काठमाडौं : नेपाली फिल्म क्षेत्रमा महानायक को? भन्ने बारे विवाद चर्कियो। कलाकार एवं निर्देशक दीपाश्री निरौलाले राजेश हमाल आफ्ना लागि महानायक नभएको बताए पछि उक्त विषयले सामाजिक सञ्जालदेखि संचार माध्यमहरूमा राम्रै ठाउँ ओगट्यो। दीपाश्रीविरुद्ध आम मानिस उर्लिए। राजेश हमाल स्वयंले भिडियो सन्देशमार्फत् दीपाश्रीलाई 'माफी दिन' आग्रह गरेपछि विवाद केही साम्य भएको थियो।
यसैबीच अभिनेत्री निरुता सिंहले यस विषयमा बोलेकी छिन्। उनले शनिवार फेसबुकपोस्टमार्फत् भूवन केसीलाई आफ्नो 'सपनाको महानायक' भनेकी छिन्। यौनजन्य दूर्व्यवहारको आरोप खेपिरहेका केसीसँगै आफू फिचर्ड गीतको भिडियो हालेपछि फेसबुक प्रयोगकर्ताले उनीविरुद्ध प्रतिक्रिया जनाएका हुन्।
धेरैले राजेश हमालको विपक्षमा उभिएको आरोप लगाए पछि निरुता स्पष्टिकरण दिन बाध्य भइन्। उनले आइतवार नयाँ पोस्टमार्फत् प्रश्न गरेकी छिन् : 'मैले कहाँ र कहिले लेखे कि मेरा लागि महानायक राजेश हमाल होइन भुवन केसी हो भनेर?'
उनले आफूले आजको नभइ त्यस समयको कुरा लेखेको बताएकी छिन्। भनेकी छिन्,' मैले त्यस समयको कुरा गरेकी हुँ जुन बेला राजेश दाइले पनि नेपाली चलचित्र जगतमा पाइला राखेका थिएनन्।'
उनले आफूले सफल फिल्महरू कुसूमे रुमाल, सम्झना, साइनो लगायत हेर्दा भुवन केसी आफ्ना लागि 'सपनाको महानायक' भएको प्रष्ट्याएकी छिन्। जसलाई उनले आफूले केसीलाई सम्मानपूर्वक दिएको उपाधीको रुपमा व्याख्या गरेकी छिन्। उनले ९ वटा बुँदामा आफूले भन्ने खोजेको कुरा प्रष्ट्याएकी छिन्।
उनले स्टाटसमार्फत् आफ्नो पोस्टको गलत व्याख्या नगर्न आग्रह गरेकी छिन्। साथै विश्व कोरोना भाइरसविरुद्ध लडाइ लडिरहँदा नेपालीहरू महानायक को भन्ने विषयमा लड्नु उचित नभएको उनको तर्क छ। भनेकी छिन्,'भगवान् श्री पशुपतिनाथले हामी सम्पूर्ण नेपालीहरूलाई सद् बुद्धी दिउन्।'
