PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

कोभिड-१९ को चपेटामा दक्षिण एसिया : नेपालमा अघिल्लो साताभन्दा ५० प्रतिशतले संक्रमण वृद्धि, २०० प्रतिशतले मृत्यु



विधुर ढकाल

कोभिड-१९ को चपेटामा दक्षिण एसिया : नेपालमा अघिल्लो साताभन्दा ५० प्रतिशतले संक्रमण वृद्धि, २०० प्रतिशतले मृत्यु

काठमाडौ : दक्षिण एसियामा यतिबेला कोभिड-१९ को संक्रमणको उच्च जोखिममा रहेको छ। अधिकांश देशमा क्लस्टर ट्रान्समिसन भइरहेको दक्षिण एसियाली क्षेत्रीय सयहोग संगठन सार्क अन्तर्गतका ८ मुलुकहरुमा साढे २३ लाख जनसंख्यामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

डब्लुएचओको अगस्ट १ सेन्ट्रल युरोपियन समर टाइम (सीईएसटी) ५ बजेसम्मको तथ्यांकअनुसार दक्षिण एसियाका ८ मुलुकहरुमा २३ लाख ३२ हजार ५५० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

डब्लुएचओको तथ्यांकअनुसार हालसम्म बंगलादेशमा मात्र समुदायस्तरमा संक्रमण फैलिएको छ। डब्लुएचओले जारी गरेको कोभिड-१९ ट्रान्समिसनको तहगत वर्गीकरणअनुसार चार तहमध्ये अधिकांश देश तेस्रो चरणमा रहेका छन्। डब्लुएचओले भुटानको ट्रान्समिसनलाई दोस्रो तह स्पोराडिक तहमा राखेको छ। बाँकीलाई क्लस्टर ट्रान्समिसनमा राखेको छ।

दक्षिण एसियाली मुलुकहरु मध्ये सबैभन्दा पहिलो संक्रमण नेपालमा देखिएको थियो जनवरी २७ मा।  त्यसपछि एक एक गर्दै अन्य देशमा पनि संक्रमण पुष्टि हुँदै गए।

कुन देशमा कस्तो छ अवस्था?

अफगानिस्तान

फेब्रुअरी २४ मा पहिलो पटक संक्रमण पुष्‍टि भएको अफगानिस्तानमा ३६ हजार ७१० जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये त्यहाँ १२ हजार ८३ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो साता यहाँको संक्रमण दर घट्दो छ। अघिल्लो साताको तुलनामा यहाँ पछिल्लो साता ९ प्रतिशतले संक्रमित हुनेको संख्या घटेको छ। पछिल्लो साता ६७४ जनामा संक्रमण पुष्टि हुँदा ३७ जनाको मृत्यु भएको तथ्यांक डब्लुएचओको कन्ट्री सिच्योसन ड्यासबोर्डमा उल्लेख छ।

यहाँ प्रति १० लाख जनसंख्या ९४३ जनामा संक्रमण पुष्टि हुनुका साथै ३१ जनाको मृत्यु भएको छ। अफगानिस्तानमा संक्रमण क्लस्टर ट्रान्समिसनको चरणमा रहेको छ।

बंगलादेश

मार्च ८ मा पहिलो केस देखा परेको बंगलादेशमा संक्रमण कम्युनिटी ट्रान्समिसनको चरणमा पुगेको छ। दक्षिण एसियामा समुदाय स्तरमा कोभिड-१९ को संक्रमण फैलिरहेको एक मात्र देश हो बंगलादेश। डब्लुएचओको पछिल्लो कन्ट्री सिच्योसन ड्यासबोर्डको तथ्यांकमा दुई लाख ३९ हजार ८६० जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ मृत्यु हुनेको संख्या ३ हजार १३२ पुगेको छ।

बंगलादेशमा प्रति दश लाख एक हजार ४४३ जनामा संक्रमण देखिएको छ भने १८ जनाको मृत्यु भएको छ। पछिल्लो साता बंगलादेशमा संक्रमणमा १ प्रतिशतले कमी आएको छ। पछिल्लो साता १९ हजार ३ नयाँ संक्रमित पुष्टि भएको छ। २७५ जनाको मृत्यु भएको छ।

