेलेर नेपाली अमेच्यर फुटबल चलिरहेको छ। विकेन्द्रीकरण गर्नुपर्ने फुटबल टोली र प्रत्येक ज़िल्लालाई ज़िम्मा लगाउनु पर्ने क्लबहरू संघर्षरत छन्,' पूर्वकप्तान गुरुङ्ले फेसबुकमा लेखेका छन्, '१२ महिना खेल्न नपाउने तर १८ वटा खेलाड़ी पालनुपर्ने विचरा उपत्यकाको टोलहरूका क्लबसँग़ न्यायको आशा गर्ने खेलाडीलाई एएफसीले कागजी दबाब र हक मागने अधिकर चाहिँ दिएको छ ; अब उनीहरुले आन्दोलन गरोस् कि ट्रेनिङ गरोस्?'
उनले आफ्नो करिअरमा धेरै थोरै भए पनि खेल्न पाएको भन्दै नयाँ पुस्ताका खेलाडीहरुले त्यति पनि खेल्न पाउलान् त? भन्दै प्रश्न उठाएका छन्।
'मेरो साधारण करियरमा फुटबल न धेरै न थोरै खेल्न पाएँ, के नयाँ पुस्ताले त्यति पनि खेल्न पाउला त? नभए त्यति धेरै अन्याय र संघर्ष गरिदिन मान्लान त?' भारतीय खेलाडीसँग तुलना गर्दै उनले लेखेका छन्, 'एउटा राम्रो भारतीय फुटबलर ले १-५ करोर्ड कमाई गर्छन् वर्षमा, के नेपाली खेलाडी नराम्रै हुन त?'
राष्ट्रिय टिमबाट ३ वर्ष अघि सन्यास लिएका गुरुङले पछिल्लो लिग ब्रिगेड ब्वाइज क्लबबाट खेलेका थिए। त्यस्तै, पछिल्लो समय आफ्नै कथामा आधारित चलचित्रमा ब्यस्त रहेका गुरुङले नेपाली फुटबलमा ब्यवसायिकता घट्दै गएको भनेर असन्तुष्टि पोख्दै आएका छन्।
'पहिला त हाम्रो बाह्रै महिनाको करार हुन्थ्यो। त्यसो हुँदा हामीले फुल पेमेन्ट पाउँथ्यौ। ६ महिना लिग हुन्थ्यो। अनि केही महिना बाहिरको गोल्डकप। त्यसपछि पनि क्लबले पैसा दिन्थ्यो,' केही समय अघि पहिलोपोस्टसँगको कुराकानीमा उनले भनेका थिए, 'अहिले तीन महिनाको लिगलाई हेरेर ४ महिनाको करार भएको देख्छु।'
उनी अहिलेको करारमा रकम ठूलो देखिए पनि छोटो अवधिका लागि हुने भएकाले समग्रमा अवस्था अझ बिग्रिएको बताउँदै आएका थिए।
'मानौं एउटा खेलाडीले १ लाख ५० हजार खायो रे। त्यो तीन महिना त्यति दिन के ठूलो कुरा भयो र? सक्ने हो भने त एक वर्षसम्मै दिन सक्नु पर्यो नि त,' उनले भनेका थिए, 'अनि पो नेपाली फुटबलको हाइट माथि उठ्दै आयो भन्नु त। जस्तो मैले त्यतिबेला करार गर्दा ६५ दिन्थे रे। तर त्यो त वर्षभरी दिन्थे नि। कन्भर्ट गर्ने हो भने त त्यही ६५ हजार नै ठूलो देखियो।'
त्यही भएर पछिल्लो समय करार गर्ने पद्दती उनलाई मन परेको छैन। त्यसमा पनि लिग कसरी चाँडो सकौं भन्ने सोचले अझ असर पुर्याइरहेको उनी विश्लेषण गर्दै आएका छन्।
