PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सरकारले किन भन्यो बालबालिका र पाका उमेरकालाई घर बाहिर ननिस्कन? यसो भन्छन् विज्ञ



प्रकाश भण्डारी

सरकारले किन भन्यो बालबालिका र पाका उमेरकालाई घर बाहिर ननिस्कन? यसो भन्छन् विज्ञ

काठमाडौं : सरकारले ६० वर्षमाथिका जेष्ठ नागरिक तथा १२ वर्ष मुनिका बालबालिकालाई घरबाहिर ननिस्कन अनुरोध गरेको छ। कोरोनाको जोखिम बढेको भन्दै यी उमेर समूहका मानिसलाई अरुलाई भन्दा संक्रमण भएमा जोखिम हुने भएकाले घरभित्रै बस्न मन्त्रालयले आग्रह गरेको हो।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बालबालिका र जेष्ठ नागरिकलाई घरभित्रै बस्न अनुरोध गरे। '६० वर्ष पुगेका जेष्ठ नागरिक र १२ वर्षमुनिका बालबच्चाहरु घरबाट बाहिर ननिस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ,' उनले भने। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा गौतमले यस्तो अनुरोध गरेका हुन्। नेपालमा मर्ने अधिकांश संक्रमित दीर्घ रोगी र पाका उमेरका धेरै छन्।

किन निस्कन हुदैन घर बाहिर? 

जनस्वास्थ्य विद् डा.रवीन्द्र पाण्डेले सरकारको अनुरोधलाई रोग प्रतिरोधात्मक क्षमतासँग जोडेर हेरे। उनले उमेरअनुसार पनि रोप्रतिरोधी क्षमता कम बढी हुने भएकाले सरकारले अनुरोध गरेको बताए। उनले नेपालमा संक्रमितहरु मध्य जेष्ठ नागरिर र दीर्घ रोगीको बढी मृत्यु भएकाले पनि संक्रमणबाट बढी जोखिम पाका उमेरकालाई भएको देखिएको बताए। 'अरु उमेर समूहका भन्दा बालबालिका र जेष्ठ नागरिकलाई संक्रमण भएमा अलि खतरा बढी हुन्छ,' उनले भने। उनले सरकारको समुदायमा संक्रमण नफैलिएको दाबी झुटो भएको बताए। समुदायमै फैलिएको भएर पनि सरकारले यस्तो अनुरोध गरेको उनको तर्क छ। कतिपय ठाउँमा समुदायमै संक्रमण फैलिसकेको उनले बताए। समुदायमै संक्रमण फैलिएको बताए सरकारको कमजोरी थाहा हुने भएकाले सरकारले झुटो दाबी गरिरहेको उनको भनाई छ। 'सरकारले फैलिएको छैन भने पनि कतिपय ठँउमा समुदायमै संक्रमण फैलिएको छ,' उनले भने।

'सरकारको कमजोर तयारीको उदाहरण हो'

घरभित्रै बस्नु भन्नुको एउटा कारण सरकारको कमजोर तयारी भएको पाण्डेको तर्क छ। उनले सरकारले घरभित्रै बस्न भने पनि संक्रमण फैलिसकेकाले त्यसको उपयोगिता नभएको बताए। सरकारले संक्रमितको उपचार र जोखिम कम गर्न अपनाउनुपर्ने उपाए नअपनाइरहेको उनको आरोप छ। 'घरभित्र बस भन्नुको अर्को अर्थ के पनि हो भने सरकारले महामारीसँग जुध्ने तयारी गरेको छैन। कमजोर तयारी गरेको छैन भन्दा सरकारको आलोचना हुनेभएकाले यस्तो भनेको होला,' उनले भने।

समुदायमा संक्रमण फैलियो

बायोलोजिष्ट डा प्रकाश घिमिरेले पनि समुदायमै संक्रमण फैलिएकाले सरकारले जोखिमयुक्त समूहलाइ घरमै बस्न आग्रह गरेको बताए। उनले समुदायमै फैलिएको अवस्थामा सरकारले जोखिममा हुने मानिसहरुलाई महामारीको बेला सामाजिक दुरी कायम गरेर घरभित्रै बस्न अनुरोध गर्न सक्ने बताए। उनले रोग प्रतिरोधात्मक क्षमता बालबालिकामा राम्रोसँग विकास भएको नुहुने र पाका उमेरकामा कमजोर प्रतिरक्षा प्रणाली हुने भएकाले घरभित्र बस्ने सरकारको आग्रह राम्रो भएको बताए।

'बालबलिकामा इम्युन सिस्टम डेभलप भएको हुदैन अनि पाका उमेकामा विक भइसकेको हुन्छ त्यसैले यो भलोनेरेबल ग्रुप हो,' उनले भने। उनले अब कोभिड १९ समुदायमा फैलिएको भन्न नमिल्ने बताए। तर सरकारले औपचारिक रुपमा हालसम्म समुदायमा संक्रमण फैलिएको बताएको छैन। विभिन्न ठाँउमा समुदायमा संक्रमण फैलिए नफैलिएकोबारे गरिएको परीक्षणमा मास ट्रान्समिसन नफैलिएको मन्त्रालयले दाबी गर्दै आएको छ। तराइका विभिन्न ठाउँमा पछिल्लो समय एकै ठाउँका र ट्राभल हिस्ट्री नभएकामा पनि संक्रमण देखिन थालेको छ।

'बच्चाहरु राम्ररी मास्क लगाउन सक्दैन, ज्येष्ठ नागरिकलाई जोखिम बढी छ'

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बालबालिकाले राम्रोसँग मास्क नलागाउने भएकाले १२ वर्ष मुनिकालाई घरभित्र बस्न भनिएको बताए। मास्क लगाउन कतिपय बालबालिकाले अटेर गर्ने भएकाले पनि घरभित्रै बस्न भनिएको गौतमको तर्क छ। समुदायमै संक्रमण फैलिएर यस्तो अनुरोध नगरिएको उनको भनाई छ। तर तराइका कतिपय ठाँउमा समुदायमै संक्रमण फैलिएको उनले संकेत गरे। 'तराइका पकेट क्षेत्रमा समुदायमा हो कि भन्ने हो। त्यसबारे अहिले परीक्षण भइरहेको छ नी तर औपचारिक रुपमा पुष्टि भएको छैन्,' उनले भने। जेष्ठ नागरिकको हकमा भने अहिले कोभिडको विश्वभरीकै विभिन्न अध्यनले जोखिम धेरै भएकाले घरभित्रै बस्न भनिएको गौतमले प्रष्टीकरण दिए। 'युनिभर्सल्ली अहिले संक्रमण र सिरियस केसका रुपमा बिरामी हुने भएकाले पनि उनीहरुलाई घरभित्र बस्न भनिएको हो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell