PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

कोरोनाबाट बच्न सावधान हुँदा अन्य रोगको संक्रमणमा पनि कमी, ‘सफाइ र खानपानमा ध्यान दिए मौसमी रोग पनि कम हुन्छ’



पी बी खड्का

कोरोनाबाट बच्न सावधान हुँदा अन्य रोगको संक्रमणमा पनि कमी, ‘सफाइ र खानपानमा ध्यान दिए मौसमी रोग पनि कम हुन्छ’

सुर्खेत : गर्मी र वर्षातको समयसँगै विभिन्न रोगका बिरामीको चाप हुने अस्पतालहरुमा कोरोना संक्रमित बाहेक अन्य बिरामीको चाप छैन। अघिल्ला वर्षहरुमा यतिबेला भाइरल ज्वरो, रुखाखोकी, टाइफोइड, मलेरिया, झाडापखाला जस्ता रोगका बिरामीले अस्पताल भरिभराउ हुन्थे। सरकारी होस् या नीजि अस्पताल, यतिबेला सुनसान जस्तै छन्।

सामान्य टाउको दुख्दा र खोकी लाग्दा नीजि मेडिकल, नर्सिङ होम र अस्पताल धाउने सर्वसाधारण नागरिक कोरोना त्रासकै कारण स्वास्थ्य संस्थामा नगएरै घरमै घरेलु जडीबुटी प्रयोग गर्ने क्रम बढेको छ। घरमा पानी तताएर पिउने, खानेकुरा राम्रोसँग पकाएर खाने, आयुर्वेदिक जडिबुटी प्रयोगकर्ताहरु बढेका छन्। जसले गर्दा सर्वसाधारण नागरिकले कोरोनाबाट बच्न अपनाएको सावधानीले गर्दा अन्य मौसमी रोगको संक्रमणका बिरामीहरुमा पनि कमी आएको चिकित्सक बताउँछन्।

कोरोना महामारी आउनुअघि दैनिक एक हजारको हाराहारीमा बिरामी आउने प्रदेश अस्पतालमा यतिबेला कोरोना संक्रमितका बिरामी बाहेक, अन्यको चाप छैन। अस्पतालका अनुसार यो समयमा अघिल्ला वर्षहरुमा आउने बिरामीको संख्यामध्ये झण्डै ५० प्रतिशत टाइफोइड, भाइरल ज्वरो, रुखाकोकी जस्ता रोगकै बिरामी आउने गर्थे। विगतको तुलनामा यस वर्ष झाडापखाला, रुखाखोकी, मलेरिया, टाइफोइड, डेंगु जस्ता बिरामी अस्पतालमा आउने झण्डै ८० प्रतिशतले कमी आएको छ।

‘अहिले त अस्पतालमा आउने बिरामीको संख्या १५/२० प्रतिशतमात्रै छ’, प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा भविष्य श्रेष्ठले भने, ‘यो समयमा हाम्रोमा विशेष गरी पानीका कारण हुने बिरामी आउँथे, जुन सरसफाइ र पानीकै कारणले हुन्थ्यो। अहिले कम छ।’

चिकित्सकका अनुसार बिरामी कम हुनुमा दुई वटा दृष्टिकोणबाट हेर्नुपर्ने बताउँछन्।

‘अहिलेसम्म पनि खासै मान्छेहरु घर बाहिर निस्केका छैनन्’, उनले भने, ‘कोरोनाले गर्दा हामीलाई पटकपटक हात धुनुपर्छ, खानपिनमा ध्यान दिनुपर्छ, सरसफाइ गर्नुपर्छ र घर वरीपरी सफा राख्नुपर्छ जस्ता कुराहरु पनि सिकाएको छ। एउटा कारण यसलाई पनि लिन सकिन्छ।’

कोरोनाको त्रासले सर्वसाधारण नागरिक भिडभाडमा नजाने, गएपनि व्यक्तिगत दुरी कायम गर्ने, खानपानमा ध्यान दिने, मास्कको प्रयोग गर्ने, पटकपटक हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, अनावश्यक रुपमा मुख तथा नाकमा हात नलैजाने, खानेकुरा राम्रोसँग पकाएर खाने जस्ता सावधानी अपनाइरहेका छन् भने बानी व्यवहारमा समेत परिवर्तन आएको छ।

कोरोनाको त्रासले बिरामी अस्पताल नपुगेका हुन् कि भन्ने लाग्न सक्छ तर गाउँघरमै बिरामी परिहाले पनि कहि कतै खवर बाहिर आइहाल्थ्यो। तर, अहिले  मौसमी रोगको खवर पनि बाहिर आएको छैन।

हरेक रोग सरसफाइ र खानपानसँग जोडिएर आउने भएकाले पनि पछिल्लो समय मानिसले सरसफाइ र खानपानमा ध्यान दिँदा रोगको जोखिम कम भएको हो।

‘पहिला हामी कसैले मास्क लाएर हिड्यो भने, हाँस्ने, गिज्याउने हुन्थ्यो भने अहिले अनिवार्य सबैले मास्कको प्रयोग गरेका छौँ’, वीरेन्द्रनगर-४ का गणेशमान खनालले भने, ‘मास्ककै प्रयोगले गर्दा धुलो, धुँवाबाट बचियो अनि हावाबाट सर्ने रोगबाट पनि बचियो।’

घरपरिवार छरछिमेकमा समेत सर्तकता अपनाएको उनले बताए। अहिले घरमै बस्दा पनि व्यक्तिगत सरसफाईसँगै घरवरपर पनि सरसफाइ हुने गरेको उनी बताउँछन्।

‘घरमै बस्दा पनि पटकपटक हात धुने, स्यानिटाइज गर्ने, र घरवरपर पनि सफा राख्ने क्रम बढेको छ’, उनले भने, ‘घर बाहिर जाँदा पनि निकै सजगता अपनाएर जाने गरिएको छ।’

मानिसलाई जहिले पनि, जतिबेला पनि रोग लाग्ने खतरा रहिरहने हुँदा व्यक्तिगत सरसफाइ र खानपान जस्ता कुरामा ध्यान दिन चिकित्कसले सुझाव दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell