PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

उदयपुरको कटारीबाट मानसिक स्वास्थ्य समस्या भएका १० जनाको उद्धार



फूलमाया पुरी

उदयपुरको कटारीबाट मानसिक स्वास्थ्य समस्या भएका १० जनाको उद्धार

विराटनगर: प्रदेश १ सरकारले शनिवार उदयपुरको कटारीबाट १० जनाको उद्धार गरेको छ।

उदयपुरको कटारी नगरपालिकाका विभिन्न वडाहरुबाट मानसिक स्वास्थ्य समस्या भएकाहरुको उद्धार गरिएको हो। मानसिक स्वास्थ्य समस्या भएपछि सडक आश्रित तथा खोरमा थुनेर राखिएकाहरुको उद्धार गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उद्धार गरिएकामा सडक आश्रित गर्भवती बालिकासहित ४ महिला र ६ पुरुष छन्। उनीहरुलाई सडक र घर–घरमा गएर सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सभा सदस्य कला घले, कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, उपप्रमुख भीमकुमारी राउत, सामाजिक अभियन्ता मञ्जिता उपाध्याय, मानव सेवा आश्रमका प्रतिनिधिसहितको टोलीद्वारा उद्धार गरिएको हो।

कटारीमा करिब ३२ जना मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरु रहेको नगरपालिकाले जनाएको छ।

स्वास्थ्य समस्या भई सडक आश्रित व्यक्तिका परिवारलाई नगरपालिकामा भेला गरि समस्या समाधानको पहल शुरु गरेको नगर उपप्रमुख भीमकुमारी राउतले बताइन्। प्रदेश सरकारको अभियानअन्तर्गत मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको उद्धार शुरु गरेको उनको भनाई थियो।

शनिबार उद्धार गरिएकाहरु ५ सन्तानका आमा, सडकमा रहँदै गर्भवती भएकी बालिका, १० वर्षदेखि खोरमा राखिएका, साङ्लोले बाँधिएका, पढ्दा पढ्दै स्कुल छोडेका युवाहरु रहेका छन्।

प्रदेश १ सरकारले सडक आश्रित र सहयोगापेक्षीहरु सबैको उद्धार गर्ने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए। प्रदेश १ का सबै स्थानीय तहबाट मानसिक स्वास्थ्य समस्या भएका, सडकमा जीवन बिताई रहेकाहरुको उद्धार गरेर सडक मानवमुक्त बनाइने मन्त्री घिमिरेको भनाई छ।

उद्धार गरिएका सबैलाई मानव सेवा आश्रम विराटनगरमा राखिएको छ।

सामाजिक विकास मन्त्रालय, स्थानीय तहसँगको सहकार्यमा मानव सेवा आश्रमले सडक आश्रित र सहयोगापेक्षीहरुको उद्धार गर्दै आएको छ। उद्धार गरिएकाहरुलाई पारिवारिक वातावरणमा राख्ने गरिएको मानव सेवा आश्रम प्रदेश १ का संयोजक नवराज केसीले बताए।

संयोजक केसीका अनुसार मानव सेवा आश्रमले हालसम्म प्रदेश १ मा १ सय ८ जनाको उद्धार गरिसकेको छ। उद्धार गरिएकामध्ये अहिले ६५ जना आश्रममा छन्। अन्यलाई उपचार पछि परिवारको जिम्मा लगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell