बलिउड अभिनेता सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणको अनुसन्धान उनकी प्रेमिका रिया चक्रवर्तीतर्फ केन्द्रीत भएको छ। पिता केके सिंहले विभिन्न गम्भीर आरोप लगाउँदै उजुरी दिएपछि विहार पुलिस अनुसन्धानमा जुटेको छ। अर्कोतिर मुम्बई पुलिसले पनि अनुसन्धान गरिरहेको छ।
पिताले परिवारबाट अलग गराएको, ब्ल्यामेल गरेको, माया जालमा फसाएर पैसा हडपेको आरोप लगाइरहेका बेला यी आरोपमा बल पुग्नेगरी केही अभिनेत्रीले आफ्नो अनुभव शेयर गरेका छन्।
टेलिभिजन कलाकार एवं सुशान्तकी मित्र क्रिस्सन्न बरेटोले रियाले सुशान्तलाई सबैबाट टाढा बनाएर एक्ल्याएको दावी गरेकी छन्। बरेटोले ट्वीटरमा लेखेकी छन्, ‘जहिलेदेखि सुशान्तले यी महिलासँग डेटिंग सुरु गरेका थिए, त्यहीँबाट उनलाई हामी सबैको टचमा रहन दिइएन। उनको नम्बर परिवर्तन गरियो। यो सबै कुरा हामीलाई थाहा छ। हामीले सुशान्तसम्म पुग्ने कोशिश गर्यौं। तर सफल हुन सकेनौं।’
परिवारसँग पनि कुरा गर्न नदिएको विषय पिताले सार्वजनिक गरिसकेको भन्दै बरेटोले सत्य बाहिर आउने र आफूहरु हेरिरहेको उल्लेख गरेकी छन्।
रिया नेगेटिभ सोच भएकी पात्र: काजोल
रियासँग 'जलेबी'मा काम गरेकी टिभी कलाकार काजोल त्यागीले पनि रियाबाट आफूले भोगेको व्यवहार सुनाएकी छन्।
क्रिस्सनको ट्वीटमा कमेन्ट गर्दै काजोलले लेखेकी छन्, ‘जलेबी पुन छायांकन हुनुअघि म यसको हिस्सा थिए। यिनीसँग केही हप्ताका लागि शूटमा गएकी थिए। मलाई याद छ कि रिया कति निगेटिभिटी सोच्थिन्। अहिले भिडियोमा भावुक भएको नाटक गरिरहेकी छन्।’
रियाले शनिवार इंस्टाग्राममा भिडियो शेयर गर्दै इलेक्ट्रोनिक मिडियामा आफूविरुद्ध धेरै नै नकारात्मक कुराहरु गरिएको भन्दै गुनासो गरेकी थिइन्। आफूले न्याय पाउने भन्दै उनले ईश्वरमाथि भरोसा रहेको उल्लेख गरेकी थिइन्। उक्त भिडियाोमाथि अभिनेत्रीहरुले टिप्पणी गरेका हुन्।