भुटान

मार्च ६ मा संक्रमण पुष्टि भएको भुटानमा हालसम्म १०२ मा संक्रमण पुष्टि भएको छ। प्रति १० लाख जनसंख्या भुटानमा १३० जनामा मात्र संक्रमण पुष्टि भएको तथ्यांकमा उल्लेख छ। डब्लुएचओकोको सिच्योसन ड्यासबोर्ड पछिल्लो साता ९ जनामा संक्रमण पुष्टि भएको छ। भुटानमा स्पोराडिक चरणमा संक्रमण रहेको छ।

भारत

जनवरी ३० मा पहिलो संक्रमण देखिएको भारतमा हालसम्म १७ लाख ५० हजार ७२३ जनामा संक्रमण पुष्टि भएको छ। भारतमा मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या ३७ हजार ३६४ पुगेको छ। भारतमा पछिल्लो २४ घण्टामा ७६४ जनाको मृत्यु भएको छ।

भारतमा प्रति १० लाख २६ मृत्यु र एक हजार २२८ संक्रमित रहेको डब्लुएचओको ड्यासबोर्डमा उल्लेख छ।

पछिल्लो साता भारतमा २० प्रतिशतले संक्रमितमा वृद्धि हुँदा मृत्यु १ प्रतिशतले बढेको छ। पहिल्लो साता पाँच हजार १५३ जनाको मृत्यु हुँदा तीन लाख ५९ हजार १२७ जनामा संक्रमण पुष्टि भएको थियो। भारतमा हाल क्लस्टर ट्रान्समिसनको चरणमा रहेको डब्लुएचओले जनाएको छ।

मालदिभ्स

मार्च ७ मा पहिलो पटक संक्रमण पुष्टि भएको मालदिभ्समा हालसम्म ३ हजार ९४९ जनामा संक्रमण पुष्टि भएको छ। मृत्यु हुनेको संख्या १७ छ। पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ। मालदिभ्समा प्रति १० लाख ७ हजार १७ संक्रमित रहेको र १९ मृत्यु भएको डब्लुएचओको तथ्यांकमा उल्लेख छ।

पछिल्लो साता मालदिभ्समा १३५ प्रतिशतले संक्रमणमा वृद्धि भएको छ। मालदिभ्समा संक्रमण क्लस्टर केसमा रहेको छ।

नेपाल

दक्षिण एसियामा पहिलोपटक संक्रमण देखिएको नेपालमा हालसम्म २० हजार ८६ जनामा संक्रमण पुष्टि भएको छ। हाल नेपालमा ५६ जनाको मृत्यु भएको छ। नेपालमा प्रति १० लाख ६७८ संक्रमण र १ मृत्यु भएको छ।

पछिल्लो साता संक्रमण अघिल्लो साताभन्दा ५० प्रतिशतले बढेको र मृत्युदर २०० प्रतिशत बढेको छ। पछिल्लो सातामात्र नेपालमा १२ जनाको मृत्यु भएको छ। भने एक हजार पाँच सय बढीमा संक्रमण पुष्टि भएको छ।

पाकिस्तान

गत फेब्रुअरी २६ मा पहिलोपटक संक्रमण पुष्टि भएको पाकिस्तानमा हालसम्म दुई लाख ७८ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको छ। पाकिस्तानमा पाँच हजार ९५१ जनाको मृत्यु भएको छ। पाकिस्तानमा प्रति १० लाख एक हजार २५९ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै प्रति १० लाख २६ जनाको मृत्यु भएको छ। अघिल्लो साताभन्दा यो साता पाकिस्तानमा संक्रमण पुष्टि हुनेको संख्या ३५ प्रतिशतले कमी आएको छ। भने मृत्यु ३८ प्रतिशतले कमी आएको छ। पाकिस्तानमा संक्रमण क्लस्टर चरणमा रहेको छ।

श्रीलंका

जनवरी २७ मा संक्रमण पुष्टि भएको श्रीलंकामा हालसम्म दुई हजार ८१५ जनामा संक्रमण पुष्टि भएको छ। मृत्यु हुनेको संख्या ११ रहेको छ। श्रीलंकमा प्रति १० लाख १३९ जनामा संक्रमण पुष्टि भएको छ। यहाँ पछिल्लो साता २३ प्रतिशतले संक्रमणमा कमी आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell